दूरसञ्चार प्राधिकरणको खर्चमा एन्फाको फुटबल लिग, आन्तरिक लेखापरीक्षणले देखायो बजेटको चरम दूरुपयोग

Technology Khabar २८ चैत्र २०८०, बुधबार

दूरसञ्चार प्राधिकरणको खर्चमा एन्फाको फुटबल लिग, आन्तरिक लेखापरीक्षणले देखायो बजेटको चरम दूरुपयोग

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको आन्तरिक लेखापरीक्षण प्रतिवेदनले आर्थिक वर्ष २०७९/८० को तेस्रो चौमासिकमा खर्चको चरम दूरुपयोग भएको देखाएको छ।

जसमा एन्फाको लिग फुटबल खेलाउनका लागि समेत दूरसञ्चार प्राधिकरणको रकम खर्च गरिएको देखिएको छ। एन्फालाई करिब ५ लाख रुपैयाँ लिग खेलाउन प्राधिकरणले सहयोग गरिएको भेटिएको हो।

दूरसञ्चार प्राधिकरणको आर्थिक प्रशासन विनियमावली, २०७३ को विनियम २९ ले आन्तरिक लेखापरीक्षणको ब्यबस्था गरेअनुसार सो नियमित परीक्षण गरिएको उल्लेख छ। उक्त लेखापरीक्षण प्राधिकरणमा रहेको अन्तरिक लेखापरीक्षण शाखाले गरेको हो।

टेक्नोलोजीखबरले पाएको उक्त प्रतिवेदनले २०७९ साल चैत १ गतेदेखि २०८० साल असारमसान्त सम्मको अवधिलाई समेटेको छ। जसले प्राधिकरणको काम, कर्तब्य र उदेश्य बाहेकको कार्यहरुमा हचुवाको भरमा रकम खर्च भएको औंल्याएको छ।

“दूरसञ्चार नीति, २०६० को बुँदा नम्बर ३ मा ब्यबस्था भएको उदेश्य र दूरसञ्चार ऐन, २०५३ को दफा १३ मा प्राधिकरणको काम कर्तब्य उल्ल्लेखित भएकोमा उक्त कार्य बाहेकका कार्यहरुमा प्राधिकरणले खर्च गरेको देखियो,” प्रतिवेदनमा भनिएको छ।

जसमा विभिन्न कार्यहरुमा प्राधिकरणले अनावश्यक र बिना कुनै आधार रकम दिएको लेखिएको छ। यस्ता कार्यहरुमा मिडियादेखि संघिय संसदसम्मका गतिबिधिहरुमा प्राधिकरणले रकम खर्च गरेको छ। जुन कुनैपनि अवस्थामा दूरसञ्चार प्राधिकरणले गर्ने कार्य वा क्षेत्र भन्दा बाहिर रहेको देखिन्छ।

करिब ३५ पेजको सो प्रतिवेदनमा विभिन्न संस्थाहरु र गतिबिधिमा दिईएको रकम अनुचित र अनुपयुक्त भएको देखाएको छ। जसमा मिडिया तथा अन्य संस्थाहरुको संलग्नतामा समेत प्राधिकरणको रकम अनावश्यक खर्च र दूरुपयोग गरिएको उल्लेख छ।

जसको फेरहिस्त यहाँ जस्ताको त्यस्तै उल्लेख गरिएको छ।

आन्तरिक लेखा परीक्षणले मानवअधिकार एलाइन्सलाई काठमाडौँमा मानवअधिकार रक्षकहरुको राष्टिय सम्मेलनको लागि प्राधिकरणबाट रु ४,९५,०००/- आर्थिक सहयोग गरेको देखियो। यस्तै संघिय संसद प्रतिनिधि सभा विकास तथा प्रबिधि समितिबाट सम्पादित पुस्तक छपाई गर्न रु ४९,२०१.८९/- (जिवन र अनुभूति, कल्याण खड्काको राजनीतिक जिवन र अनुभूतिको डिजाईन गर्न रु २०,९०५/- र विकास समितिको ५ बर्षे किताब डिजाईनमा रु २८,२९६.८९।-) खर्च प्राधिकरणबाट भुक्तान गरेको रकम प्राधिकरणसँग सम्बन्धित नदेखिने उल्लेख छ।

यसमा मानब संसाधन बिकास तथा आन्तरिक प्रशासन शाखालाई दिईएको सुझावमा दूरसञ्चार नीति र दूरसञ्चार ऐन, २०५३ को अधिनमा रहेर प्राधिकरणको कम कर्तब्य बाहेकका अन्य बिषयमा खर्च नगराउन सम्बन्धि शाखा/महाशाखालाइ जिम्मेवार गराउन भनिएको छ।

यसैगरी नेपाल बार एशोसियसनलाई ३० औं सम्मेलनको लागि रु ४ लाख ८५ हजार रुपैयाँ आर्थिक सहयोग गरेकोमा उक्त कार्य गर्न प्राधिकरणको लोगो तथा प्रचार र प्रसार गर्ने सर्त राखेकोमा उक्त कार्यमा प्राधिकरणको लोगो र प्रचार प्रसार गरेको देखिँदैन तर पछि अन्य कार्यमा गर्ने सर्तमा रकम भुक्तान भएको प्रतिवेदनमा उल्लेख छ।

साथसाथै फाउन्डेसनले जलवायु परिवर्तन र लैंगिक असमानता सम्बन्धी गोष्ठी फोक्सुन्डो मिति १५ मै २०२३ मा कार्यक्रम गरेकोमा प्राधिकरणबाट उक्त कार्यको लागि ४,९०,०००/- भुक्तानी गरिएकोमा उक्त कार्य प्राधिकरणसंग सम्बन्धित विषय नभएको देखिन आएकोले प्राधिकरणको काम कर्तब्य र उदेश्य भएको सम्बन्धित काममा मात्र खर्च गर्न सुझाब रहेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई सहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताको लागि रु ४,९०,०००/- आर्थिक सहयोग प्राधिकरणको बजेटबाट भुक्तानी भएकोमा सूचना प्रबिधि सम्बन्धि कार्यसंग सम्बन्धित सम्बन्धित बिषय बस्तुमा मात्र खर्च गर्न सुझाब रहेको छ।

नियमावलीकोको नियम ४ मा आधिकार प्राप्त अधिकारीको लिखित आदेश बिना कसैले कुनै खरिद गर्न गराउन हुँदैन भन्ने ब्यबस्था भएकोमा हाम्रो अवलोकनको क्रममा निम्नानुसारको खरिदमा श्रीमान् अध्यक्षज्यू को लिखित आदेश बिना खरिद गरेको देखियो आईटाइम्स ब्रोडकास्टिङ्ग नेटवर्क प्रालि (ITimes Broadcasting Network Pvt.ltd) बाट संचालित प्राइम टाइम्स एचडी (Prime Times) HD टेलिभिजनले फागु पुर्णिमाको बिशेष अवसरमा लाइभ परफरमेन्स कार्यक्रम आयोजना गरेको र उक्त कार्यमा प्राधिकरणको सचेतनामूलक संदेश प्रसारण गरेको र अध्यक्षसँगको मौखिक सहमतिमा रु ४,९५,०००/- आर्थिक सहयोग गरेको छ। जसलाई गलत भएको प्रतिवेदनले भनेको छ भने “नियमावलीमा भएको ब्यबस्था बमोजिम खरिद कार्य गर्दा श्रीमान् अध्यक्षज्यूको लिखित आदेश बिना खरिद कार्य गर्ने गराउने शाखा/महाशाखालाइ जिम्मेवार गराउन सुझाब” दिएको छ।

यस्तै शाखाबाट माग नै नगरिएको विषयमा समेत खरिद गरेर प्राधिकरणको रकमको चरम दूरुपयोग गरेको प्रतिवेदनमा देखिन्छ।

जसमा “बाल सुरक्षा सम्बन्धित चेतना मुलक लघु चलचित्र निर्माण कार्यको लागि खरिद भएकोमा उक्त खरिद कार्य गर्नु पूर्व उक्त खरिद कार्यको लागि शाखाबाट माग भएको देखिँदैन। उक्त कार्य गर्नको लागि अध्यक्षले खरिद कार्यको लागि स्वीकृत गरेको देखिदैन। तर कार्यालयमा आवश्यक खरिदको लागि माग प्राप्त नभई सिधै ३ वटा संस्थाको प्रस्ताब प्राप्त भएको देखिन्छ र प्राप्त प्रस्तावना उपर खरिद कार्य गरि रकम भुक्तानी भएको देखिन्छ,” प्रतिवेदनमा उल्लेख छ।

सीटीईभीटीसंग समन्वय गरी कोशी प्रदेशमा तालिम संचालन गर्ने प्रबन्ध मिलाउन रु ४ लाख ९५ हजारको खरिद कार्य गरेकोमा उक्त खरिदको आवश्यकता पहिचान भएर कार्यलयबाट खरिद कार्यको लागि प्रक्रियामा गएर प्रधिकरणबाट प्रस्तावना गरिसकेपछि मात्र हुनुपर्नेमा एकै पटक ३ वटा संस्थाबाट प्रस्ताब आएको उल्लेख छ। जसमा खरिद सम्बन्धि कारबाही शुरु गर्नू प्राधिकरणबाट हुने खरिदमा शाखा/महाशाखाबाट खरिद माग प्राप्त गरि सो माग अध्यक्षबाट स्वीकृत गराए पश्चात मात्र खरिदको लागि प्रस्तावना माग गराई खरिद कार्य गर्न सुझाब दिईएको छ।

यस्तै प्राधिकरणले खरिद गरेको भिडियो संदेश प्राधिकरणको वेबसाइटमानै नराखिएको भेटिएको छ। मुधुर मिडिया हाउस प्रा. लि संग रु ४ लाख ९४ हजार २६२ मा खरिद गरेकोमा उक्त सामग्री प्राधिकरणको वेबसाइटमा नदेखिएको हुँदा वेबसाइटमा राख्न सुझाब दिईएको छ।

यस्तै आधिकारिक सिमकार्डको महत्त्वबारे जनचेतनामुलक भिडियो सन्देश निर्माण कार्यको लागि केन्द्र बिन्दु मिडिया प्रालिसंग रु ४ लाख ६५ हजारमा खरिद गरेकोमा उक्त भिडियो सन्देश प्राधिकरणको वेबसाइटमा नै उपलब्ध नभएको प्रतिवेदनले भनेको छ।

१० यसैगरी बाल सुरक्षा सम्बन्धि लघु चलचित्र निर्माणको लागि रु ४ लाख ९६ हजार ७० रुपैयाँ श्री यस दिप मुभी मेकर एण्ड एडभरटाइजिङ्ग प्रालि (yash Deep Movie Maker & Advertising Pvt.ltd) लाई भुक्तान गरेकोमा उक्त लघु चलचित्र प्राधिकरणको वेबसाइटमा देखिदैन र यस प्रकारको लघु चलचित्र के मा प्रसारण भएको प्रमाण संलग नभएको लेखिएको छ।

प्रतिवेदअनुसार प्राधिकरणको उद्देश्यअनुसार गरिएका कार्यक्रमहरुमा पनि हचुवाको भरमा बजेट बनाईएको र सोहीअनुसार रकम निकासा गरिएको देखिएको छ, जसलाई वस्तुनिष्ठ बनाउन भनिएको छ।

सातै प्रदेशमा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सेवा प्रदायकहरुसंग छलफल कार्यक्रम गर्ने प्रत्येक प्रदेशमा कार्यक्रम संचालनको लागि प्राधिकरणबाट तयार गरि स्वीकृत गरेको लागत अनुमानमा एडमिनिस्ट्रेसन चार्जको नाममा ४० हजार रुपैयाँ राखेको तर नियमावलीमा नियम १२ को उपनियम (४) संग सम्बन्धित अनुसूची १क मा कार्यालय ब्यबस्थापन खर्च ४ प्रतिशत ब्यबस्था रहेकोमा उक्त कार्यको लागि ९.०९% राखेको देखियो र बिबिध खर्चमा रु.५०,०००/- जुन जम्मा लागत अनुमानको ११.३६ प्रतिशत राखेको देखियो बिबिध खर्च र कार्यालय ब्यबस्थापन खर्चमा नै योजनाको २० प्रतिशत: राख्दा के मा खर्च वस्तुनिष्ठ देखिँदैन खर्च शिर्षक खुलाएर लागत अनुमान तयार गर्न सुझाब दिईएको छ।

दूरसञ्चार सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको बर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच सातै प्रदेशमा छलफल/अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यको लागि प्राधिकरणबाट लागत अनुमान तयार गरि स्वीकृत भएकोमा (टीओआर) 5. Cost Estimate -8. Administration Charge भनेर रु.४०,०००।- जुन जम्मा लागतको ९.०९ प्रतिशत हुन आउँछ र ९. मा बिबिध खर्च रु.५०,०००।- राखेको देखियो, जुन जम्मा लागतको ११.३६ प्रतिशत हुन आउछ यस प्रकारका के मा खर्च हुने भन्ने यकिन हुन सकेन र लागत अनुमानको २० प्रतिशत रकम बिबिध खर्च र Administration Charge मा खर्च बस्तुनिस्ठ देखिदैन । Administration Charge भनेको कार्यालय ब्यबस्थापन खर्च हो भने नियमावलीमा भएको ब्यबस्था भन्दा बढी राखेको देखियो।

११ Type Approval Working Procedure “TAP 04″ लाई अन्तराष्ट्रिय प्रचलन समेतको आधारमा समयसापेक्ष परिमार्जन गरि लागु गर्ने सम्बन्ध मा नियुक्त परामर्शदाता टाकुरा इन्जिनियरीङ कन्सल्टेन्सी एण्ड बिल्ड्स प्रालि संग ४ लाख ५२ हजार ५६५ भ्याट सहित खरिद सम्झौता भई खरिद कार्य भएकोमा उक्त संस्थाले बिबिध खर्चमा भ्याटसहित रु.९०,४००।- खर्च माग गरेको देखियो जुन आयोजनाको १९.८९ प्रतिशत हुन जान्छ भने संचार खर्चमा रु.४५,२००।- खर्च गरेको देखियो ३ महिनाको आयोजनामा बजार दरको हिसाबले हेर्दा पनि रु.४५,२००।- संचार खर्च बस्तुनिष्ठ देखिदैन । बजारमा चलेको संचारको दरभन्दा बढी भुक्तान रकम असुल उपर गर्न सुझाब रहेको छ र बिबिध खर्चमा आयोजनाको करिब २०० नै खर्च गरेको सम्बन्धमा लागत अनुमान गराउदा शाखाबाट नै कुन खर्च शिर्षकमा खर्च हुने हो खुलाएर लागत अनुमान बनाउन सुझाब रहेको छ।

१२ सामाजिक संजाल र समाजमा यसको प्रभाब बिषयमा सर्लाही जिल्ला हरिवन नगरपालिकामा प्रशासन महाशाखा अन्तरगत योजना शाखाले २०८० असार १ गते एड पोइन्ट प्रालिसंग सम्झौता गरि अन्तरक्रिया कार्यक्रम गरेकोमा उक्त कार्यक्रममा सहभागी उपस्थिति ३९ जना मात्र देखिन्छ प्रस्ताब माग गर्दा खान खाजा खर्च, स्टेसनरी खर्च ८० जना बराबर राखेको र कार्यक्रममा ३९ जना उपस्थिति देखिन्छ।प्राधिकरणबाट भुक्तान गर्दा ८० जना बराबरको खर्च भुक्तान भएकोले अनुपस्थितको ४१ जना बराबर बढी भुक्तान भएको रकम सम्बन्धित शाखाबाट असुल उपर गर्न सुझाब रहेको छ।

१३ सरोकारवालाहरु बीच कोशी प्रदेशको खोटाङ जिल्लामा सामाजिक संजालको सुरक्षित प्रयोग सम्बन्धित अन्तरक्रिया कार्यक्रम भएकोमा उक्त कार्यको लागि खरिद सम्झौता गरेको संस्था श्री अनलाइन केन्द्र न्युज नेटवर्क प्रालिको बजेटमा संचार खर्च भनी रु १२,०००/- भुक्तान भएकोमा एक दिने अन्तरक्रिया कार्यक्रममा उक्त खर्च बस्तुनिष्ठ देखिँदैन ।

१४ मोबाईल तथा ईन्टरनेट सेवाको गुणस्तर सन्दर्भमा सरोकारवालाहरुको राय सुझाब तथा प्रतिक्रिया लिने एवं जनचेतना फैलाउने सम्बन्धी बिषयमा अन्तरक्रिया गर्न परामर्शदाता बाट खरिद कार्य गरेको Nepal Scientific Instrument Solution Pvt.ltd को बजेटमा Administration Charge भनेर रु.३५०००/- जुन जम्मा लागतको ८.४५ प्रतिशत हुन आउँछ र बिबिध खर्च रु.५००००।- राखेको देखियो जुन जम्मा लागतमा ११.४९ प्रतिशत हुन् आउछ जम्मा बजेटको २० प्रतिशत रकम खर्च गरेको सम्बन्धमा लागत अनुमान गराउदा शाखाबाट नै कुन खर्च शिर्षकमा खर्च हुने हो खुलाएर लागत अनुमान बनाउन सुझाब रहेको छ।

१५ बर्दिया जिल्लामा दूरसंचार सेवाको विकास र विस्तार, अवसर र चुनौती बिषयमा अन्तरक्रिया कार्यक्रम संचालन गर्न खरिद कार्य गरेको श्री सक्रिय संचार प्रालिले प्रतिबेदन लेखनमा रु ५००००/- बजेट माग गरि भुक्तान भएकोमा प्रतिबेदन जम्मा ४ पेजको रहेको देखियो यस प्रकारको प्रतिबेदन लेखनमा रु ५००००/- समय सान्दर्भिक देखिँदैन।

१६ दूरसञ्चार सेवाको गुणस्तर सम्बन्धमा नेपाल दूरसञ्चार प्राधिकरण सेवा प्रदायक एवं ग्राहकको भूमिका सम्बन्धमा कोशी प्रदेशको धरानमा अन्तरक्रिया कार्यक्रम संचालनको लागि खरिद कार्य गर्ने सम्झौता गरेको संस्था श्री Nastural Media Network Pvt. ltd ले प्रस्तावना पेश गर्दा दुई दिन कार्यक्रम गर्ने प्रस्तावना पेश गरेकोमा प्रतिबेदनमा एक दिन कार्यक्रम गरेको देखिन्छ र भुक्तानी गर्दा प्रस्तावना अनुसार गरेको देखिन्छ। दुई दिने कार्यक्रम गर्ने भनी दिएको रकम एक दिन मात्र गरेको देखिएकोले दामसाहिले हिसाब गरि एक दिनको रकम सम्बन्धित प्रालिबाट असुल उपर गर्न सुझाब रहेको छ।

सूचना प्रकाशनमा घोटाला

१७ प्राधिकरणबाट गोरखा पत्रिकामा सूचना प्रकाशन गर्दा Kamala Media Pvt. Ltd बाट प्रकाशित सूचनामा १५% छुट दिएको र Google Advertising p. ltd बाट प्रकाशित सूचनामा २५% छुट दिएको देखियो जुन दुबै संस्थाको रेट १६०० -३२ Cm/Wd. रहेको देखियो। सुचना प्रकाशनमा छुट दर फरक हुदा बढी रकम भुक्तानी भएको देखियो। सुचना प्रकाशनको लागि सुचना दिदा प्रतिस्पर्धा गराई सुचना दिन सुझाब रहेको छ।

यसैगरी कतिपय संस्थाहरुले आफ्नो बिलनै हराएको भन्दै प्रतिलिपि राखेर समेत भुक्तानी लिएको प्रतिवेदनमा उल्लेख छ।

१८ Mobile Device Management System सम्बन्धी Video Documentary निर्माणका लागि श्री All Three Media Ghar Pvt. ltd लाई रु ४,८९,२९०/- भुक्तान गरेकोमा उक्त कार्यको copy बिल संलग्न देखियो । विनियमावलीमा भएको ब्यवस्था बमोजिम सक्कल बिल प्राधिकरणको सम्बन्धित शाखाबाट हराएको देखियो।

प्राधिकरणको अगुवाईमा भएका अन्तरक्रिया गोष्ठी तथा छलफल कार्यक्रममा प्रमाण पुरा नभईकन भुक्तानी दिएको प्रतिवेदनमा उल्लेख छ।

१९ दूरसञ्चार सम्बन्धी विधेयक, २०७९ को प्रारम्भिक मस्यौदा सम्बन्धि अध्ययन गरि परिमार्जित र सोको दफागत व्याख्यात्मक टिप्पणी समेत राखी तयार गर्न २०८०/०१/०८ का दिन एकदिनको आवाशिय छलफल कार्यक्रम खर्च बापत होटेल बिल रु २,५४,००/- भुक्तान भएकोमा सम्बन्धित कार्यक्रम भएको प्रमाण देखिने सहभागी हाजिरी, फोटो संलग्न देखिदैन। यसैगरी Development of policy for regulatory and security, Business modality, operation modality of satellite सम्बन्धि बिषयमा छलफल कार्यक्रम मिति २०८०/०१/२६ गते होटेल एल्लो प्यागोडामा भएको र उक्त कार्यको लागि रु १,४१,५४९/- खर्च भएको देखियो। सम्बन्धित कार्यक्रम भएको प्रमाण देखिने फोटो, उपस्थिति हाजिरी संलग्न रहेको देखिदैन।

२० यसैगरी, विनियमावलीको विनियम १७ (१) मा आधिकार प्राप्त अधिकारी बाहेक अरु कसैले पनि खर्च गर्न खर्च गर्ने आदेश दिन र खर्च गरेको कुरा स्वीकृत गर्नू हुदैन भन्ने ब्यबस्था भएकोमा हाम्रो अवलोकनको समयमा “सुचना प्रबिधिको प्रयोग र बालबालिका” बिषयक जनचेतनामुलक कार्यक्रम संचालनको लागि डबली मिडियालाई रु ४ लाख ५० हजार भुक्तान गरेकोमा उक्त कार्य गर्न कार्यदेश जारीको लागि अध्यक्षबाट स्वीकृत गरेको तर कार्य सम्पन पश्चात प्राप्त बिल र प्रतिबेदनको सम्बन्धमा निर्णय नभएको देखियो।

२१ नेपाल दूरसञ्चार प्राधिकरण खरिद विनियमावली, २०७३ प्रतिस्पर्धा सिमित हुने गरि खरिद कार्य टुक्रा गरि खरिद गरिएको सम्बन्धमा विनियमावलीको बिनियम ११ मा खरिद विधिको छनौट सम्बन्धि ब्यबस्था भएको र सोहि विनियम को (२) मा यस विनियमावली बमोजिम खरिद गर्दा प्रतिस्पर्धा सिमित हुने गरि टुक्रा टुक्रा पारी खरिद गर्न नहुने ब्यबस्था बमोजिम हाम्रो अवलोकनको समयमा आ.ब २०७९/८० को स्वीकृत बार्षिक कार्यक्रम तथा बजेटको ४. ३मा दुरसंचार सेवा तथा सूचना प्रबिधि सम्बन्धमा सरोकारवालाहरू बीच छलफल/अन्तरक्रिया गर्ने कार्यक्रममा रु सत्तरी लाख रहेकोमा उक्त कार्यक्रम रु ६९, ६०, ८००/- लागत अनुमान तयार गरि स्वीकृत गरेकोमा उक्त स्वीकृत लागत अनुमानलाई ७ प्रदेश २ जिल्लामा गर्ने गरि १४ स्थानको लागि बराबर प्रति स्थान ४,९७,२००/- (६९८०८००/१४=४९७२००) गरेको देखिन्छ। टुक्रा गर्दा बिषय र सन्दर्भ बिभिन्न जिल्लाहरुको भौगोलिक अवस्थिति, उक्त जिल्लाको आर्थिक गतिबिधि अवस्था सामाजिक अवस्था लगायतका पक्षहरु समेतको आधारमा गरि टुक्रा गरिएको भनी टिप्पणी उठी सोहि अनुसार निर्णय भएकोमा लागत अनुमान किन भौगोलिक अवस्थिति अनुसार फरक परेको देखैदैन। १४ वटा स्थानमा बराबर लागत अनुमान देखिन आएको देखिन्छ ।

अन्तरक्रिया गोष्ठी कार्यक्रम समन्यव गरि संचालन गर्ने सम्बन्धमा प्रधिकरणबाट संचालित अन्तरक्रिया कार्यक्रम फरक फरक महाशाखा/शाखा बाट फरक फरक समयमा सात वटै प्रदेशमा संचालन गर्ने बार्षिक कार्यक्रम अन्तर्गत एकै स्थानमा यस प्रकारका एक दिने अन्तरक्रिया/ गोष्ठी कार्यक्रम गरेको पाहियो यसरी कार्यक्रम संचालन गर्दा महाशाखा / शाखाहरु बीच समन्यव गरी एकै पटक संचालन गर्दा लागत कम लाग्ने र समयको पनि बचत हुने हुदा शाखाहरु बीच समन्यव गरि कार्यक्रम गर्न मनासिब हुने देखिन्छ।

२२ अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सेवा प्रदायकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम दाङ को घोराहीमा संचालन गर्ने कार्यको लागि मौजुदा सुचिमा दर्ता भएका श्री Empower Trading Pvt.ltd, Himalayan Green Corporation Pvt.ltd, Shaaj International Pvt.ltd संग अन्तरक्रिया गोष्ठीको लागि प्रस्तावना माग गरि Shaaj International Pvt.ltd बाट खरिद कार्य गरेको देखियो।

२३ अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सेवा प्रदायकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम गण्डकी प्रदेशको पोखरामा संचालन गर्ने कार्यको लागि मौजुदा सुचिमा दर्ता भएका श्री Vigya Infotech Pvt.ltd, Teqmo Engineering Solution Pvt.ltd, Sudhyog Solution Pvt.ltd प्रस्तावना माग गरि श्री Sudhyog Solution Pvt.ltd संग खरिद गरी गरेको देखियो ।

यसमा, प्रतिवेदनले प्राधिकरणको कार्यसँग सम्बन्धित नरहेका संस्थालाई सुचि दर्ता गरेकोले खरिदको उदेश्यसंग असम्बन्धित संस्थाबाट खरिद कार्य भएको उल्लेख गरेको छ।

२४ अन्तरक्रिया गोष्ठी कार्यक्रममा सहभागी उपस्थिति सम्बन्धमा, उपभोक्ता सचेतना गोष्ठी अन्तरक्रिया कार्यक्रम संचालन कार्यविधि, २०७९ को बुदा नम्बर ६ (५) मा कार्यक्रम संचालनको लागि महानगरपालिका, उपमहानगरपालिका नगरपालिका र तराईका जिल्लाहरुमा न्युनतम १०० जना र कठिन भौगोलिक स्थानहरुमा ५० जना भएकोमा अवलोकनको समयमा जना सहभागी हुनुपर्ने ब्यबस्था अन्तरक्रिया/गोष्ठी कार्यक्रममा सहभागी उपस्थिति कार्यविधिमा व्यवस्था भए अनुसार नभएको देखिएको छ।

२५ अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा इन्टरनेट सेवा प्रदायकहरुसंग छलफल कार्यक्रम दाङको घोराहीमा संचालन गरेकोमा उपस्थिति संख्या ३२ जना मात्र रहेको देखियो । अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा इन्टरनेट सेवा प्रदायकहरुसंग छलफल कार्यक्रम गण्डकी प्रदेशको पोखरामा संचालन गरेकोमा उपस्थिति संख्या ४८ जना मात्र रहेको देखियो। अनुमतिपत्रका शर्तहरुवा सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम विषयक कार्यक्रम सुनसरी इटहरीमा आयोजना गरेकोमा उक्त कार्यक्रममा सहभागी उपस्थिति ४४ जना मात्र रहेको देखियो । अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा छलफल तथा अन्तरक्रिया कार्यक्रम विषयक कार्यक्रम मधेश प्रदेशको बर्दिवासमा आयोजना गरेकोमा उक्त कार्यक्रममा सहभागी उपस्थिति ४९ जना मात्र रहेको देखियो।

२६ E-Waste management for environmental Conservation सम्बन्ध मा सरोकारवालाहरुको राय, सुझाब तथा प्रतिक्रिया लिने सम्बन्धमा कोशी प्रदेशको बिराटनगरमा अन्तरक्रिया कार्यक्रममा सहभागी उपस्थित ६० जना मात्र रहेको देखियो।

२७ e-Waste Management Refurbishment ” सम्बन्धमा अन्त्रिक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा संचालन भएकोमा उपस्थित ६० जना मात्र रहेको देखियो।

२८ दूरसञ्चार सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको बर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच सातै परेशमा छलफल / अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम श्री Ashish Media Network Pvt.ltd लाई बागमती प्रदेशमा अन्तरक्रिया गर्न रु ४,९३,८१०।- भुक्तान गरेकोमा उक्त कार्यक्रममा सहभागी उपस्थिति ५३ जना मात्र रहेको देखियो।

२९ दूरसञ्चार सेवा प्रभाव तथा गुणस्तरीय सेवाको महत्व र आवश्यकता बिषयमा सरोकार वालाहरुसंग राय, सुझाब तथा प्रतिक्रिया लिने तथा जनचेतना फैलाउने सम्बन्धि कर्णाली प्रदेशको सल्यान जिल्लामा अन्तरक्रिया गोष्ठी कार्यक्रम संचालन भएको र उक्त कार्यको लागि रु ४ लाख ९६ हजार खर्च भएकोमा उपस्थिति मात्र ५६ जनाको भएको देखिन्छ।

प्रतिवेदनले अभिमुखीकरण कार्यक्रम संचालन गर्न सहकार्य गर्ने संस्थाको ब्यबसायिक उदेश्य नै सो नभएको वा फरक भएको संस्थासंग खरिद कार्य गरेको देखिएको त्रुटी औंल्याएको छ।

३० “दूरसञ्चार सेवाको वर्तमान अवस्था र भाबी कार्यदिशा” बिषयक एक दिने अन्तरक्रिया/छलफल कार्यक्रम संचालनको लागि प्राधिकरणबाट खरिद कार्यको लागि प्रस्ताव माग गरेको श्री अरुण एण्ड क्रीयटिभ प्रा.लि, र केश आईटी कन्सल्टेन्सी प्रा.लि, श्री जिओकम इन्टरनेशनल प्रा. लि र खरिद कार्य श्री अरुण एण्ड क्रीयटिभ प्रा.लि संग गरेकोमा कुनै पनि संस्थाको ब्यबसायिक उदेश्य अन्तरक्रिया गोष्ठी कार्य गर्ने रहेको देखिदैन्।

३१ नेपालमा सूचना प्रबिधिको प्रयोग र सुशासनमा परेको प्रभाब सम्बन्धि अन्तरक्रिया कार्यको लागि श्री लाल बकैया मिडिया प्रा.लि, श्री समर्पण मिडिया प्रा.लि बाट प्रस्तावना माग गरि अन्तरक्रिया गरेकोमा खरिदको लागि संलग्न भएका कुनै पनि संस्थाको ब्यबसायिक उदेश्य अन्तरक्रिया कार्यक्रम संचालन गर्ने रहेको देखिदैन।

३२ बाग्लुङ जिल्लाको बरेइमा साइबर सुरक्षा र अपराध सम्बन्धी सचेतना मुलक कार्यक्रम गर्न Sunaulo nepal Online Pvt.ltd लाई रु ४,९५,००० ।– भुक्तान गरेकोमा हाम्रो अवलोकनको समयमा उक्त संस्थाको ब्यबसायिक उद्धेश्य अखबर मुद्रण तथा प्रकाशन, क्षब्य दुश्य सामग्री तयार गर्ने, बिज्ञापन तथा बजार अनुसन्धान सेवाहरु, चलचित्र उल्पादन गर्ने, अनलाइन पत्रकारिता सम्बन्धि रहेको देखियो । ब्यबसायिक उदेश्य सचेतनामुलक कार्यक्रम गर्न नमिल्ने देखिन्छ ।

३३ अपिल मिडिया प्रा.लि बाट साईबर सुरक्षा सम्बन्धि बिराटनगरमा सचेतनामुलक कार्यक्रम संचालन गरेकोमा उक्त मिडिया प्रा.लिको ब्यबसायिक उदेश्य छपाई तथा प्रकाशन गर्ने भएकोले तालिम कार्यक्रम गोष्ठी संचालन गर्ने उदेश्य भएका संस्था मात्र खरिद कारबाही गर्न सुझाब रहेको छ। उक्त सचेतनामुलक कार्यक्रम संचालन गर्न पेश गरेको प्रस्ताबमा बिराटनगर महानगरपालिका भित्रका १८ वटै सामुदायिक विद्यालयका शिक्षकहरु प्रत्येक विद्यालयबाट मावि तहमा सामाजिक बिषय पढाउनेस्थायी शिक्षक प्रत्येक बिधालयबाट आधारभूत तह पढाउने स्थायी शिक्षक, प्रत्येक बिधालयका सहभागी एक जना पुरुष र एक जना महिला हुनेछन भनिएकोमा हाम्रो अवलोकनको समयमा कार्यक्रममा संचालन गर्दा बिराटनगर ७ मा रहेको आदर्श माबि र बिराटनगर ८ मा रहेको महेन्द्र माबिका विद्यार्थीलाई मात्र सहभागी गराई कार्यक्रम संचालन गरेको देखियो। प्रस्तावना अनुसार कार्यक्रम संचालन भएको देखिदैन।

३४ कोशी प्रदेशको इटहरीमा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सेवा प्रदायकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालनको लागि खरिद कार्यको संझैता गरेको पीआर मल्टिपल सोलुसन प्रा.लि ब्यबसायिक कारोबार मुद्रण सम्बन्धी बिबिध कार्य, कम्पुटर सफ्टवेयर सम्बन्धी कारोबार गर्ने, बिज्ञापन तथा बजार अनुसन्धान सेवाहरु रहेको देखियो संस्थाको ब्यबसायिक उदेश्य उक्त कार्य गर्ने संस्था मात्र खरिद कारबाही गर्न सुझाब रहेको छ।

३५ मधेश प्रदेशको बर्दिबासमा अनुमतिपत्रका शर्तहरुका सम्बन्धमा सेवा प्रदायकहरुसंग छलफल तथा अन्तरक्रिया कार्यक्रम संचालनको लागि खरिद कार्य गरेको ब्रान्ड मन्त्र प्रालिको ब्यबसायिक कारोबार बिज्ञापन तथा बजार अनुसन्धान सेवाहरु रहेको देखियो संस्थाको ब्यबसायिक उदेश्य उक्त कार्य गर्ने संस्था मात्र खरिद कारबाही गर्न सुझाब रहेको छ।

३६ सुदुर पश्चिमको डोटीमा सार्बजनिक सेवा प्रवाहमा दूरसञ्चार तथा सुचना प्रविधिको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम संचालनको लागि खरिद कार्यको लागि प्रस्तावना माग गरेको श्री बासुकी टेक्नोलोजी प्रा. लि, Dream Geo Lab Pvt. ltd र Gurukul Hub कुनै पनि संस्थाको ब्यबसायिक उदेश्य उक्त कार्य गर्ने रहेको देखिदैन र प्राप्त प्रस्ताबनाबाट खरिद कार्यमा संझैता भएको श्री बसुश्री टेक्नोलोजी प्रा.लीको ब्यबसायिक कारोबार कम्पुटर, कम्पुटर सम्बन्धी सामानहरु थोक बिक्रि गर्ने रहेको देखियो ।

३७ E-Waste management for environmental Conservation सम्बन्ध मा सरोकारवालाहरुको राय, सुझाब तथा प्रतिक्रिया लिने सम्बन्धमा कोशी प्रदेशको बिराटनगरमा अन्तरक्रिया कार्यक्रम आयोजनाको लागि श्री इन्फोरमेशन केयर प्रा. लि को ब्यबसाय कारोबार विधुतीय कम्प्युटर कारोबार गर्ने, क्लोभरलिफ इन्जीनियरङ प्रा. लि को भवन निर्माण र A.M.D Soft and Services Pvt. ltd बिधुतिय कम्पुटर कारोबार गर्नेसंग खरिद कार्यको प्रस्तावना माग गरि क्लोभरलिफ इन्जीनियरङ प्रालि को भवन निर्माण संग अन्तरक्रिया कार्यक्रमको खरिद कार्य गरेको देखियो।

३८ दूरसञ्चार सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको बर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच सातै प्रदेशमा छलफल / अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम श्री Ashish Media Network Pvt.ltd ल. ई बागमती प्रदेशमा अन्तरक्रिया गर्न रु ४९३८१०/- भुक्तान गरेकोमा उक्त संस्थाको ब्यबसायिक उदेश्य रेडियो तथा दूरदर्शी प्रशारण, रङगमंच देखाउने मनोरन्जनात्मक सेवा प्रदान गर्ने रहेको हुदा ब्यबसायिक उदेश्य उक्त कार्य गर्ने संस्थासंग प्रस्तावना माग गरि खरिद गर्न सुझाब रहेको छ।

३९ दूरसञ्चार सम्बन्धित कानुन र र समग्र दूरसञ्चार सेवाको बर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच सातै प्रदेशमा छलफल/अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम श्री Solidity engineering solution लाई गण्डकी प्रदेशमा अन्तरक्रिया गर्न रु ४,९४,३७५/- भुक्तान गरेकोमा उक्त संस्थाको ब्यबसायिक उदेश्य उक्त कार्य गर्ने देखिदैन।

४० “सामाजिक संजाल र समाजमा यसको प्रभाब” बिषयमा सर्लाही जिल्ला हरिवन नगरपालिकामा प्रशासन महाशाखा अन्तरगत योजना शाखाले २०८० असार १ गते एड पोइन्ट प्रा. लि संग संझैता गरि अन्तरक्रिया कार्यक्रम गरेकोमा उक्त संस्थाको ब्यबसायिक उदेश्य बिज्ञापन तथा बजार अनुसन्धान रहेको र साथै प्राधिकरणबाट प्रस्ताब माग गर्ने सक्रिय संचार प्रा.लि, रिसर्च कम्युनिकेशन इन्टरनेसनल प्रा. लि को ब्यबसायिक उधेश्य बिज्ञापन प्रकासन गर्ने रहेको देखिन्छ।

४१ दूरसञ्चार सम्बन्धित कानुन र समग्र दूरसञ्चार सेवाको बर्तमान अवस्थाबारे सेवा प्रदायकहरु र सरोकारवालाबीच सातै प्रदेशमा छलफल/अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने कार्यक्रम लुम्बिनी प्रदेश मा संचालन गरिएको र उक्त कार्य गर्न Phuyal Automation Trading Concern संग खरिद कार्य गरेकोमा उक्त संस्थाको ब्यबसायिक उदेश्य मसलन्द समान खरिद बिक्रि इलेक्ट्रोनिक सामानको कारोबार रहेको देखिन्छ।

४२ दूरसञ्चार सेवा तथा सूचना प्रबिधि सम्बन्धमा सरोकारवालाहरु बीच छलफल/अन्तरक्रिया कार्यक्रम उदयपुर जिल्लामा सन्चालको लागि खरिद कार्य गर्न शाखाबाट प्रस्तावना माग गरेको श्री फ्याबुलस मिडिया प्रालि, श्री कालिका मिडिया एड मिडिया सर्विस र श्री पहिचान मिडिया प्रालिको ब्यबसायिक उदेश्य बिज्ञापन सम्बन्धि रहेको देखिन्छ।

४३ सरोकारवालाहरु बीच कोशी प्रदेशको खोटाङ जिल्लामा सामाजिक संजालको सुरक्षित प्रोयाग सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएकोमा उक्त कार्यको लागि खरिद सम्झौता गरेको संस्था श्री अनलाइन केन्द्र न्युज नेटवर्क प्रालि को ब्यबसायिक उदेश्य अनलाइन पत्रिका रहेको छ।

४४ मोबाईल तथा ईन्टरनेट सेवाको गुणस्तर सन्दर्भमा सरोकारवालाहरुको राय सुझाब तथा प्रतिक्रिया लिने एवं जनचेतना फैलाउने सम्बन्धी बिषयमा अन्तरक्रिया गर्न परामर्शदाता बाट खरिद कार्य गरेको Nepal Scientific Instrument Solution Pvt. ltd को ब्यबसायिक उद्देश्य शल्य चिकित्सक औषधि तथा दाँत सम्बन्धित उपकरण तथा औजार बिक्रि गर्ने रहेको देखिन्छ।

४५ दूरसञ्चार साको गुणस्तर सन्दर्भमा सरोकारवालाहरुको राय सल्लाह सुझाब लिन चितवन जिल्लाको भरतपुरमा अन्तरक्रिया गोष्ठी कार्यक्रम संचालन गर्न तेस्रो पक्ष नियुक्तको प्रक्रिया खरिद कार्यमा संलग्न Great Edu Services Pvt. ltd, VolcusSoft Pvt. ltd, IT federaion Nepal कुनैको पनि संस्थाको ब्यबसायिक उदेश्य अन्तरक्रिया गोष्ठी कार्य गर्नेरहेको देखिदैन।

४६ Waste Management Refurbishment ” सम्बन्धमा अन्त्रिक्रिया कार्यक्रम लुम्बिनी प्रदेशको बुटवलमा संचालनको लागि खरेद कार्यमा संलग्न भएका Sutra Media Pvt. ltd को ब्यबसायिक उदेश्य बिज्ञापन तथा बजार अनुसन्धान रहेको देखियो।

४७ आर्थिक वृद्धिका लागि दूरसञ्चार तथा सूचना प्राबिधिक उपयोग सम्बन्धि अन्तरक्रिया कार्यक्रम संचालन गण्डकी प्रदेशको कास्की जिल्लामा गर्ने कार्यको लागि खरिद कार्यमा प्रस्ताब माग गरेका श्री बि. टि इन्टरनेशनल प्रा.लि, डी.बि टेक्नोलोजी प्रा.लि, श्री टेकपाना मिडिया प्रालि कुनैको पनि ब्यबसायिक उद्देश्य उक्त कार्य गर्ने देखिँदैन। उक्त कार्यमा बि. टि इन्टरनेशनल प्रालिलाई प्राधिकरणले ४ लाख ९६ हजार ३०० रुपैयाँ २०८० बैशाख ४ गते भुक्तानी गरिएको देखिएको छ।

प्राधिकरण स्रोतले बजेटको कसरी दूरुपयोग गरिने गरेको रहेछ भन्ने यसले देखाउने बताए।

यसमा अधिकांश कार्य र जिम्मेबारी प्रशासन महाशाखाको रहेको र सोही महाशाखाले भुक्तानीका लागि निर्देशन दिएको उल्लेख गरेको छ।

प्राधिकरण स्रोतकाअनुसार सो प्रतिवेदनमा उल्लेखित खर्चका बारेमा महालेखापरीक्षकको कार्यालयबाट खटिएका लेखापरीक्षकले पनि आश्चार्य मानेको बताईएको छ। प्रतिवेदनको उल्लेख विषयहरु आगामी महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा समेत समावेश हुने भएको छ।

Sajilo Visa

प्रकाशित: २८ चैत्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार