सार्वजनिक सेवाहरूलाई बलियो बनाउन कृत्रिम बुद्धिमत्ताको प्रयोग

Technology Khabar ६ असार २०८१, बिहीबार

सार्वजनिक सेवाहरूलाई बलियो बनाउन कृत्रिम बुद्धिमत्ताको प्रयोग

काठमाडौं ।

– नारायण प्रसाद घिमिरे

सरकारी एजेन्सीहरूदेखि निजी क्षेत्रहरू र उद्योगहरूदेखि लिएर आविष्कारहरू सबैतिर, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कृत्रिम बुद्धिमत्ता आज विश्वव्यापी आवश्यकता भइसकेको छ।

विकसित देशहरूमा एआई अनुसन्धान र विकासमा ठूलो रकम खर्च भइरहेको छ भने विकासशीलहरूले पनि कसरी ब्यान्डवागनमा सामेल हुन सकिन्छ भनेर ध्यान दिइरहेका छन्।

सन् २०२२ को अन्तिम महिनाहरुमा एआई उकालो लागेपछि, र त्यसबेलादेखि टेक दिग्गजहरूको क्रमिक विस्तारसँगै, विश्वभरका सरकारहरू, अनुसन्धानकर्ताहरू र उद्योगहरू एआईबाट मोहित मात्र नभएर यो नियमनभन्दा बाहिर जाने हो की भनेर चिन्तित पनि भएका छन्।

त्यसैगरी, एआईका साथ सुशासनमा सुधार गर्नु पनि राज्यहरूको बीचमा बढ्दो चिन्ताको विषय बनेको छ।

प्रविधिको अवलम्बनलाई केन्द्रमा राखेर सार्वजनिक सेवामा सुधार गर्नु, दैनिक कार्यमा दक्षता कायम राख्ने, उत्पादकत्व वृद्धि गर्ने, निरीक्षण अभिवृद्धिका साथै कार्यान्वयन योग्य नीति तथा कार्ययोजनाहरू बनाउनु प्रत्येक सरकारको प्राथमिकता हो। तर, एआईलाई सावधानी र उचित नियमनका साथ प्रयोग गर्नुपर्नेछ।

यसै सम्बन्धमा, ओईसीडी (अर्गनाइजेशन फर इकोनोमिक को–अपरेसन एण्ड डेभलपमेन्ट) द्वारा हालै जारी गरिएको एउटा पेपरले केही देशहरुले सरकारी मामिलामा आधुनिक प्रविधि ‘एआई’को प्रयोग र सेवा प्रवाहलाई बढावा दिइरहेका छन् भनेर देखाएको छ।

‘कृत्रिम बुद्धिमत्ताको साथ शासनः सरकारहरू तयार छन्’ विषयक कागजातले सुशासनका विभिन्न आयामहरू उल्लेख गर्दछ जहाँ एआईको लाभ उठाउन सकिन्छ र थप सम्भावनाहरू अनलक गर्न किन यसमा भरोसा आवश्यक छ भनेर भन्दछ।

“ओईसीडी देशहरूले एआई प्रणालीलाई राम्रोसँग बुझ्न र सरकारको मेसिनरीलाई रूपान्तरण गर्न प्रदान गर्ने अवसरहरू प्रयोग गर्नका लागि बढ्दो रूपमा लगानी गरिरहेका छन्। एआईको जिम्मेवार प्रयोगले सरकारी प्रशासनको कामलाई धेरै तरिकामा सुधार गर्न सक्छ,” उल्लेख गर्ने कागजातले थप रुपमा एआईले उत्पादकत्व बढाउने जनाएको छ।

सार्वजनिक क्षेत्रहरूले एआई लागू गरेपछि, यसले सरकारी गतिविधिहरूमा उत्पादकत्व बढाउँछ तथा सान्दर्भिक र समावेशी सार्वजनिक नीतिहरू डिजाइन गर्न मद्दत गर्दछ। एआईले निरीक्षण एजेन्सीहरूलाई सक्षम बनाउँछ, क्षमता निर्माण गर्छ र सरकारी जवाफदेहितालाई सुदृढ बनाउने डकुमेन्टमा थप उल्लेख छ।

सार्वजनिक सेवाहरूको लागि विभिन्न देशहरूले कसरी एआई प्रयोग गरे भन्ने उदाहरणमा, यसले कोभिड–१९ महामारीको बेलामा, नर्वेको श्रम र कल्याण प्रशासनले एक संवादात्मक एआई प्रयोग गरेको, जसले नागरिकहरूलाई चौबीसै घण्टा सामाजिक फाइदाहरू प्राप्त गर्न सहज बनाएको थियो भन्ने सन्दर्भ प्रस्तुत गरेको छ। यसले सरकारी कर्मचारीहरूको संलग्नता बिना नै ८० प्रतिशत सोधपुछहरू क्रमबद्ध गर्न सक्षम भएको थियो।

“ट्रान्सपोर्ट क्यानाडाले इनबाउन्ड एयरक्राफ्टमा लोड गर्नुअघि सम्भावित उच्च जोखिमयुक्त कार्गोको मूल्याङ्कन गर्न र पहिचान गर्न जोखिम–मूल्याङ्कन एल्गोरिदमको प्रयोग गरेको छ,” कागजातमा उल्लेख छ। साथै GiusBERTo नामक कस्टम–एआई मोडेल कोर्ट अफ अडिटर्स, इटालीमा लागू गरिएको कागजातमा थप उल्लेख छ।

सुविधाले “कुनै पनि महत्त्वपूर्ण जानकारीको कम्प्रमाइज नगरी अदालतका निर्णयहरूलाई स्वचालित रूपमा डि–आईडेन्टिफाई (पहिचान) र एनोनमाइज (गुमनामी) गर्दछ भने यो प्रक्रिया पहिले म्यानुअल रूपमा गरिने गरिएको थियो।”

कागजातले एआईको प्रयोगको साथमा लुकेका नकारात्मक पक्षहरूबारे पनि सचेत गराएको छ, जसले एआईको नैतिक र जिम्मेवार विकासको आवश्यकतालाई रेखांकित गरेको छ। (अनुवादित) रासस

Sajilo Visa

प्रकाशित: ६ असार २०८१, बिहीबार