सात ओटा मोडलको साथ एप्पलले सन् २०२३ मा सबैभन्दा धेरै आईफोन बेच्यो

Technology Khabar २९ माघ २०८०, सोमबार

सात ओटा मोडलको साथ एप्पलले सन् २०२३ मा सबैभन्दा धेरै आईफोन बेच्यो

काठमाडौं ।

गत महिना सार्वजनिक रिपोर्ट अनुसार एप्पलले १३ वर्षमा पहिलो पटक सामसङलाई पछि पार्दै टप (शीर्ष) स्मार्टफोन ब्राण्ड बनेको थियो।

अब भने रिसर्च फर्म क्यानालिसले गत वर्ष विश्वभर ढुवानी गएिका शीर्ष १० स्मार्टफोनहरूको नयाँ डाटा सार्वजनिक गरेको छ। जसअनुसार, एप्पलले फेरि एक पटक धेरै डिभाइसहरूको साथ सूचीमा प्रभुत्व जमाएको उल्लेख गरिएको छ।

एप्पल र सामसङ बाहेक अन्य कुनै पनि स्मार्टफोन ब्राण्डले यस सूचीमा स्थान बनाउन सकेका छैनन्।

सन् २०२३ मा एप्पलले सबैभन्दा धेरै स्मार्टफोन ढुवानी

क्यानालिस रिपोर्ट अनुसार, आईफोन १४ प्रो म्याक्स ३४ मिलियन युनिटहरूको साथ विश्वव्यापी रूपमा सबैभन्दा धेरै बिक्रि भएको स्मार्टफोन बन्न सफल भएको उल्लेख छ।

गत वर्षको सेप्टेम्बरमा लन्च गरिएको आईफोन १५ प्रो म्याक्स ३३ मिलियन युनिटहरूको साथ दोस्रो स्थानमा रहेको छ। तेस्रो स्थानमा भने २९ मिलियन सिपमेन्टको साथ आईफोन १४ रहेको उल्लेख गरिएको छ। त्यसैगरी आईफोन १४ प्रो र दुई वर्ष पुरानो आईफोन १३ क्रमशः २९ र २३ मिलियन युनिटहरूको साथ चौथो र पाँचौं स्थानमा परेको छ।

गत वर्ष बिक्री भएका शीर्ष पाँच डिभाइसहरू एप्पलबाट आएको छ। साथै आईफोन १५ प्रो २१ मिलियन युनिटहरू बिक्री गरेर सूचीको सातौं स्थानमा रहेको उल्लेख छ। स्ट्याण्डर्ड आईफोन १५ भने १७ मिलियन युनिटहरूको साथ शीर्ष १० सूचीमा पर्न सफल भएको छ। यद्यपि आईफोन १४ प्लस र आईफोन १५ प्लस भने सूचीमा नभएको उल्लेख गरिएको छ।

त्यसैगरी गत वर्ष टप १० सेलिङ स्मार्टफोनको सूचीमा सामसङका तीनओटा फोनहरु मात्र रहेको छ। तिनीहरूमध्ये पनि दक्षिण कोरियाली ब्रान्डको ग्यालेक्सी ए–सिरिजका मात्र अटाएको छ। जसमा २१ मिलियन युनिट बिक्रीका साथै छैटौं स्थानमा रहेको ग्यालेक्सी ए१४ फोरजी समावेश रहेको जनाइएको छ। अन्य दुई ग्यालेक्सी ए५४ फाइभजी र ग्यालेक्सी ए१४ फाइभजी क्रमशः आठौं र नवौं स्थानमा रहेको उल्लेख छ।

वानप्लस , शाओमी, भिभो आदि लगायत कुनै पनि ब्रान्डले गत वर्ष सबैभन्दा धेरै बिक्री भएका फोनहरूको सूचीमा स्थान बनाउन नसकेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

Global Bank
easy care

प्रकाशित: २९ माघ २०८०, सोमबार