Technology Khabar ११ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
उद्योग संगठन मोरङले औद्योगिक क्षेत्रममा कार्यरत प्राविधिकहरुको सीप स्तरोन्नती तालिम सम्पन्न गरेको छ। उद्योगमा कार्यरत प्राविधिकहरुलाई किफायती उर्जा खपतमा सीप तथा दक्षता अभिवृद्धि गर्ने उद्देश्यले संचालित ईनर्जी ईफिसियन्सी तालिममा २२ जना प्रशिक्षार्थीको सहभागिता थियो।
ईन्स्योर परियोजनासँगको सहकार्यमा संचलित संगठनको सीप विकास कार्यक्रम अन्तर्गत संचालित तालिम एम एम प्लाष्टिक उद्योगमा कार्यरत प्राविधिकहरु सहभागिता रहेको थियो।
२० दिने तालिमको समापन तथा पुरस्कार वितरण कार्यक्रम आज जेठ ११ गते सम्पन्न भएको छ। उक्त कार्यक्रममा संगठनका अध्यक्ष राकेश सुरानाले प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै उद्योग प्रतिष्ठानमा कार्यरत जनशक्तिको ज्ञान र सीप अभिवृद्धि भए उद्योगको उत्पादकत्व वृद्धिमा सहयोग पुग्ने वताए। उनले उद्योग प्रतिष्ठानले भोग्दै आएको दक्ष प्राविधिकको अभावलाई मध्यनजर गरी उद्योगहरुको आवश्यकताका आधारमा संगठनले पाठयक्रम तयार गरी तालिम संचालन गर्दै आएको बताए।
तालिमका प्रशिक्षक संजय कुमार साहले तालिम अवधिमा प्राविधिकहरुलाई उर्जा खपत न्यूनिकरणका उपायहरु, खेर गईरहेको उर्जा नियन्त्रण तथा मेशिनको प्रयोग र संचालन विधि, प्राप्त उर्जाको समूचित उपयोग एवं व्यवस्थापन, उर्जा दक्षता पद्धति र महत्वका विषयहरु तालिममा समेटिएको बताए।
साथै संगठनको सीप विकास कार्यक्रम अन्तर्गत अरिहन्त मल्टिफाईवर्स लिमिटेडमा जुट व्याचिङ सम्वन्धी तालिम तथा परिवर्तित सन्दर्भमा प्राविधिकहरुलाई ईष्डष्ट्रि अटोमेशन भेरिएबल फ्रिक्वेन्सी ड्राईभ (भि.एफ.डी) सम्वन्धी तालिम संगठन हाताभित्र एकै साथ संचालनमा रहेको संगठनले जनाएको छ।
संगठनले यसअघि विभिन्न उद्योग प्रतिष्ठानका प्राविधिकहरुलाई एकै थलोमा जम्मा गरी तालिम दिँदै आएकोमा सिकाईलाई थप प्रभावकारी वनाउनका लागि पछिल्लो समय सम्बन्धित उद्योगको कार्यस्थल मै राखेर तालिम संचालन गर्ने नयाँ अभ्यास अन्तर्गत यो तालिम संचालन गरिएको हो।
संगठनले सम्वन्धित उद्योगको मागको आधारमा सम्वन्धीत उद्योगका कार्यरत प्राविधिकहरुको दक्षताको मागका आधारमा पाठयक्रम समेत तयार गरी यस प्रकारको तालिम संचालन गर्ने रणनीति अख्तियार गरेको छ। यस आर्थिक वर्षमा ३ सय मध्ये १ सयजनाको तालिम सम्पन्न भईसकेको संगठनले जनाएको छ।
प्रकाशित: ११ जेष्ठ २०८१, शुक्रबार