सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास, आक्रमणबाट जोगाउन विदेशी ट्राफिक बन्द

Technology Khabar १६ पुष २०८०, सोमबार

सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास, आक्रमणबाट जोगाउन विदेशी ट्राफिक बन्द
सांकेतिक तस्बिर

काठमाडौं ।

नेपालको सरकारी वेबसाइटमा साइबर आक्रमणको प्रयास हुँदा हिजो (आईतबार) देखि समस्या आएको पाइएको छ।

विदेशबाट ह्याकरहरुले सरकारी वेबसाइटको डीएनएस सर्भरमा डीडीओस (डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस)मा अट्याक गरेकाले समस्या आएको राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)का कम्प्युटर इन्जिनियरले आफ्नो नाम उल्लेख नगर्ने सर्तमा टेक्नोलोजीखबरलाई बताए।

आज सोमबार बिहान पनि सरकारी वेबसाइटमा समस्या आएको थियो।

‘विदेशबाट सरकारी वेबसाइटको डीएनएस सर्भरमा लगातार डीडीओएस आक्रमणको प्रयास भइरहेको छ। ह्याकहरुको समूहले नै सर्भरमा आक्रमण गर्दा आइतबारदेखि वेबसाइटहरुमा समस्या आएको हो,’ ती इन्जिनियरले भने, ‘अहिले समस्या हल भइसकेको छ। यसका लागि विदेशबाट आउने सबै ट्राफिक बन्द गरिसकिएको छ।’

सरकारी वेबसाइटमा विदेशबाट लगातार रुपमा ह्याकिङको प्रयास भएकाले विदेशबाट आउने ट्राफिक तत्कालका लागि बन्द गरिएको उनले बताए।

फेरी हुन सक्ने ह्याकिङको प्रयासलाई विफल तुल्याउनका लागि एनआईटीसीका कम्प्युटर इन्जिनियरले मोनिटरिङमै रहेका छन्।

उनका अनुसार नेपालमा ब्राजिल, भियतनाम लगायतका केही देशको आईपी एड्रेसबाट ह्याकिङको प्रयास भइरहेको छ।

साथै पछिल्लो समय ह्याकरहरुको समूहले चीन, भारत, बंगलादेश दक्षिण एशियाली राष्ट्रहरुमा आक्रमण गरिरहेका छन्।

Sajilo Visa

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया

ताजा समाचार