
काठमाडौं ।
पछिल्लो समय बेरुजुको कारण विदेशी मुद्रा सिफारिस रोकिएपछि इन्टरनेट सेवा बन्द हुने बताउँदै आएका इन्टरनेट सेवा प्रदायकहरुलाई नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने पत्र पठाएको छ।
प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुको छाता संस्था इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) लाई शुक्रबार बेलुका पत्र पठाउँदै अनुमतिपत्रको शर्त बमोजिम चौविसै घण्टा गुणस्तरिय इन्टरनेट सेवा उपलब्ध गराउन चेतावनी दिएको छ।
टेक्नोलोजीखबरले पाएको उक्त पत्रमा अनुमतिपत्र व्यवस्थापन शाखाको तर्फबाट प्राधिकरणका निर्देशक सन्तोष पौडेलले कुनैपनि अवस्थामा इन्टरनेट बन्द हुने कार्य नगर्न भनेका हुन्।
इन्टरनेट सेवा अबरुद्ध हुन नहुने सम्बन्धमा पठाईएको सो पत्रमा आइस्पानले बुझाएको पत्रको जवाफ हो।
यसअघि आइस्पानले प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दिएको पत्रमा बेरुजुका कारण विदेशी मुद्रा सिफारिस रोकिएको र विदेशबाट खरिद गर्नुपर्ने इन्टरनेट ब्याण्डविथको रकम भुक्तानी गर्न कठिनाई भएको बताईएको छ। जसको कारण विदेशी ब्याण्डविथ प्रदायकले सेवा रोक्ने चेतावनी दिएको र सोही कारण देशमा पनि इन्टरनेट बन्द हुने बताईएको थियो।
त्यसको विकल्पमा प्राधिकरणले यसअघि मन्त्रालयमा पत्र पठाउँदै किस्ताबन्दीको सुबिधा दिन सिफारिस गरेको थियो।
सम्बन्धित समाचार-
बेरुजु रकम उठाउन किस्ताबन्दीको सुबिधा दिन दूरसञ्चार प्राधिकरणको मन्त्रालयलाई सिफारिस
तर पत्रमा भने सो विषयलाई सम्बोधन नगरि सेवा प्रदायकहरुलाई अनुमतिपत्रको शर्त चेतावनी दिईएको छ।
“…सेवा प्रदायकले सेवा संचालनको लागि पालना गर्नुपर्ने अनुमतिपत्रको शर्त बमोजिम चौविसै घण्टा गुणस्तरिय इन्टरनेट सेवा उपलब्ध गराउनु पर्ने भन्ने व्यवस्था रहेकोले इन्टरनेट सेवा अवरुद्ध हुने कुनै पनि किसिमको अवस्था शृजना हुन नदिई सेवा सुचारु रुपमा संचालन हुने व्यवस्थाको लागि समन्वय गरिदिनुहुन अनुरोध गरिन्छ,” पत्रमा भनिएको छ।
यसका साथै सो पत्रमा रोयल्टी तथा ग्रामीण दूरसंचार विकास कोष रकमको बक्यौता सम्बन्धमा छलफल भईरहेको र वार्ताबाट मात्र समस्याको समाधान निस्कने जानकारी दिईएको छ।

प्रकाशित: १५ पुष २०८०, आईतवार