Technology Khabar ३० मंसिर २०८०, शनिबार
काठमाडौं ।
-निर्दोष घोरसाईने
दूरसञ्चार सेवा प्रदायक स्मार्ट टेलिकम प्रालिलाई अधिनमा लिएपछि सम्पत्ति व्यवस्थापन गर्न गठित ‘व्यवस्थापन समूह’ले काम नगरेको भन्दै स्मार्ट टेलिकमले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएको छ।
प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले व्यवस्थापन समूहबाट काम अघि बढाउनु पर्यो भनेर स्मार्ट टेलिकमका लगानीकर्ताले पत्र पठाएको जानकारी दिए।
‘व्यवस्थापना समूहको काम कर्तव्य र अधिकार छ। त्यो अनुसार काम नभएर निस्किृय भयो भन्ने जगजायर छ,’ पौडेलले भने, ‘त्यस्तो भएको हुनाले काम अघि बढाइदिन स्मार्टले आग्रह गरेको हो।’
स्मार्ट टेलिकमले नियमानुसार अनुमतिपत्र नवीकरण नगरेको कारणबाट दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) वमोजिम २०८० बैशाख ३ देखि अनुमतिपत्र स्वतः रद्द भएको थियो। स्मार्टले नेपाल सरकार, प्राधिकरण तथा अन्य संस्थाहरुलाई तिर्न बुझाउनु पर्ने रकम असुल उपर गर्नका लागि अनुमतिपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ बमोजिम कम्पनीको सम्पूर्ण सम्पत्ति र दूरसञ्चार पूर्वाधार, संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल प्राधिकरणले नियन्त्रणमा लिएको छ।
योसँगै प्राधिरण्काले गठन गरेको व्यवस्थापन समूहले स्मार्टको संरचना, संजाल सञ्चालन गर्दै आइरहेको छ। तर स्मार्ट टेलिकमको सञ्चालनको जिम्मा पाएको व्यवस्थापन समूहले आफ्नो अधिकार तथा कर्तव्य अनुसार काम नगरेको भनेर सेवा प्रदायकले काम गर्नुपर्यो भन्ने माग सहित पत्र पठाएको हो।
यसैबीच स्मार्टको लगानीकर्ताले उक्त पत्रमा कम्पनी अलपत्र भएको भन्दै आफ्नो सम्पत्ति फिर्ता गराउन समेत माग गरेका छन्।
स्रोतकाअनुसार स्मार्टले सम्पत्ति फुकुवा गरि आफैंले व्यवस्थापन गर्ने समेत बताएको छ।
प्रकाशित: ३० मंसिर २०८०, शनिबार