Technology Khabar ३० बैशाख २०८१, आईतवार
काठमाडौं ।
लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै पहिलो पटक चारपाङ्ग्रे गाडीको एसेम्बल प्लान्ट ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’ संचालनमा ल्याएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार एक कार्यक्रमका बीच लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ प्लान्ट’को शुक्रबार नवलपरासीमा शुभारम्भ गर्दै आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा आगाडि बढाइने बताएका थिए।
यो नयाँ उद्योग सञ्चालनमा आएपछि नेपालमा औद्योगिक वातावरणका निम्ति स्वदेशी एवं विदेशी लगानीकर्ताहरूलाई थप आकर्षित गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने बताए।
नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युत्को खपत, स्थानीय विकासमा साझेदारी र कुल ग्रार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने बताएका थिए।
यसैबीच कम्पनीले नेपालकै पहिलो चारपाँग्रे एसेम्बली प्लान्टबाट शुरुवाति चरणमा वार्षिकरुपमा ५ हजार भेन्यू मोडलका गाडीहरु तयार गर्ने जनाएको छ।
हुन्डाई कोरियाको अन्तराष्ट्रिय मापदण्डमा आधारित र निगरानीमा संचालनमा ल्याईएको उक्त प्लान्टले हाल २०० जनालाई रोजगारी दिईरहेको छ भने आगामी दिनमा अन्य मोडलहरु समेत एसेम्बल गर्ने तयारीमा रहेको छ।
कम्पनीले परासीको रामग्राम नगरपालिका भित्र नयाँ प्लान्ट संचालनमा ल्याएको हो। कम्पनीका अनुसार ६५,००० वर्ग मीटरको क्षेत्रफलमा फैलिएको एलएमसी हुण्डाई मोटर एसेम्बली प्लान्टमा १४,००० वर्ग मीटरको निर्माण क्षेत्र रहेको छ।
कम्पनीले एसेम्बल गरेका गाडिहरुको परीक्षणलगायतका कार्यसमेत गर्नेगरी परीसरभित्रै १ किलोमिटर लामो परीक्षण ट्र्याक समेत रहेको छ।
छिटैनै एसेम्बली प्लान्टमा पेन्ट सेक्सन थपिने कम्पनीले जनाएको छ।
प्रकाशित: ३० बैशाख २०८१, आईतवार