मोबाइल व्यवसायीहरुको आक्रोश- ‘गैरकानूनी आयात र बिक्री नरोकिँदा, अवैध कारोबार गर्ने माफियाले प्रश्रय पाए’

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

मोबाइल व्यवसायीहरुको आक्रोश- ‘गैरकानूनी आयात र बिक्री नरोकिँदा, अवैध कारोबार गर्ने माफियाले प्रश्रय पाए’

काठमाडौं ।

मोबाइल व्यवसायसँग सम्बन्धित आयातकर्ता तथा व्यवसायीहरुले मोबाइल फोनको गैरकानूनी आयात एवं विक्री वितरण रोक्न माग गरेका छन्।

उनीहरुले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भुपेन्द्र भण्डारीलाई आज भेटेर दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) गतवर्षबाटै सञ्चालनमा ल्याएपनि पूर्णरुपमा कार्यान्वयनमा ल्याउन र गैरकानूनी आयात एवं विक्री वितरणमा रोक लगाउन आग्रह गरेका हुन्।

मोबाइल फोन इम्पोर्ट्स संघ नेपाल, नेपाल मोबाइल बितरक संघ, नेपाल मोबाईल व्यवसायी महासंघ सहितको टोलीले अध्यक्ष भण्डारीलाई एमडिएमएस यथासिघ्र लागूगर्न नसके अबैध मोबाइल फोनको बिक्रीवितरण वृद्धि भई बैध फोनको बिक्रीवितरण धरासायी हुने चिन्ता जाहेर गरेका छन्।

“प्राधिकरणका तत्कालिन अध्यक्षसहित अधिकांश कर्मचारीलाई भ्रष्टाचारको अभियोग लागेपछि हालसम्म एमडिएमएस थप कार्यान्वयनमा आउन नसकेको हो। जसकाकारण हाल अबैध मोबाइल फोनको कारोबार तिव्ररुपमा बढिरहेको छ,” अध्यक्ष भण्डारीलाई बुझाएको ज्ञापन पत्रमा भनेका छन्।

एमडिएमएस लागू नहुँदा अबैध फोनको प्रयोगले नेपालको शान्तिसुरक्षामा समेत कठिनाइ आउन सक्ने र आइएमइआइ नम्बर दर्ता नहुँदा अपराधिक गतिविधि नियन्त्रणमा समेत कठिनाइ भएको मोबाइल व्यवसायीहरुले बताएका छन्।

उनीहरुले भनेका छन, “यसरी भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै जाँदा बैधानिकरुपमा कर तिरेर कारोबार गर्ने ब्यवसायीको बिक्रीवितरणमा समेत व्यापक गिरावट आएको छ। त्यसैपनि सबैभन्दा कम मार्जिन हुने व्यापार घट्न गएपछि मोबाईल ब्यवसायीहरु पलायन हुन थालेको अवस्था छ।”

मोबाईल ब्यावसायीले नेपाल दूरसञ्चार प्राधिकरण तथा सम्बन्धित निकायहरूसँग धेरै पटकको छलफल तथा गृहकार्य पछि मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम एमडिएमएस लागू गर्ने सहमति भएको उल्लेख गर्दै करिब एक अर्बको लगानीमा पाँच बर्षको निरन्तर प्रयास पछि लागूभएको भनिएको एमडिएमएस कार्यान्वयन हुन नसक्नु दुःखद भएको जानकारी गराए।

“गतवर्ष पुस पन्ध्र गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय गरेको सरकारले यसरी अर्बौ लगानी र बर्षौंको प्रयासबाट सुचारु भइसकेको प्रविधि पुनःस्थगन हुनुले मोबाईल ब्यवसायीलाई विस्थापित गराउने, राज्यको अर्बौं राजस्व गुम्ने र अवैध कारोबारमा संलग्न माफियाहरुले प्रश्रय पाउने देखिन्छ।”

“यदि प्राधिकरणले एमडिएमएस लागूगर्न सके अवैधरुपमा भन्सार छलेर ल्याएका फोनको खुलेआम व्यापार गर्ने मोबाईल माफियाहरु निरुत्साहित हुनेछन भने हजारौ नेपालीलाई रोजगारी प्रदान गर्दै राज्यलाई कर तिरेर वैधानिक कारोबार गर्ने मोबाईल ब्यवसायीहरु मार्कामा पर्ने थिएनन्।”

मोबाइल व्यवसायीहरुले विदेशमा रहेका नेपाली नागरिकलाई भन्सार छुट तथा निशुल्क एमडीएमएस सिस्टममा दर्ता गर्न पाउने ब्यवस्था मिलाई यथासिघ्र मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्नसमेत आग्रह गरेका छन्।

उक्त भेटको क्रममा अध्यक्ष भण्डारीले आफू सकारात्मक भएपनि हालको अवस्थामा एमडीएमएसमा आफूले केहि गर्न नसक्ने बताएका थिए।

“अहिले अदालतमा मुद्दा छ, अख्तियारले अनुसन्धान गरिरहेको छ, मैले केहि गर्न सक्दिन। तपाईँहरुले माथि पहल गर्नुस्,” उनको भनाई उल्लेख गर्दै एक व्यवसायीले टेक्नोलोजीखबरसँग भने।

उनीहरुले अवैध आयात र बिक्रीलाई रोक्नका लागि सबै मोबाइल व्यवसायीहरुले अभियानको रुपमानै लाने तयारी भएको बताए।

व्यवसायीहरुले यसपछि अर्थ मन्त्रालय, कानून मन्त्रालय तथा प्रधानन्त्रीको कार्यालयमा पनि डेलिगेसन जाने तयारी गरेको जानकारी दिएका छन्।

easy care

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार