एप्पलको २०२४ आईप्याड प्रो लन्च, एम४ चिप, ओएलईडी डिस्प्लेका साथै एप्पल पेन्सिल प्रो सपोर्ट

Technology Khabar २७ बैशाख २०८१, बिहीबार

एप्पलको २०२४ आईप्याड प्रो लन्च, एम४ चिप, ओएलईडी डिस्प्लेका साथै एप्पल पेन्सिल प्रो सपोर्ट

काठमाडौं ।

एप्पलले हालै आयोजना गरेको लेट लुज कार्यक्रममा एम२ चिप अनबोर्ड भएको छैठौं पुस्ताको आईप्याड एयरको घोषणा गर्नुका साथै, एप्पलले चौथो पुस्ताको आईप्याड प्रो पनि अनावरण गरेको छ। साथै, नयाँ आईप्याड प्रोको मुख्य विशेषता भनेको यो एप्पलको पछिल्लो एम ४ चिपसँग आएको उल्लेख गरिएको छ।

दोस्रो पुस्ताको ३एनएम नोडको प्रयोग गरेको एम४ चिपले चौथो पुस्ताको आईप्याड प्रोलाई पावर (शक्ति) प्रदान गर्दछ, जसले परफर्मेन्स र इफिसियन्सिमा महत्त्वपूर्ण छलांग लगाएको थप उल्लेख गरिएको छ।

आफ्नो पूर्ववर्ती एम२ को तुलनामा, एम४ ले १.५ गुणा छिटो सीपीयू बुस्ट गर्ने र ग्राफिक्स कार्यहरूले ४ गुणासम्मको उल्लेखनीय वृद्धि अनुभव गर्ने जनाइएको छ। विशेष गरी यसको डबल्ड (दोब्बर) गरिएको इफिसियन्सि (दक्षता) निकै प्रभावशाली भएको र यसले एम४ लाई आधा बिजुली खपतमा एम२ को जस्तै समान स्तरको प्रदर्शन प्रदान गर्न अनुमति दिने थप उल्लेख गरिएको छ।

२०२४ आईप्याड प्रोको अन्य स्पेसिफिकेशन्स र फिचर्स
११ इन्च र १३ इन्च आकारहरूमा उपलब्ध यस २०२४ आईप्याड प्रो ओएलईडी डिस्प्ले फिचर गरिएको कम्पनीको पहिलो आईप्याड प्रो मोडल भएको जनाइएको छ। साथै यो स्क्रिनले हाई ब्राइटनेस मोड (एचबीएम) मार्फत १२० हर्ज रिफ्रेस रेट र १००० निट्सको ब्राइटनेस प्रदान गर्ने उल्लेख छ।

त्यसैगरी एप्पलको २०२४ आईप्याड प्रोको दुबै मोडलहरू २५६जीबी/५१२जीबी/१टीबी/२टीबी जस्ता स्टोरेज अप्सनमा आउने छन।

यसबाहेक, १ टीबी र २ टीबी भेरियन्टहरू रिड्युस्ड ग्लेर (कम चमक) को लागि नानो–टेक्स्चर डिस्प्ले ग्लास अप्सन्स (विकल्पहरू) मा पनि आउने जनाइएको छ।

ब्याट्री लाइफको कुरा गर्दा, ११ इन्चको मोडलमा ३१.२९वाटआवर ब्याट्री रहेको छ भने १३ इन्चको मोडलमा ३८.९९ वाटआवर क्षमताको ठूलो ब्याट्री प्याक गरिएको छ। यसका साथै डिभाइसको रिटेल (खुद्रा) प्याकेजमा २०डब्ल्यू यूएसबी–सी चार्जर पनि समावेश गरिएको थप उल्लेख छ।

त्यसैगरी फोटोग्राफीको सन्दर्भमा, २०२४ आईप्याड प्रोमा १२ मेगापिक्सेलको अल्ट्रावाइड फ्रन्ट क्यामरा र ४के भिडियोहरु खिच्न सक्ने १२ मेगापिक्सेलको रियर क्यामरा रहेको छ। सेक्युरिटीतर्फ सिमलेस अथेन्टिकेसन प्रदान गर्ने फेस आईडीको साथमा अगुमेन्टेड रियालिटी एप्लिकेसन्सको लागि लाइडार स्क्यानर पनि समावेश गरिएको उल्लेख छ। यसले इन्हान्स्ड अडियो भिजुअल एक्सपिरियन्सको लागि क्वाड–स्पीकर सेटअप फिचर गरेको छ।

यसबाहेक, यो नयाँ ट्याब्लेट नयाँ एप्पल पेन्सिल प्रो र म्याजिक किबोर्ड जस्ता एक्सेसरिजहरूसँग पनि कम्प्याटिबल (उपयुक्त) हुने जनाइएको छ।

कनेक्टिभिटीको सन्दर्भमा, यसले यूएसबी–सी ४, फाईभजी, ईसिम सपोर्ट, वाई–फाई ६ई र ब्लुटुथ ५.३ जस्ता विकल्पहरू प्रदान गर्ने उल्लेख छ। साथै, यो नयाँ ट्याब्लेट आईप्याडओएस १७ संग प्रिलोडेड भएर आएको छ।

२०२४ आईप्याड प्रो को मूल्य

अमेरिकामा, ११ इन्च र १३ इन्च आईप्याड प्रो (वाई–फाई मात्र भएको) मोडलहरू क्रमशः ९९९ अमेरिकी डलर र १,२९९ अमेरिकी डलरको मूल्यदेखि सुरु हुने जनाइएको छ। तिनीहरूको सेलुलर भेरियन्टहरूलाई अतिरिक्त २०० अमेरिकी डलर लाग्ने उल्लेख छ। साथै न्यानो टेक्सचर ग्लास भेरियन्टलाई थप १०० अमेरिकी डलर बढी मूल्य लाग्ने छ।

त्यसैगरी युरोपमा, ११ इन्च र १३ इन्च आईप्याड प्रो (वाई–फाई मात्र भएको) मोडलहरू क्रमशः १,१९९ यूरो र १,४४९ यूरोबाट मूल्य सुरु हुने जनाइएको छ। फाईभजीको लागि खरिदकर्ताहरूले अतिरिक्त २५० यूरो र न्यानो–टेक्स्चर ग्लासको लागि थप १३० यूरो खर्च गर्नुपर्ने उल्लेख गरिएको छ।

भारतिय बजारमा, वाई–फाई मोडलहरू क्रमशः ९९,९०० र १,२९,९०० रुपैयाँबाट मूल्य सुरु हुने जनाइएको छ। साथै तिनीहरूको फाईभजी संस्करणको मूल्य २०,००० रुपैयाँ बढी खर्च गर्नुपर्नेछ भने नानो टेक्सचर ग्लास भेरियन्टको लागि १०,००० रुपैयाँ बढी मूल्यपर्ने उल्लेख गरिएको छ।

आईप्याड प्रो स्पेस ब्ल्याक र सिल्भर कलर अप्सन्सहरूमा आउने जनाइएको छ। साथै यसको ढुवानी अधिकांश देशहरूमा मे १५ देखि सुरु हुनेछ।

Sajilo Visa

प्रकाशित: २७ बैशाख २०८१, बिहीबार