फेसबुक ह्याक गरी पटक पटक ठगी गर्ने पक्राउ

Technology Khabar २० जेष्ठ २०८१, आईतवार

फेसबुक ह्याक गरी पटक पटक ठगी गर्ने पक्राउ

काठमाडौं ।

तनहुँको म्याग्दे गाउँपालिका–४ का वडाध्यक्ष दीपककुमार श्रेष्ठको फेसबुक ह्याक गरी पटक पटक ठगी गर्नेलाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपककुमार रायले सर्लाहीको बागमती नगरपालिका–१ का २६ वर्षीय सुमन बुढाथोकीलाई पक्राउ  गरिएको जानकारी दिए।

बुढाथोकीले लमजुङको मध्यनेपाल नगरपालिका–३, सूर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जरमार्फत केही रकमको आवश्यकता परेको भनी वडाध्यक्ष श्रेष्ठको फेसबुकबाट म्यासेज गरी ठगेको उजुरी परेको थियो।

इसेवा आइडीमार्फत वैशाख १९ गतेदेखि पटक पटक ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको उनले जानकारी दिए। इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको आवश्यक सहयोगमा बागमती नगरपालिका–१ बाट पक्राउ गरी अनलाइन ठगीसम्बन्धी कसुरमा बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको रायले जानकारी दिए।

यसैबिच तनहुँमा लागुऔषध मुद्दामा फरार रहेका तीन जनालाई पक्राउ परेका छन्। भानु नगरपालिका–१३ का १९ वर्षीय निर्मल गुरुङ, बन्दीपुर गाउँपालिका–१ को डुम्रे बस्ने ३९ वर्षीय शिवकुमार श्रेष्ठ र गुरुङटार बस्ने ३३ वर्षीय लालबहादुर सुस्लिङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपककुमार रायले जानकारी दिए।

गुरुङलाई चार महिना २३ दिन कैद, श्रेष्ठलाई एक महिना कैद र दुई हजार जरिबाना र सुस्लिङलाई एक महिना २० दिन कैद र दुई हजार जरिबाना तनहुँ जिल्ला अदालतले फैसला गरेको र तीनै जना फरार रहेकोले पक्राउ गरिएको रायले जानकारी दिए। गोरखापत्रबाट

Sajilo Visa

प्रकाशित: २० जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार