सीजी ग्रुपले किन्यो किर्गिस्थानको दूरसञ्चार कम्पनी बीलाइन किर्गिस्थानको ५० प्रतिशत शेयर

Technology Khabar २१ चैत्र २०८०, बुधबार

सीजी ग्रुपले किन्यो किर्गिस्थानको दूरसञ्चार कम्पनी बीलाइन किर्गिस्थानको ५० प्रतिशत शेयर

काठमाडौं ।

केहि समयअघि नेपालमा दूरसञ्चार अपरेटरको अनुमति पत्र गुमाएको चौधरी समूहले मध्य एसियाली मुलुक किर्गिस्थानको दूरसञ्चार कम्पनीमा लगानी विस्तार गरेको छ।

सीजी कर्प ग्लोबलअन्तर्गतको सीजी सेल टेक्नोलोजीजमार्फत चौधरी समूहले बीलाइन किर्गिस्थान (Beeline Kyrgyzstan) को ५० दशमलव एक प्रतिशत सेयर स्वामित्व खरिद गरेको हो।

नास्डाककाअनुसार ग्लोबल डिजिटल अपरेटर भीओन लिमिटेडले बीलाइन किर्गिजस्तानमा रहेको आफ्नो ५०.१ प्रतिशत अप्रत्यक्ष सेयर सीजी सेल टेक्नोलोजीजलाई बिक्री गर्ने सम्झौताको घोषणा मार्च २६ मा गरेको छ। सीजी सेल टेक्नोलोजीज सीजी कर्प ग्लोबलको पूर्ण स्वामित्वमा छ।

बीलाइनको मुख्य लगानीकर्ता भीओनले किर्गिस्थानबाट बाहिरिने घोषणा गर्दै आफ्नो बहुसंख्यक सेयर चौधरी समूहको सहायक कम्पनी सीजी सेल टेक्नोलोजीजलाई बिक्री गरेको हो। भिओन नेदरल्याण्डको आर्मस्टडर्ममा आधारित दूरसञ्चार सेवा प्रदायक कम्पनी हो जसले ६ देशमा सेवा दिन्छ।

बीलाइनले सन् २०२३ गरेको आयकर र ह्रासकट्टीभन्दा पहिलेको आयभन्दा ३ दशमलव ४ गुणा बढी मूल्यमा सीजीले शेयर खरिद गरेको इन्भेस्टिङ्ग डटकमले उल्लेख गरेको छ।

भिओनको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार बीलाइन किर्गिस्थानको आयकर र ह्रास कट्टी पूर्वको आय दुई करोड २० लाख अमेरिकी डलर थियो। यसको ५० दशमलव १ प्रतिशत हिस्साको आधारमा त्यसको अनुमानित मूल्य तीन करोड ७५ लाख अमेरिकी डलर (करिब पाँच अर्ब नेपाली रुपैयाँ) हुनसक्दछ। यो कम्पनीमा बाँकी ४९ दशमलव ९ प्रतिशत सेयर स्वामित्व भेन क्यापिटलको छ।

यद्यपि यो खरिद सम्झौता सो देशको नियामक निकायबाट अनुमोदन हुन बाँकी छ।

सो खरिद बिक्रीको समाचारलाई सीजी ग्रुपले आफ्नो लिंक्डइनमा समेत शेयर गर्दै पुष्टि गरेको छ।

भीओनका ग्रुप सीईओ कान तेर्जियोग्लुले टोलीको उपलब्धिमा गर्व गर्दै सीजी कर्प ग्लोबललाई अपरेसन पास गरेकोमा विश्वास व्यक्त गरे, जसले किर्गिस्तानमा डिजिटल रूपान्तरणलाई अगाडि बढाउने अपेक्षा गरिएको छ।

नेपालमा आधारित बहुराष्ट्रिय समूह सीजी कर्प ग्लोबलले अधिग्रहणलाई किर्गिस्तानको दूरसञ्चार बजारमा लगानी गर्ने अवसरको रूपमा स्वागत गरेको छ र ग्राहकहरूले अपेक्षा गरेको उच्च गुणस्तरीय कनेक्टिभिटी र डिजिटल सेवाहरू कायम राख्ने वाचा गरेको उल्लेख छ।

चौधरी समूहअन्तर्गत यसअघि नै युक्रेनको छिमेकी देश मोल्दोभामा समेत मोल्डसेल नामक टेलिकम अपरेटर संचालनमा रहेको छ।

नेपालमा भने सीजी टेलिकम लिमिटेडको नाममा रहेको ग्रामीण दूरसञ्चार सेवाको अनुमति पत्र स्वतः खारेजीमा परेको छ।

तर कम्पनीसँग इन्टरनेट सेवा प्रदायकको लाइसेन्स छ र सेवा समेत संचालनमा रहेको छ।

easy care

प्रकाशित: २१ चैत्र २०८०, बुधबार