Technology Khabar ९ जेष्ठ २०८१, बुधबार
काठमाडौं ।
चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनाको तथ्यांकअनुसार बैशाख मसान्तसम्म देशभित्र कुल ३५२ बेस स्टेशनहरु आयात भएका छन्।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार, बैशाखसम्म कुल ४ करोड ५४ लाख ५९ हजार मूल्य बराबरको ३५२ बेस स्टेशनहरु आयात भएको हो।
हाल आयात भएको संख्या र मूल्य अघिल्लो वर्षको सोही अवधिको तुलनामा उच्च मात्राले न्यून हो। गत आर्थिक वर्ष २०७९/८० को बैशाखसम्मको तथ्यांकअनुसार देशभित्र १,२२५ यूनिट बेस स्टेशनहरु आयात भएका थिए।
अघिल्लो आवको सोही अवधिको तुलनामा हेर्ने हो भने चालु आवको सोही अवधिमा बेस स्टेशन आयात संख्यामा करिब ७१ प्रतिशतले कमी आएको देखिन्छ।
अघिल्लो आवमा कुल ९ करोड २२ लाख ४७ हजार रुपैयाँ बराबर मूल्यको आयात भएको थियो जसको आधारमा हेर्दा करिब ४ करोड ६७ लाख रुपैयाँले कमी आएको छ। सोही तुलनामा राजस्व समेत घटेको छ।
नेपालमा आयात हुने बेस स्टेशनहरुमध्ये सबैभन्दा धेरै चीनबाट आएको देखिन्छ। चीनबाट कुल १६४ पिस बेस स्टेशनहरु आएका छन् जसको मूल्य करिब २ करोड ५२ लाख ३० हजार रुपैयाँ रहेको छ।
त्यसपछि भारतबाट आयात भएको बेस स्टेशनहरुको संख्या १५३ रहेको छ र यसको मूल्य १ करोड १६ लाख २२ हजार रुपैयाँ बराबर छ।
यसबीचमा बेस स्टेशनहरु फ्रान्स र अमेरिका बाट १/१ युनिट भित्रिएको छ भने अस्ट्रेलिया, जर्मनी, हंगेरी र मलेशियाबाट पनि बेस स्टेशनहरु आयात भएको देखिन्छ।
उक्त संख्यामा भएको आयातबाट सरकारले ७२ लाख ३२ हजार रुपैयाँ राजस्व आम्दानी गरेको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार