फोरजी बिस्तारका शर्त र डाउनलोड स्पीड मापदण्ड पुरा नगरेको भन्दै एनसेललाई ५० हजार रुपैयाँ जरिवाना

Technology Khabar २३ माघ २०८०, मंगलवार

फोरजी बिस्तारका शर्त र डाउनलोड स्पीड मापदण्ड पुरा नगरेको भन्दै एनसेललाई ५० हजार रुपैयाँ जरिवाना
ललितपुर, पुल्चोक स्थित लबिम मलमा राखिएको एनसेल आजियाटा लिमिटेडको फोरजी सेवाको विज्ञापन। फाइल तस्बिर। टेक्नोलोजीखबर

काठमाडौं ।

निजी टेलिकम अपरेटर एनसेल आजियटा लिमिटेडले फोरजी बिस्तारको क्रममा पालना गर्नुपर्ने शर्तहरु पुरा नगरेको भन्दै नियामक निकायले कारबाही गरेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणको २०८० पुस १२ गते बसेको बोर्ड बैठकले एनसेललाई फोरजी रोलआउट अब्लिगेसन्स (Rollout Obligations) पूरा नगरेको भन्दै ५० हजार रुपैयाँ जरिवानाका साथै उक्त शर्तहरु पुरा गर्न निर्देशन दिएको हो।

एनसेल आजियाटाले ९००/१८००/२१०० मेगाहर्ज व्याण्डमा बढाबढबाट किनेको फ्रिक्वेन्सी प्रदान गर्दा शर्तहरु तोकिएकोमा उक्त शर्तहरु पुरा नगरेको नियामकको भनाई छ।

फ्रिक्वेन्सी प्रदान गर्दा रोलआउट अब्लिगेसनहरु बमोजिमका शर्तहरु पुरा नगरेको सम्बन्धमा प्राधिकरणले स्पष्टिकरण माग गरेकोमा एनसेलले २०८० असोज १९ गतेको पत्र मार्फत स्पष्टिकरण पेश गरेको थियो।

तर उक्त स्पष्टिकरण चित्तबुझ्दो नदेखिएको र कम्पनीबाट प्राप्त विवरणमा रोलआउट अब्लिगेसनहरु को बुँदा (एफ) बमोजिम एलटीई एडभान्स प्रयोग गर्नुपर्नेमा कुल १७४६ साइटहरु मध्ये ९७६ साइटहरुमा मात्र क्यारियर एग्रिगेसन (Carrier Aggregation(CA) इनेबल गरेको उल्लेख छ। यस्तै  रोलआउट अब्लिगेसन्सको बुँदा (एफ) बमोजिम शहरी एरियाहरुमा न्यूनतम डाउनलोड स्पीड २० एमबिपिएस र ग्रामीण भेगहरुमा न्यूनतम १० एमबीपीएस कायम नगरेको देखिएको प्राधिकरणले ठहर गरेको छ।

सोही आधारमा नियामकले दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम एनसेललाई पचास हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको हो। यसका साथै आगामी २०८१ असार मसान्तसम्म तोकिए बमोजिमको रोलआउट अब्लिगेसन्स पूरा गरी प्राधिकरणमा जानकारी गर्न लगाउन निर्देशन समेत दिएको छ।

प्राधिकरण स्रोतकाअनुसारु एक महिना अघिनै जरिवाना गर्ने र निर्देशन गर्ने निर्णयअनुसार अपरेटरलाई पत्र पठाईसकिएको छ।

“हाल जरिवाना तिरे नतिरेको बारेमा जानकारी छैन्। तर कम्पनीले तोकिएका शर्तहरु पुरा गरेर आगामी असारसम्ममा नियामकलाई जानकारी दिनुपर्नेछ,” स्रोतले भन्यो।

स्मरण रहोस् नेपालमा पहिलो पटक सरकारले फ्रिक्वेन्सी अक्सनमार्फत अपरेटरहरुलाई फ्रिक्वेन्सी प्रदान गरेको थियो। २०७६ पुस २ गते भएको अक्सनमार्फत १८०० मेगाहर्ज ब्याण्डमा प्रति मेगाहर्ज ५ करोड ८० लाख रुपैयाँमा अक्सन हासिल गर्न सफल भएको थियो।

एनसेललाई शर्तहरुसहित नियामकको २०७६ माघ २४ गतेको बोर्ड बैठकमार्फत प्राधिकरणले १८०० मेगाहर्ज ब्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउने निर्णय गरेको थियो।

यसैगरी ९०० र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी अक्सनका लागि एनसेलसँग नेगोशिएसनमा मूल्य तय गरिएको थियो। उक्त फ्रिक्वेन्सी २०७८ बैशाखमा एनसेललाई दिने निर्णय भएको थियो।

सम्बन्धित समाचार-

अक्सनमार्फत एनसेलले पायो ९०० मेगाहर्ज र २१०० मेगाहर्ज ब्याण्डको फ्रिक्वेन्सी

शर्तहरुमा एनसेलले नेटवर्क बढाउन नयाँ बिटिएस टावरहरु थप गर्नुपर्ने प्राबधान थियो भने शहरी क्षेत्रमा ९० प्रतिशत तथा ग्रामीण क्षेत्रहरुमा ८० प्रतिशत कभरेज सन् २०२२ सम्ममा पुर्याउनुपर्ने उल्लेख छ।

त्यसैगरि कम्पनीले ७७ वटै जिल्लाहरुमा आफ्नो नेटवर्क बिस्तार गर्नुपर्ने र मुख्य शहरहरुमा सेवा दिनुपर्ने उल्लेख छ।

कम्पनीलाई तोकिएको स्तरअनुसारको न्यूनतम डाउनलोड स्पीडसहितको इन्टरनेट ब्याण्डविथ दिनुपर्ने शर्तमा राखिएको छ।

त्यसैगरि कम्पनीले आफ्नो कभरेज बिस्तार गर्न र सेवा बढाउन ३ हजार भन्दा बढि नयाँ बिटिएस टावरहरु जडान गर्नुपर्ने प्राधिकरणको शर्तमा उल्लेख छ।

यसबाहेक कम्पनीले दूरसंचार प्राधिकरणले उल्लेख गरेअनुसारको पर्यटकिय क्षेत्रहरुमा सन् २०२० भित्रै नेटवर्क सेवा बिस्तार गर्नुपर्नेछ भने महत्वपूर्ण राजमार्ग तथा तोकिएका स्थानहरुमा गुणस्तर कायम हुनेगरि सेवा बिस्तार गर्नुपर्ने लगायतका शर्तहरु तोकिएको छ।

सम्बन्धित समाचार-

एनसेलले पायो अक्सनमार्फत जितेको ९ मेगाहर्ज फ्रिक्वेन्सी, तोकियो पालना गर्नुपर्ने शर्तहरु

Global Bank
easy care

प्रकाशित: २३ माघ २०८०, मंगलवार

ताजा समाचार

हजारौं इजरायली संस्थामा साइबर चुनौती बढ्यो

  • Technology Khabar
  • १० फाल्गुन २०८०, बिहीबार