Technology Khabar १५ जेष्ठ २०८१, मंगलवार
काठमाडौं ।
नेपाल प्रहरीलाई स्रोत साधनयुक्त बनाई जनशक्ति परिचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले सुनसरी जिल्लाका एक समाजसेवीले चार थान इलेक्ट्रिक टेम्पो नेपाल प्रहरीलाई उपलब्ध गराएका छन्।
इटहरीमा रहेको अटो सिटी बजाज सोरुमका सञ्चालक प्रदीप सन्थलियाले एक कार्यक्रमबीच नेपाल प्रहरीलाई चार थान इलेक्ट्रिक टेम्पोको चाबी हस्तान्तरण गरेका हुन्। नेपाल प्रहरी र ट्राफिक प्रहरीलाई गस्ती गर्न सहज र अरूबेला पनि प्रहरीलाई गस्ती गर्न सजिलो होस् भनेर हस्तान्तरण गरिएको हो।
कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले कोशी प्रदेश प्रहरी कार्यालयलाई प्राप्त भएको उक्त विद्युतीय टेम्पो ट्राफिक व्यवस्थापनका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेललाई एक थान, समाजमा शान्तिसुरक्षा तथा अपराध नियन्त्रणका लागि
परिचालन गर्न जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नवराज कार्की, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मी र नेपाल प्रहरी विशेष सुरक्षा गण दुहबीका प्रमुख प्रहरी उपरीक्षक नारायणप्रसाद चिमरियालाई एक/एक थान हस्तान्तरण गरे।
ती विद्युतीय टेम्पो प्रहरीले शान्तिसुरक्षा तथा अपराध नियन्त्रण र ट्राफिक व्यवस्थापनका साथै समाजमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नियमित रूपमा प्रयोग गर्ने खापुङले बताए।
कार्यक्रममा समाजसेवी सन्थालियाले समाजमा शान्तिसुरक्षा प्रदान गर्न अहोरात्र खटिँदा सुरक्षाकर्मीलाई सहजता मिलोस् भनेर उक्त विद्युतीय टेम्पो आफूले प्रदान गरेको बताए। इलेक्ट्रिक सफारीले शान्तिसुरक्षा राम्रो हुन्छ भन्ने अपेक्षा गर्दै विगतमा पनि नेपाल प्रहरीलाई दुई ओटा इलेक्ट्रिक सफारी र एक थान मोटरसाइकल हस्तान्तरण गरिएको अटो सिटी इटहरी बजार सोरुमका सञ्चालक सन्थलियाले बताए।
अटो सिटी इटहरीले विगतमा पनि सहयोग सहकार्य आएको र यसले नागरिकमैत्री प्रहरी सेवा प्रवाह गर्न इलेक्ट्रिक टेम्पोले सहयोग पुग्ने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले जानकारी दिए।
प्रकाशित: १५ जेष्ठ २०८१, मंगलवार