सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिदमा भ्रष्टाचार, विकल पौडेलसहित ६ जना विरुद्ध मुद्दा दायर

Technology Khabar ३० बैशाख २०८१, आईतवार

काठमाडौं ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा सुरक्षण मुद्रण केन्द्रका निवर्तमान कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ। सुरक्षण मुद्रण केन्द्रका लागि उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा पौडेलसहित ६ जना र आपूर्तिकर्ता कम्पनी विरुद्ध मुद्दा दायर भएको हो।

अख्तियारले उनीहरू माथि ४० करोड ८५ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएको छ।

अख्तियारले पौडेल सहित राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयका मेकानिकल सीडीई नविन कुमार पोखरेल विरुद्ध पनि मुद्दा दायर गरेको हो।

यसैगरी अख्तियारले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन लेखा अधिकृत खड्क बहादुर थापा र शाखा अधिकृत हरिवल्लभ घिमिरे तथा सुरक्षण मुद्रण केन्द्रको उपकरण खरिद गर्ने ठेक्का पाएको म्याक्स इन्टरनेशनल र त्यसका सञ्चालक अकबर हुसेन विरुद्ध पनि मुद्दा चलाएको हो।

उनीहरु माथि सार्वजनिक खरिद नियमको प्रक्रिया पुरा नगरी केन्द्रका लागि उपकरण खरिद गरेको आरोप छ।

उनीहरुले केही सीमित व्यक्ति विशेष वा कम्पनीसँग मिल्ने गरी तथा स्वस्थ प्रतिस्पर्धा नहुने गरी भएकोले नेपाल सरकारको सम्पत्ति गैरकानूनी तवरले हानिनोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरेको उल्लेख छ।

अख्तियारकाअनुसार अन्तर्राष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गर्नुपर्ने अवस्थामा म्याक्स इन्टरनेशनलको मात्र कार्य अनुभव मिल्ने गरी खरिदको मुख्य कार्य करिब ८० प्रतिशत प्रिन्टिङ प्रेससँग सम्बन्धित हुँदाहुँदै प्रिन्ट प्रोडक्सन सिस्टम संचालनका लागि अपरिहार्य नभएको र यस ठेक्काबाट खरिद गर्नु नपर्ने सूचना प्रविधि सम्बन्धी कार्य; Server or Enterprise Storage or Hyper Converged Infrastructure (Critical IT System) अनुभवलाई समान हैसियतमा राखी कुनै एकमा अनुभव भए हुने गरी सार्वजनिक खरिद अनुगमन कार्यालयले जारी गरेको Standard Bidding Document को Qualification Requirements मा भएको “The minimum supply value of goods under a single contract within the last three years should be NRs………………[Insert 50 to 80 percent of the cost estimate]” समेत मिल्ने गरी बोलपत्रसम्बन्धी कागजातहरु तयार गरी/गराई राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट खरिद कार्य गरेको आरोप लगाएको छ। यसका साथै मूल्याङ्कन गर्ने अधिकारीले नै ठेक्का स्वीकृत गर्न नहुने भन्ने सार्वजनिक खरिदको सामान्य सिद्धान्त तथा सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक निकायहरुमा खरिद इकाई प्रमुख र सदस्यको योग्यता सम्बन्धी जारी गरेको मापदण्ड, २०७८ को विपरीत निजहरु विकल पौडेल, सफल श्रेष्ठ र नविन कुमार पोखरेलले स्पेशिफिकेशन तयार गरी/गराई सोही स्पेशिफिकेशनबाट लागत अनुमान तयार गरेको समेत मुद्दामा रहेकोछ।

सुरक्षण मुद्रण केन्द्रबाट ठेक्का भई म्याक्स इन्टरनेशनले प्राप्त गरेको ठेक्कामा उक्त सामान आपूर्ति गर्ने विदेशी कम्पनी ब्यानकोटेक प्रालि सिंगापुर (Bancotec Pte Ltd. Singapore) ले कमिसनबापतको रकम निज प्रतिवादी विकल पौडेलको युनाईटेड ओभरसिज बैंक (United Overseas Bank (UOB), सिंगापुरमा रहेको एकल खातामा तथा निज विकल पौडेल र निजको श्रीमतीको बैंक अफ अमेरिका न्यूयोर्क यूएसए (Bank of America, New York, USA) मा रहेको संयुक्त खातामा जम्मा गरेको देखिएको अख्तियारले भेटेको उल्लेख छ।

 यस्तै  विनियोजित बजेटमा उल्लिखित कार्यक्रम बमोजिम Card Based Press machinery Software and hardware and related equipments खरिद गर्नुपर्नेमा सो नगरी Paper Based Press machinery Software and hardware and related equipments अन्तर्गत एउटा मात्र प्रिन्टिङ्ग प्रेस खरिद गर्नुपर्नेमा आवश्यकता भन्दा बढी दुई वटा प्रिन्टिङ्ग प्रेस खरिद गरेको, प्रिन्टिङ्ग प्रेसमा इन्लाइन हुने कम क्षमताको डाई कटिङ्ग मेसिन (Die cutting machine) खरिद गर्दा पर्याप्त हुनेमा मनासिब कारण बिना २० गुणा बढी क्षमताको आवश्यक नै नदेखिएको डाई कटिङ्ग मेसिन खरिद तथा प्रिन्ट प्रोडक्सन सिस्टम (Print Production System) संचालनको लागि अमिल्दो र अनावश्यक क्रिटिकल आईटी सिस्टम (Critical IT System) समेत यसै ठेक्का मार्फत खरिद गरी/गराई हाल प्रयोगमा समेत आएको नदेखिएकोसमेतबाट प्रतिवादीहरुलाई गैरकानूनी लाभ पुर्याउने र सुरक्षण मुद्रण केन्द्र (नेपाल सरकार) लाई चालीस करोड पचासी लाख चौहत्तर हजार सात सय चालीस रुपैयाँ रु.४०,८५,७४,७४०/- हानी पुर्याउने बद्‌नियतले कार्य गरी/गराई चालीस करोड पचहत्तर लाख सन्ताउन्न हजार सात सय चालीस रुपैयाँ भुक्तानी समेत गरे/गराएको आरोप पत्रमा छ।

