Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध दायर भएको भ्रष्टाचारको मुद्दामा विशेष अदालतले थुनामै राख्न आदेश दिएको छ।
विशेष अदालतका न्यायाधिशत्रय टेक नारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र रितेन्द्र थापाको संयुक्त इजलासले पौडेललाई मुद्दाको फैसला नभएसम्म थुनामा पठाएको हो।
सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेलसहित ६ जना र आपूर्तिकर्ता कम्पनी विरुद्ध मुद्दा दायर भएकोमा बुधबार सुनुवाई गर्दै उनको हकमा थुनामा राख्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।
“हिजो उनको मात्र सुनुवाई भएको हुँदा उनलाई मुद्दाको फैसला नहुन्जेलसम्मका लागि थुनामै राख्न आदेश दिएको हो,” प्रवक्ता कार्कीले भने।
अन्य आरोपीहरुको हकमा भने पछि म्याद बुझेअनुसार हुने उनले जानकारी दिए।
अख्तियारले उनीहरू माथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।
अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको हो।
यसैगरी अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे तथा सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा चलाएको हो।
उनीहरु माथि सार्वजनिक खरिद नियमको प्रक्रिया पुरा नगरी केन्द्रका लागि उपकरण खरिद गरेको आरोप छ।
उनीहरुले सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी खरिद प्रकृया गरेर नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख छ।
सम्बन्धित समाचार-
सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जना विरुद्ध मुद्दा दायर
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार