काठमाडौँ महानगरपालिका भित्र आर्टिफिसियल इन्टेलिजेन्ट फिचरयुक्त सीसीटिभी क्यामरा जडान

Technology Khabar २३ माघ २०८०, मंगलवार

काठमाडौँ महानगरपालिका भित्र आर्टिफिसियल इन्टेलिजेन्ट फिचरयुक्त सीसीटिभी क्यामरा जडान

काठमाडौं ।

काठमाडौँ महानगरपालिका क्षेत्रभित्र एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) भएका एनएफपीआर (अटोमेटिक नम्बर प्लेट रिकोग्नाइजेसन), एफआरएस (फेसियल रिकोग्निजेसन सिस्टम) सीसीटिभी (क्लोज सर्किट टेलिभिजन) क्यामरा जडान भएका छन् । महानगरपालिकाले नेपाल प्रहरीसँगको सहकार्य क्यामरा जडान गरेको हो।

यी क्यामराहरुले घटनासँग सम्बन्धित व्यक्ति तथा बस्तुको पहिचान र तिनीहरु कता गए, कसरी गए भन्ने दृश्य उपलब्ध गराउँछ । यस्ता विशेषता भएका क्यामरामध्ये ३ ठाउँमा एनएफपीआर (सवारी साधन र चालक सम्बन्धी दृश्य तथा विवरण दिने) र १० ठाउँमा एफआरएस (घटनासँग सम्बन्धित व्यक्तिका बारेमा विवरण र दृश्य दिने) क्यामरा राखिएका हुन् ।

यससँगै सहकार्यबाट सहरमा राखिएका सीसीटिभीको संख्या ३३५ पुगेको छ। २०७५ फागुन १५ गते सम्झौता गरेर आव २०७६र०७७ मा २५ ओटा पीटीजेड (प्यान, टिल्ट, जुम) र १४० ओटा फिक्स्ड गरेर १६५ ओटा र २०८० बैशाख ७ गते सम्झौता गरेर चालु आर्थिक बर्ष ९२०८०/०८१० मा ५ ओटा पीटीजेड, १४५ वटा फिक्स्ड, १० ओटा एएनपीआर र १० ओटा एफआरएस गरी १७० वटा क्यामरा जडान गरिएका हुन् । अघिल्लो सम्झौताबमोजिम महानगरपालिकाले नेपाल प्रहरीलाई ३ करोड रुपैयाँ प्रदान गरेको थियो । चालु आर्थिक बर्षमा ६ करोड रुपैयाँ प्रदान गरिनेछ । जसमध्ये पहिलो किस्तामा ३ करोड रुपैयाँ दिइसकिएको छ।

रात्रीकालीन दृश्य समेत स्पष्ट हेर्न सकिने क्षमताका क्यामरा जडान गर्ने, रात्रीकालीन उज्यालोका लागि सडक बत्ती व्यवस्था गर्ने, निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गर्ने आपसी कामका सूची हुन् ।

सहकार्यमा भएको कामको नतिजा निरीक्षण गर्न महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल आज उपत्यका प्रहरी कार्यालय रानीपोखरी पुगिन्। सूचना प्रविधि विभाग र योजना अनुगमन तथा मूल्याङ्कन एकाइका अधिकारीसहित निरीक्षणमा गएकी उपप्रमुखले, सीसीटिभी कन्ट्रोल रुम, सर्भर कक्ष, भिडियो वाल, प्रहरी सहयोगका लागि गरिने आकस्मिक फोन १०० (कल सेन्टर) सञ्चालन व्यवस्थापन अनलोकन गरिन्।

‘नेपाल प्रहरीसँग भएको विशेषज्ञताबाट सीसीटिभी क्यामरा जडान सम्बन्धी काम संस्थागत हुन थालेको छ। शान्ति सुरक्षा र सहरी व्यवस्थापनमा तथ्य तथा तथ्याङ्क प्राप्त हुन थालेका छन् । विगत बर्षहरुमा गरिएका अभ्यासहरुबाट नयाँ कामका लागि केही सिकाइ पनि भएको छ ।’ निरीक्षणपछि डंगोलले भनिन, ‘वडाको बजेटबाट पनि सीसीटिभी जडान भएको छ। ती क्यामरालाई प्रहरीको निगरानी कक्षसँग जोड्ने विषयमा सम्भावना अध्ययन गर्नुपर्छ। सम्भव भए जोड्नु पर्छ।’

‘व्यक्तिगत तथा संस्थाहरुले राख्ने सीसीटिभी सञ्चालन व्यवस्थापनलाई व्यक्तिको गोपनीयता तथा सुरक्षाका कोणबाट हेर्नुपर्ने अवस्था छ। यसको मापदण्ड पालना तथा सीसीटिभीको उपयोगका बारेमा व्यक्ति, समुदाय तथा सरोकारवालाका बिचमा सचेतना पनि बढाउनु पर्नेछ,’ उपप्रमुखको भनाइ थियो।

निरीक्षणका क्रममा प्रस्तुतिकरण गर्दै प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी उपरीक्षक इञ्जिनियर दामोदर कँडेलले, प्रस्तावकमध्ये प्याकेज १ का लागि सिनर्जी आइटी सोलुसन र प्याकेज २ का लागि इथ्री सेल्स एण्ड सर्भिसेजसँग सम्झौता भएको जानकारी दिए। प्याकेज १ को कबोल रकम ४ करोड एकतीस लाख ४२ हजार २७७ रुपैयाँ हो । यसमा ५ ओटा पीटीजेड र १४५ ओटा फिक्स्ड क्यामरा जडान भएका छन् । यस प्याकेजअन्तर्गत ठमेल क्षेत्रमा ५ ओटा पीटीजेड र १२३ वटा फिक्स्ड क्यामरा जडान गरिएका छन् । यस्तै नयाँ सडक क्षेत्रमा ११ ओटा र रानीपोखरी आसपास क्षेत्रमा ११ वटा क्यामरा जडान गरिएका उनले बताए।

‘प्याकेज २ का लागि १ करोड ५३ लाख ८९ हजार ८०९ रुपैयाँमा सम्झौता भएको हो । यसमा कोटेश्वर भैरव मन्दिर परिसरमा ४ ओटा, महाराजगञ्जमा ४ ओटा र नयाँ बसपार्क प्रवेश क्षेत्रमा २ ओटा गरी १० ओटा एएनपीआर क्यामरा जडान भइसकेको छन् । यस्तै शान्तिबाटिका, बौद्ध गेट, पशुपति मन्दिर मुख्य प्रवेश द्वार, नयाँ बसपार्क टिकट काउन्टर, केन्द्रीय कारागार, न्युरोड गेट, काठमाडौँ मल, ठमेल, विमानस्थल मुल गेट, सिंहदरबार दक्षिण ढोकामा १/१ ओटा गरी १० स्थानमा एफआरयस (फेसियल रिकोग्निजेसन सिस्टम) क्यामरा जडान भएका छन्,’ कँडेलको भनाइ छ।

एनएफपीआर र एफआरएस एआइ (आर्टिफिसियल इन्टेलिजेन्ट) फिचर भएका क्यामरा हुन् । यी क्यामराले सवारी साधनको प्रकार, नम्बर प्लेट, रङ्ग, गाडी गुडेको रुट, चालकको अनुहार पहिचान गर्छ। कँडेलकाअनुसार लेन क्रस, वन वेमा प्रवेश, ट्राफिक नियम उलङ्घन गर्ने सवारी, अनधिकृत ठाउँको पार्किङ पहिचान र संकेत गर्छ। यस्तै व्यक्तिहरुको अनुहार पहिचान गर्छ । कुनै व्यक्तिको खोज्नु पर्यो भने यसले व्यक्ति हिँडेको वा पुगेको ठाउँ देखाउँछ। यस्ता प्रणालीले सहरी आवागमन नियन्त्रण गर्न, अपराध नियन्त्रण गर्न, हराएका व्यक्ति पत्ता लगाउन, भागेका सवारी साधन खोज्न तथा सवारी व्यवस्थापनमा निगरानी गर्न सहज हुन्छ।

यसपछि गौशाला-चावहिल-बौद्ध, हात्तीसार-रातोपुल -गौशाला- विमानस्थल, गौशाला -पुरानो वानेश्वर-नयाँ वानेश्वर, सोह्रखुट्टे -बालाजु, कलंकी -चावहिल रुटमा भएका क्यामरा मिलान र व्यवस्थापन गरिने बताईएको छ।

प्रहरी कन्ट्रोल रुमबाट निगरानी गरिने सीसीटिभीहरु क्रमशः एआइमा आधारित बनाउँदै लगिएको छ । यस अघि भिडियो म्यानेजमेन्ट सिस्टम (भीएमएस) मा आधारित थिए । अहिले १ हजार ३५२ ओटा क्यामराको दृश्यको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुन्छ।

कुनै घटना भयो भने सीसीटिभी क्यामरामा कैद भएका दृश्य उपलब्ध गराउन निवेदन आउने गरेका छन् । सवारी दुर्घटना, सामान छुटेको हराएको, चोरी भएको, लुटपाट भएको, सवारी साधन हराएको, मानिस हराएको घटनाका दृश्य माग हुनेछ गरेका छन्। प्रचलित कानुनले उपलब्ध गराउन मिल्ने खालका दृश्य उपलब्ध गराउने गरिएको छ।

नेपाल प्रहरीले विसं २०६३ सालमा ११ ओटा एनालग सीसीटिभी क्यामरा राखेर निगरानी सुरु गरेको हो। २०७१ साल १८ औँ सार्क शिखर सम्मेलनका समयमा २०३ ओटा आइपी बेस क्यामेरा थप गरिएको थियो।

सीसीटिभी क्यामरा जडान तथा सञ्चालनका लागि गृह मन्त्रालयले २०७२ कार्तिक २५ गते मन्त्री स्तरीय निर्णयबाट कार्यविधि जारी गरेको छ। यो कार्यविधि २०७५ माघ २४ गते संसोधन भएको छ।

मानवीय सुरक्षा, सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्न उपकरण र प्रविधिको आवश्यकता देखिएपछि यो कार्यविधि तर्जुमा गरिएको हो। कार्यविधिले सीसीटिभीलाई सार्वजनिक क्षेत्र, व्यापारिक प्रयोजन र निजी प्रयोजन गरी ३ प्रकारमा वर्गीकरण गरेको छ।

होटलका कोठा, शौचालय, कपडा फेर्ने कोठामा सीसीटिभी राख्न नहुने, व्यक्तिको मानव अधिकार उल्लङ्घन हुने गरी वा स्वतन्त्रपूर्वक हिँड्न पाउने अधिकारमा असर पर्ने गरी क्यामरा जडान गर्न नहुने कार्यविधिमा उल्लेख छ। यसबाट प्राप्त फुटेज ३ महिनासम्म भण्डारण गर्नुपर्ने, संग्रहित फुटेज गोप्य राख्नु पर्ने कार्यविधिमा गरिएको व्यवस्था हो। कार्यविधि बमोजिम व्यापारिक तथा निजी प्रयोजनका लागि जडान हुने सीसीटिभी क्यामरा सम्बन्धी विवरण नजिकको प्रहरी वा जिल्ला प्रशासन कार्यालयमा जानकारी गराउनु पर्छ।

काठमाडौँ महानगरपालिकाले २०८० सालमा जारी गरेको सञ्चार तथा सूचना ऐनको दफा ६१ मा सीसीटिभी जडान र डाटा सुरक्षा सम्बन्धी व्यवस्था गरिएको छ। आवास, व्यवसाय, सार्वजनिक निकाय, स्थान र क्षेत्रमा सीसीटिभी जडान गर्दा प्रचलित कानुनबमोजिम अनुमति लिनुपर्ने, कानुन जारी हुनुअघि जडान गरिएको भए तोकिएको ढाँचामा जानकारी गराउनु पर्ने ऐनले व्यवस्था गरेको छ। यसैगरी यसबाट प्राप्त हुने डाटा सुरक्षाका लागि कार्यविधि बनाउने ऐनमा उल्लेख छ।

डाटा भण्डारण गर्दा, प्रशोधन गर्दा, नष्ट गर्दा वा अर्कालाई उपलब्ध गराउँदा गोपनीयताको हक सम्बन्धी संघीय कानुन बमोजिम हुने ऐनले व्यवस्था गरेको छ।

Global Bank
easy care

प्रकाशित: २३ माघ २०८०, मंगलवार