अख्तियारले दायर गरेको मुद्दामा म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनले ठेक्का नं. SPC/G/NCB-01/077-78 को Supply, Delivery, Installation and Commissioning of High Security Digital Print Production System खरिद कार्यमा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसमेतसँग मिलेमतो गरी आफू अनुकूलको स्पेशिफिकेशन तयार गरेको, सम्झौताकर्ता कम्पनी म्याक्स इन्टरनेशनलको सि.इ.ओ. अकबर हुसेनले आफ्नै नाममा दर्ता भएको आई.टी. ग्लोबल प्रा.लि. तथा अन्य सूचना प्रविधि सम्बन्धी कार्य गर्ने स्थानीय दुई ओटा कम्पनी/फर्महरुको दरभाउ माग गर्नु भन्दा केही दिन अघि मात्र सूची दर्ता गरी/गराई सोही कम्पनी/फर्महरुबाट बढी मूल्यको दरभाउ लिई/दिई लागत अनुमान वृद्धि गरेको, नेपालमा निर्माण तथा सो सम्बन्धी कार्य अनुभव भएका कुनै कम्पनी/फर्म नभएको अवस्थामा समेत बोलपत्रसम्बन्धी कागजात तयार गर्दा मिलेमतोमा सूचना प्रविधि सम्बन्धी कार्यानुभवलाई खरिदको मुख्य कार्य प्रिन्टिङ प्रेसकै समान हैसियतमा राख्न लगाएको उल्लेख छ।

यस्तै सो कम्पनीका सीईओ हुसेनले बोलपत्रसम्बन्धी कागजातको स्पेसिफिक एक्सपेरियन्समा आफ्नो कम्पनीलाई मात्र मिल्ने गरी अन्तिम तीन वर्षमा एउटै ठेक्काबाट रु. ३८ करोडको कार्य गरेको हुनुपर्ने प्रावधान राख्न लगाई अन्तरार्ष्ट्रिय बोलपत्रको माध्यमबाट खरिद गरिनुपर्ने सुरक्षण मुद्रण सम्बन्धी उपकरणलाई राष्ट्रियस्तरको बोलपत्रको माध्यमबाट खरिद गर्न लगाएको, डाई कटिङ्ग मेसिनको स्पेशिफिकेशन तयार गर्दा नै उक्त मेसिन उत्पादक प्राती कम्पनी तथा त्यसको आधिकारिक पार्टनरको मात्र पहुँचमा रहने भित्री तथा गोप्य विषेशताहरुलाई समावेश गरी स्पेशिफिकेशन तयार गरेको, म्याक्स इन्टरनेशनल ले पेस गरेको बोलपत्र प्रस्तावमा संशोधन पूर्वकै कन्ट्रोलर WSZ8G4 Server राखी Bidder’s Response मा Fully Comply (Machine Compatible Server) उल्लेख भएको पाइएकोले उक्त WSZ8G4 Server, HP company को मोडेल बाहेक अन्य कम्पनीको प्रिन्टिङ्ग प्रेसमा नहुने हुँदा मिलेमतोमा एचपी कम्पनी बाहेक अन्य कम्पनीको आपूर्ति हुन नसक्ने गरी सोही बमोजिम अन्य प्राविधिक स्पेशिफिकेशनसमेत तयार गरी एचपी कम्पनीको आधिकारिक पार्टनर; म्याक्स इन्टरनेशनल बाहेक अन्यले आपूर्ति गर्न सक्ने अवस्था नदेखिएको एवं सुरक्षण मुद्रण केन्द्रबाट ठेक्का भई म्याक्स इन्टरनेशनले प्राप्त गरेको ठेक्कामा उक्त सामान आपूर्ति गर्ने विदेशी कम्पनी बानकोटेक प्रालिले कमिसन बापतको रकम निज विकल पौडेलको युनाईटेड ओभरसिज बैंक (यूओबी), सिंगापुरमा रहेको एकल खातामा तथा निज प्रतिवादी विकल पौडेल र श्रीमतीको बैंक अफ अमेरिका, न्यूयोर्क, यूएसएमा रहेको संयुक्त खातामा जम्मा गरेको देखिँदा म्याक्स इन्टरनेशनल तथा उक्त कम्पनीको सीईओ अकबर हुसेनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), र (च) को कसुरजन्य कार्यको दफा २२ बमोजिमको लाभ प्राप्त गर्ने प्रकृतिको मतियारको कसुर भएको हुँदा निज अकबर हुसेन तथा म्याक्स इन्टरनेशनल, काठमाडौंलाई मुख्य कसुरदारहरुलाई बिगो रु.४०,८५,७४,७४०/- कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (क), (घ), र (च) बमोजिमको कसुरमा सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम हुने सजायलाई आधार मानी सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम निज अकबर हुसेन तथा म्याक्स इन्टरनेशनल, काठमाडौंलाई मुख्य प्रतिवादीहरुलाई हुने सजाय बराबर सजाय गरी भुक्तानी भएको रु.४०,७५,५७,७४०/- असुल उपर हुन मागदाबी गरेको छ।

प्रकाशित: ३० बैशाख २०८१, आईतवार

तपाइको प्रतिक्रिया