नाडाले भन्यो- विद्युतिय सवारी साधनका सम्बन्धमा सरकारको ढुलमुले नीति

Technology Khabar १६ जेष्ठ २०८१, बुधबार

नाडाले भन्यो- विद्युतिय सवारी साधनका सम्बन्धमा सरकारको ढुलमुले नीति

काठमाडौं ।

नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले सरकारले ल्याएको बजेटमा  विद्युतिय सवारी साधनहरुका सम्बन्धमा अस्थिर नीति लिएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

नाडाले आर्थिक बर्ष २०८१/८२ को बजेटका सम्बन्धमा आफ्नो धारणा सार्वजनिक गर्दै विद्युतिय सवारी साधनहरुका हकमा सरकारको भनाइ र गराइमा रहेको ठूलो अन्तराल भएको भन्दै असन्तुष्टि व्यक्त गरेको छ।

नाडाले धेरै समय अघि देखि विद्युतिय सवारी साधनहरुका सम्बन्धमा एउटा निश्चित र दिर्घकालिन नीति निर्माणका लागि सरकारसंग आग्रह गर्दै आएको भन्दै सरकारले पनि हरित उर्जालाई उच्च प्राथमिकतामा राख्ने नीतिगत निर्णहरु गर्दै आएको स्मरण गराएको छ।

“तर सरकारले विद्युतिय सवारी साधनहरुका सम्बन्धमा पटक पटक संशोधन गरेको छ। यसले सरकारको भनाइ र गराइमा रहेको ठूलो अन्तराललाई देखाउँछ। यसले सरकारको विद्युतिय सवारी साधनलाई सम्बद्र्धन र प्रवद्र्धन गर्ने आसयमा समेत स्पष्टता नभएको देखाउँछ।” जारी विज्ञप्तीमा भनिएको छ।

यसका साथै सरकारले दिएको त्यो सुविधालाई कहिले घटाउने र कहिले बढाउने गर्नाले विद्युतिय सवारी साधनहरुको व्यवसाय गर्ने व्यवसायीहरुको व्यवसाय गम्भिर रुपले प्रभावित भएको र नेपालमै विद्युतिय सवारी साधनहरु उत्पादन गर्न चाहने उद्यमीहरु समेत हतोत्साहित हुँदै गएको बताएको छ।

अहिलेको बजेटले विद्युतिय सवारी साधनहरुमा ५ प्रतिशत सडक निर्माण दस्तुर समेत लाग्ने व्यवस्था गरेको बारेमा उल्लेख गर्दै नाडाले सरकारलाई विद्युतिय सवारी साधनहरुका लागि पर्याप्त चार्जिङ्ग स्टेशनहरुको निर्माणका लागि समेत अनुरोध गर्दै आएको बताएको छ।

त्यस्तै बर्तमान बजेटले एल.सि मार्फत सामान आयात गर्न पनि हतोत्साहित गर्न खोजेको जस्तो देखिएको नाडाको ठहर छ।

यसैगरी सरकारले यसरी खस्कँदै गएको डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको विक्री बढाउन महशुल दरमा छुट दिने खालका राहत प्याकेजहरु ल्याएर व्यवसायीहरुलाई थप हौसला र प्रोत्साहन दिनु पर्नेमा यो व्यवसायलाई नै थला पार्ने अवस्था सिर्जना गरेको भन्दै चिन्ता जाहेर गरेको छ।

“यद्यपी बर्तमान बजेटले पेट्रोल र डिजेलबाट चल्ने सवारी साधनहरुमा मूल्य अभिबृद्धि कर नलाग्ने व्यवस्थालाई हामीले हार्दिक स्वागत गर्दछौं। यसले डिजेल र पेट्रोलबाट चल्ने सवारी साधनहरुको विक्रीमा केही सुधार आउने अपेक्षा समेत हामीले राखेका छौं,” विज्ञप्तीमा उल्लेख छ।

easy care

प्रकाशित: १६ जेष्ठ २०८१, बुधबार

ताजा समाचार