नेपाल टेलिकमको नयाँ बिलिङ्ग सिस्टमको टेन्डरमा आवेदननै नपरेपछि समयावधि थपियो

Technology Khabar ६ जेष्ठ २०८१, आईतवार

नेपाल टेलिकमको नयाँ बिलिङ्ग सिस्टमको टेन्डरमा आवेदननै नपरेपछि समयावधि थपियो

काठमाडौं ।

नेपाल टेलिकमले निकालेको नयाँ बिलिङ्ग सिस्टमको ठेक्काका लागि आवेदन नपरेपछि कम्पनीले यसको अवधि थपेको छ।

कम्पनीले आइतबार एक सूचनामार्फत बिलिङ्ग ठेक्कामा प्रतिस्पर्धा गर्ने अवधि जेठ २९ गतेसम्मका लागि थप गरेको हो।

कम्पनीले करिब ४ वर्षअगाडिको डलर मूल्यमा नयाँ बिलिङको ठेक्का निकालेपछि उक्त ठेक्कामा कुनैपनि आवेदन नपरेको स्रोतको दाबी छ। स्रोतकाअनुसार त्यसबेला करिब ११७ रुपैयाँ दरमा अमेरिकी डलरको मूल्य रहेको थियो र हालपनि सोहीअनुसार टेन्डर खुलाईएको हो।

उक्त टेन्डरमा तत्कालिन ट्राफिकअनुसार खोलिएको भएपनि हाल उक्त ट्राफिक दरनै परिवर्तन भईसकेको बताईएको छ। यसका साथै सो टेन्डर डकुमेन्ट समेत ४ वर्ष पुरानो रहेको उल्लेख छ।

यसअघि कम्पनीले चैत १८ गते नयाँ बिलिङ्गका लागि ठेक्का खुलाएको थियो।

हाल नेपाल टेलिकमले पुरानै बिलिङ्ग सिस्टम संचालन गर्दै आएको छ। जसले गर्दा बेलाबेलामा समस्या हुने गरेको छ।

यसअघि उक्त पुरानो बिलिङ्ग सिस्टम चलाउँदै आएको र वार्षिक मर्मत सम्झौता (एएमसी) पाएको कम्पनी एशिया इन्फो (एआई) र त्यसको स्थानीय पार्टनर कम्पनी कास ट्रेडिङ्गको बदमासीका कारण २०७९ माघ ३ गते सिस्टमनै डाउन भएको एक प्रतिवेदनमा खुलासा भएको थियो।

त्यसबेला नेपाल टेलिकमको सीआरटीबी (कन्भरजेन्ट रियल टाइम बिलिङ्ग) प्रणालीका आपूर्तिकर्ता तथा मर्मतसंभार गर्ने जिम्मा पाएको संस्था एशिया इन्फोको स्थानीय सब भेण्डर कास ट्रेडिङ्गका प्राविधिकको विलिङ्ग प्रणालीसँग सम्बन्धित त्रिपुरेश्वर स्थित डिआर साइटमा रहेको फल्टी स्टोरेज कन्ट्रोलर (नोड १)लाई उक्त प्रणालीबाट डिट्याच गरी बाहिर निकाल्दा बिलिङ्ग सिस्टम पूर्ण रूपमा आउटेज हुन गई नेपाल टेलिकमका सेवाहरू अवरूद्ध हुन पुगेको थियो। यसरी कास ट्रेडिङ्गका प्राविधिकले त्रिपुरश्वर स्थित डिआर साइटबाट फल्टी स्टोरेज कन्ट्रोलर (नोड १)लाई निकाली सुन्धारास्थित डिसी साइटमा पुगे पश्चात निजहरूले नेपाल टेलिकमका दूरसञ्चार सेवाहरू अवरुद्ध भएको जानकारी पाएका थिए।

यसपछि पनि पुरानो बिलिङ्गमा २०७९ फागुन ४ गते समस्या देखिएको थियो।

पुरानो बिलिङ्ग सिस्टममा पनि घोटाला भएको र पहिलेकै कम्पनीलाई हचुवाको भरमा समय थपेर ठेक्का दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसमा छानबिन गरिरहेको छ। टेलिकमको बिलिङमा एसिया इन्फोलाई फोर प्लस वान अर्थात करिब ५ वर्षकै लागि निरन्तरता दिने निर्णयमा भ्रष्टाचारको आशंकापछि आयोगले छानबिन गरिरहेको हो।

अहिलेको नयाँ बिलिङ्गमा भने एसिया इन्फो योग्य नहुने बताईएको छ। “नयाँ बिलिङ्गमा पुरानो भेन्डर इलिजिबल नहुने रहेको छ,” स्रोतले भन्यो।

उता नयाँ ठेक्कापनि सिमित कम्पनीहरुलाई मिलेमतोमा दिन खोलिएको भन्दै त्यसका विरुद्ध पनि अख्तियारमा उजुरी परेको टेलिकम स्रोतको भनाई छ। नयाँ बिलिङ्गमा पनि मिलेमतो भएको भन्दै टेलिकमका वर्तमान उच्च अधिकारीहरु विरुद्ध नै उजुरी परेको बताईएको छ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: ६ जेष्ठ २०८१, आईतवार

ताजा समाचार