टेस्ला रोडस्टर इभी उडान गर्न सक्षम हुने इलन मस्कको दाबी

Technology Khabar ६ असार २०८१, बिहीबार

टेस्ला रोडस्टर इभी उडान गर्न सक्षम हुने इलन मस्कको दाबी

काठमाडौं ।

टेस्लाका प्रमुख कार्यकारी इलन मस्कले टेस्ला रोडस्टरमा उडान क्षमता हुने भन्दै एक्स (पहिले ट्विटर) मा पोष्ट गरेका छन्। यद्यपि इलन मस्कले आफ्नो दाबीलाई समर्थन गर्ने थप विवरणहरू साझा नगरे पनि यसले उद्योग पर्यवेक्षकहरूको ध्यान तानेको छ।

इलन मस्कको दाबी गर्ने रेकर्डलाई हेर्ने हो भने उनका यस्ता कयौँ दाबीहरु छन् जुन पछि गएर गलत साबित हुने गरेका छन्। यद्यपि आगामी टेस्ला रोडस्टर निकै फास्ट (तिब्र) हुने सम्भावना रहेको छ।

मस्कले यसअघि पनि रोडस्टर उडान गर्न सक्षम हुने दाबी गरिसकेका छन्। पहिलो पटक अनावरण भएपछि टेस्ला रोडस्टरको रिलीजको लागी निकै प्रतिक्षा गर्नु परेको छ। सात वर्षअघि टेस्लाको सेमी एण्ड रोडस्टर कार्यक्रममा कारको घोषणा भएको थियो।

रोडस्टर टेस्ला ब्रान्डको टप भेहिकल (शीर्ष सवारी साधन) हो जुन २०२० देखिको जारी हुन बाँकी सूचीमा रहेको छ। यो एलिस प्लेटफर्ममा आधारित २००८ रोडस्टरको उत्तराधिकारी हुने जनाइएको छ। त्यसैगरी रोडस्टरका साथ विद्युतीय सवारी बजारमा टेस्लाले प्रवेश गरेको संकेत गरेको भन्दै थप उल्लेख गरिएको छ।

रोडस्टरलाई १.९ सेकेन्डमा ० देखि ६२ माइल प्रति घण्टा (१०० किलोमिटर प्रति घण्टा) को गतिमा जान सक्ने एक्सेलेरेशन क्षमताको साथ स्पेसिफाइड गरिएको थियो। त्यतिबेला यो एक्सेलेरेशन प्रभावशाली थियो तर अब भने उक्त अवस्था नभएको उल्लेख छ। अहिलेको अवस्थामा, २ सेकेन्ड भित्र शुन्यदेखि ६२ माइल प्रति घण्टा भन्दा राम्रो गति प्रदर्शन गर्ने धेरै टेस्ला र लुसिडका इभीहरू रहेका छन्। यसबाहेक, रोडस्टर जस्तै श्रेणीमा रहेका सुपरकारहरूले १.७ सेकेन्डमा यस्तो पर्फमेन्स हासिल गर्न सक्छन्।

सन् २०२१ मा, इलन मस्कले टेस्ला रोडस्टरले १.१ सेकेन्डमा ०–६२ माइल प्रति घण्टाको गति हासिल गर्न सक्ने दाबी गरेका थिए। यसलाई स्पेसएक्स अप्सन प्याकेजले सहायता गरिने र कारको वरिपरि व्यवस्था गरिएका १० वटा साना रकेट थ्रस्टरहरू समावेश हुने दाबी छ। यो सुविधा २०१८ मा घोषणा गरिएको थियो र त्यतिबेला नै मस्कले पहिलो पटक रोडस्टर उडान गर्न सक्षम भएको दाबी गरेका थिए।

यदि योजना अनुसार कार्यहरू भएको खण्डमा भने, रोडस्टर यस वर्ष रिलीज हुने अपेक्षा गरिएको छ र २०२५ मा उत्पादनमा प्रवेश गर्ने जनाइएको छ। रोडस्टरको त्यस बेलाको प्रारम्भिक मूल्य २००,००० अमेरिकी डलर थियो।

Sajilo Visa

प्रकाशित: ६ असार २०८१, बिहीबार