Technology Khabar ३ जेष्ठ २०८१, बिहीबार
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण (एनईए) ले तोकिएका ७ स्थानका विद्युतीय पोलहरूमा रहेका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरालगायतका संरचना एवं उपकरणहरू ६ महिनाभित्र अनिवार्य रूपमा हटाउन भनेको छ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयले उक्त क्षेत्रमा आफ्नो भूमिगत विद्युत वितरण प्रणाली तयार भएको भन्दै ६ महिनाको अवधिपछि पोलहरु सबै हटाउने र त्यसपछिको समयका लागि, वैकल्पिक व्यवस्था आफैं गर्न सार्वजनिक सूचनामार्फत भनेको छ।
प्राधिकरणकाअनुसार, काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माणाधीन भूमिगत विद्युत वितरण प्रणालीमध्ये निर्माण सम्पन्न भएका स्थानहरू (क) पेप्सीकोला-जडीबुटी, (ख) लैनचौर-नारायणगोपाल चोक, (ग) चुच्चेपाटी-चाबहिल-मित्रपार्क, (घ) कलंकी-त्रिपुरेश्वर, (ङ) कालीमाटी-बल्खु, (च) कीर्तिपुर-रिङरोड र (छ) सामाखुशी टाउन प्लानिङमा उक्त भूमिगत वितरण प्रणाली परीक्षण गरी केही दिन भित्रमा नै सञ्चालनमा ल्याइने भएको छ।
“…उल्लिखित क्षेत्रको ओभरहेड वितरण लाइन तथा विद्युतका पोलहरू क्रमैसँग हटाइने भएकोले उपरोक्त स्थानहरूमा रहेका पोलहरूमा जडान गरिएका इन्टरनेट केबल, अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू ६ (छ) महिनाभित्र अनिवार्य रूपमा हटाई वैकल्पिक व्यवस्था गर्नुहुन…” सूचनामा भनिएको छ।
यस्तै तोकिएको अवधिभित्र प्राधिकरणको पोलमा जडित इन्टरनेट केबल. अप्टिकल फाइबर, सीसीटीभी क्यामरा, सडक बत्ती लगायतका संरचना एवं उपकरणहरू नहटाएमा प्राधिकरणले पोल लगायतका ओभरहेड संरचना हटाउँदा हुने क्षतिप्रति नेपाल विद्युत प्राधिकरण जिम्मेवार नहुने समेत चेतावनी दिएको छ।
प्रकाशित: ३ जेष्ठ २०८१, बिहीबार