Technology Khabar ४ जेष्ठ २०८१, शुक्रबार
काठमाडौं ।
– निर्दोष घोरसाइने
सरकारले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को अवधारणा पत्रको प्रारम्भिक खाका तयार गरेको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सह प्रवक्ता विशाल सापकोटाले एआई अवधारणा पत्रको प्रारम्भिक खाका तयार भएको टेक्नोलोजीखबरलाई जानकारी दिए।
मन्त्रालयका सूचना प्रविधि महाशाखा प्रमुख तथा सहसचिव अनिल दत्तको संयोजनमा गठित समितिले एआई अवधारणा पत्र जारी गर्न आवश्यक विषयवस्तु समावेश गरेर प्रारम्भिक खाका तयार पारिएको हो।
एआई नेपालका साथै विश्वका लागि पनि नवीनतम अवधारणा भएकाले यसको उपयोगिता र प्रयोगका सम्बन्धमा जानकार रहन मन्त्रालयले अवधारणा पत्रमा काम गरिरहेको सहप्रवक्ता सापकोटा बताउँछन्।
प्रारम्भिक अवधारणा पत्रमा मन्त्रालयले एआईलाई कसरी आत्मसाथ गर्ने, अन्य मुलुक र हामीबीच एआई अपनाउने सन्दर्भमा कस्तो ग्याप छ भन्ने विषय उल्लेख छ।
सेवा प्रवाह, सुशासनमा एआईलाई कसरी एकीकरण गर्ने भन्ने विषय अवधारणा पत्रमा समेटिएका छन्। साथै एआईको सम्बन्धमा नेपालको विद्यमान अवस्थाको मूल्यांकन गर्ने, अन्तर्राष्ट्रिय अवस्थाको अध्ययन तथा विश्लेषण गर्ने, रणनीति निर्माण गरिनेछ। यस्तै अवधारणा पत्रमा विद्यमान समस्या, चुनौती अवसरहरुको विश्लेषण पनि गरिएको छ।
सरकारले आगामी दिनमा एआईका सम्बन्धमा के कस्तो कार्यदिशा लिने लगायतका विषयहरु प्रतिवेदनमा समावेश गरिएको उनले जानकारी दिए।
एआईको अवधारणा पत्रको प्रारम्भिक खाका तयार भएसँगै सञ्चार मन्त्रालयले सरोकारवाला निकायहरु अन्तक्रिया पनि अघि बढाइरहेको सहसचिव दत्तले टेक्नोलोजीखबरलाई जानकारी दिए।
‘नेपालका केही संस्थाहरुले एआई सम्बन्धी काम गरिरहेका छन्। उहाँहरुसँग हामी छलफलमा छौं। केही दिन अघि एआईमा काम गर्ने तीन संस्थासँग सम्वाद पनि गरेका छौं। यसका लागि उहाँहरुको राय सुझाव पनि महत्वपूर्ण हुन्छ,’ दत्तले भने, ‘अहिले हामीले देखेको एआई एकदमै प्रारम्भिक चरणको हो। साथै हामी पनि एआईमा बुझ्ने क्रममा छौं।’
सरोकारवाला निकायको राय सुझाव, अन्तर्राष्ट्रिय स्तरमा भएका विकास र सरकारको आवश्यकता र प्राथमिकतालाई ध्यानमा राखेर एआई सम्बन्धी सरकारको अवधारणा जारी हुने उनले बताए।
देशको अर्थतन्त्र र समग्र क्षेत्रमा एआईको प्रयोग हुने सम्भावना रहनुका साथै केही निकायहरुले एआईको प्रयोग गर्न सुरु गरिसकेकाले एआईको सम्बन्धमा मन्त्रालयले अवधारणाको खाँचो महसुस गरेको बुझ्न सकिन्छ।
एआईको उदय
सूचना प्रविधिका क्षेत्रमा भएका विभिन्न उपलब्धि पार गरेर एआईको उदय भइरहेको छ। पछिल्लो विकास क्रमका रुपमा सन् २०२० मा ओपनएआईले च्याट जीपीटी जारी गरेसँगै यसको चर्चा चुलिएको हो।
२०२२ मा नोभेम्बर ३० मा ओपनएआईले च्याटजीपीटी आमउपभोक्तालाई खुल्ला गरेसँगै एआईको उपयोगिता र प्रयोगले व्यापक चर्चा परिचर्चा भएको थियो। च्याटजीपी संवादात्मक एआई मोडेलको रुपमा आएको थियो। प्रयोगकर्ताको जिज्ञासाको आधारमा यसले जेनेरेटिभ प्रि–ट्रेन्ड ट्रान्सफर्मर (जीपीटी) आर्किटेक्टरमा उत्तर दिन्छ। यसमा अर्को व्यक्तिसँग जस्तै अन्तक्रिया मार्फत जिज्ञासाको समाधान दिने प्रयास गर्छ।
यसलाई इन्टरनेटमा उपलब्ध टेक्स्टका आधारमा विविध रेञ्जमा प्रशिक्षित गरिएको छ। उपलब्ध डाटालाई विभिन्न कोडबाट विश्लेषण गरेर यो प्रयोगकर्तासँग अन्तरक्रिया गर्न सक्षम छ।
पछिल्लो समय सूचना प्रविधिका दिग्जगहरु गुगल, मेटा, बाइदुले आफ्नै एआई मोडेलहरु उत्पादन गरेका छन्। साथै अन्य कम्पनीहरुले पनि आफ्नो उत्पादनमा एआईलाई प्राथमिकता दिएका छन्। पछिल्लो समय स्मार्टफोनहरु पनि एआई प्रविधिमा आधारित हुँदै आएकाछन्।
एआई प्रतिको बढ्दो आकर्षणले यस सम्बन्धी चिन्ता पनि पैदा गरिरहेको छ। टेस्लाका सीईओ इलन मस्क लागयत प्रविधिसँग सम्बन्धित व्यक्तिहरुले एआईलाई नियमन गर्नु पर्ने माग पनि उठाउँदै आइरहेका छन्।
एआईलाई नियम तथा व्यवस्थापन गर्न युरोपियन युनियनले सन् २०२३ को जुनमा पहिलो एआई सम्बन्धी कानुन ‘ईयु एआई एक्ट’ जारी गरेको छ। अमेरिका पनि एआई कानुन ल्याउने क्रममा छ। यस्तै चीन लगायत अन्य मुलुकहरुले पनि एआई कानुन सम्बन्धित मस्यौदा तयार गरिरहेका छन्।
प्रकाशित: ४ जेष्ठ २०८१, शुक्रबार