Technology Khabar ३० मंसिर २०८०, शनिबार
काठमाडौं ।
ओप्पो र नोकियाबीच दुई वर्षभन्दा बढी समयदेखि फाइभजी पेटेन्ट विवाद चलिरहेको छ। उक्त मुद्दा रोयल्टीको बारेमा भएको र चिनियाँ निर्माताले फिनिश नेटवर्क कम्पनीलाई कति रकम तिर्नुपर्छ भन्ने बारेमा रहेको छ।
यसका साथै फोन निर्माता ओप्पोलाई युरोपमा आफ्ना उपकरणहरू बेच्नबाट रोक लगाइएको हुनाले यसमा चिनियाँ अदालतले ओप्पोको पक्ष लिएको छ।
चोङकिङ फर्स्ट इन्टरमिडियट पिपल्स कोर्टमा पुगेको यो विवादले न्यायाधिकरणलाई ग्लोबल एफआरएएनडी –फेयर, रिजनेबल, एण्ड नन–डिस्क्रीमिनेटरी (निष्पक्ष, उचित र गैर–भेदभावरहित) इजाजतपत्र शुल्क तोक्न आग्रह गरेको थियो।
हालसालै अदालतको निर्णय सार्वजनिक भएको छ भने अदालतको आदेशसँग ओप्पो सहमत भएको र विभिन्न बजारहरूमा निर्भर हुने ०.७०७ अमेरिकी डलर देखि ४१.१५१ अमेरिकी डलर प्रति युनिट (इकाई) रकम तिर्नका लागि सहमत भएको ओप्पोले घोषणा गरेको उल्लेख छ।
मोबाइल फोन उद्योगका लागि फाइभजी मानक आवश्यक पेटेन्टहरूको समग्र रोयल्टी बोझको दायरालाई पुष्टि गर्ने यो पहिलो निर्णय भएको ओप्पोले एक प्रेस विज्ञप्तिमा बताएको छ। त्यसैगरी यसले उद्योगका साथै सम्बन्धित उद्योगहरू, जस्तै इन्टरनेट अफ थिङ्ग वा स्मार्ट कारहरूमा थप छलफलहरूको लागि दिशानिर्देशहरू प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ।
यद्यपी अदालतको निर्णयका साथमा नोकिया उक्त शुल्ककोलाई लिएर सन्तुष्ट नभएको उल्लेख छ। टेलिकम उपकरण निर्माता र विश्वको सबैभन्दा ठूलो फाइभजी प्याटेन्ट मालिकहरू मध्ये एक रहेको नोकियाले निर्णयलाई अपील गर्ने बताएको छ।
उक्त निर्णय “चिनियाँ क्षेत्राधिकारमा मात्र सीमित छ र त्यसले केवल एक दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ” नोकियाले भनेको छ।
“ओप्पोले नोकियाको टेक्नोलोजीको प्रयोगकर्ताको रूपमा खुला मापदण्डमा आफ्ना प्रतिबद्धताहरू उल्लङ्घन गरेको भनेर चीन बाहिरका अदालतहरूले पुष्टि गरेको छ,” र कम्पनी यो विवादमा आफ्नो स्थितिमा विश्वस्त हुनुका साथै यो छिट्टै समाधान हुनेछ भनी आशा गरेको नोकियाले जनाएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ३० मंसिर २०८०, शनिबार