हेटौँडामा नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु

Technology Khabar १७ जेष्ठ २०८१, बिहीबार

हेटौँडामा नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु

काठमाडौं ।

महिला र युवालाई लक्षित गरी हेटौँडामा बुधबारबाट नवप्रवर्तन उद्यमी विकास सम्मेलन सुरु भएको छ।

बागमती प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, हेटौँडा, उद्योग सङ्घ मकवानपुर, महिला उद्यमी फोरम र एआइएम स्टार्टअफ बिजनेस इन्क्यिुवेसन सेन्टरको संयुक्त आयोजनामा भएको सम्मेलनमा डिजिटल मार्केटिङ, नवउद्यम प्रवर्तनका लागि सरकारी नीति तथा पहल र उद्यमका लागि एआईका बारेमा छलफल हुनेछ।

यस्तै स्टार्टअप र उद्यममा महिला सहभागिता तथा स्टार्टअपका चुनौतीका बारेमा सम्मेलनमा छलफल हुने आयोजकले जनाएको छ।

सम्मेलनको उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले नवउद्यम प्रवर्तनका लागि उद्यमी र नीति निर्माताबिच समन्वय गर्नु आवश्यक भएको बताईन। उनले प्रविधिले चुनौती थपिएको र प्रविधिको प्रयोग आवश्यक भएको भन्दै युवामा देखिएको निराशालाई रोक्न विश्वासको वातावरण निर्माण आवश्यक भएकोमा जोड दिईन। उनले उपमहानगरले साना साना महिला र युवा उद्यमीलाई प्रोत्साहित गर्ने नीति लिएको बताइन्।

बागमती प्रदेशको उद्योग वाणिज्य भूमि प्रशासन मन्त्रालयका सचिव राजेन्द्रकुमार केसीले युवालाई नवप्रवर्तनमा लगाउनु आवश्यक भएको भन्दै सरकार नवप्रवर्तनका लागि प्रतिबद्ध रहेको बताए।

उद्योग सङ्घ मकवानपुरका निवर्तमान अध्यक्ष स्वागतराज प्याकुरेलले नवउद्यमी र महिला उद्यमीको व्यवसाय प्रवर्धन गर्न र उद्यमशीलतामा लाग्न चाहने युवा र महिला उद्यमीलाई लक्षित गरेर सम्मेलन आयोजना गरिएको बताए। उनले स्वरोजगार हुन आत्मनिर्भर बन्न चाहने महिलाको क्षमता विकास र प्रवर्धन आवश्यक भएको बताउँदै एआईको प्रयोगबाट बजारीकरण गर्नुपर्ने बताए।

उद्योग सङ्घ मकवानपुरका अध्यक्ष बद्रीनाथ शर्माको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरमा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईँ , मकवानपुर बहुमखी क्याम्पसका क्याम्पस प्रमुख यम सिलवाललगायतले नवउद्यम प्रवर्तन अहिलेको आवश्यकता भएको बताए। गोरखापत्रबाट

easy care

प्रकाशित: १७ जेष्ठ २०८१, बिहीबार