लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम हुने

Technology Khabar ९ जेष्ठ २०८१, बुधबार

लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम हुने

काठमाडौं ।

लुम्बिनी प्रदेशको ११ पालिकामा नवप्रवर्तन कार्यक्रम सञ्चालन हुने भएको छ। कार्यक्रम सञ्चालनका लागि पाल्पाको दुई पालिकासहित ११ ओटा पालिका छनोट भएका हुन्।

नयाँ उद्यमी र उत्पादन वृद्धि तथा रोजगारी सिर्जना गर्न कार्यक्रम ल्याएको प्रदेश सरकारले बताएको छ। चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालनका लागि स्थानीय तहसँग प्रस्ताव आह्वान गरिएअनुसार कार्यक्रम संचालन हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

छनोट भएका पालिकामा कार्यक्रम सञ्चालनका लागि १८ करोड ६० लाख रकम प्रस्ताव गरिएको छ । जसमध्ये १० करोड ८८ लाख प्रदेश सरकारबाट र सात करोड ७१ लाख पालिकाले बेहोर्नुपर्नेछ। लागत सहभागिताको आधारमा कार्यक्रम सञ्चालन गरिने प्रदेश सरकारले जनाएको छ।

छनोट गरिएका पालिकामा कृषि, फलफूल, तरकारी क्षेत्रमा पाँचओटा, उत्पादन रोजगारसम्बन्धी तीनवटा, पर्यटनसम्बन्धी दुई र सेवा प्रभाव क्षेत्रको एक क्षेत्र रहेका छन् । निर्णय भएसँगै अब कार्यान्वयनको प्रक्रियामा अगाडि बढ्ने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सञ्चालनका लागि ६० वटा स्थानीय तहले प्रस्ताव पेस गरेका थिए ।

easy care

प्रकाशित: ९ जेष्ठ २०८१, बुधबार