एमडीएमएसमा ठप्प भयो मोबाइल फोनहरुको प्रमाणीकरण कार्य

Technology Khabar २७ मंसिर २०८०, बुधबार

एमडीएमएसमा ठप्प भयो मोबाइल फोनहरुको प्रमाणीकरण कार्य
Global IME Bank

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सिस्टमनै नबनाई शुरु गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टमको कार्य ठप्प भएको छ। संचालनमा रहेको दाबी गरेको प्राधिकरणले पछिल्लो समयमा दर्ता भएका फोनहरु समेत प्रमाणीकरण गर्न सकेको छैन्।

प्राधिकरणले केहि समयअघि निकै तामझामका साथ सिस्टम चलेको र ८०४ ओटा आईफोन बन्द गरिएको बताएको थियो। तर उक्त सिस्टमनै संचालनमा नरहेको समाचार टेक्नोलोजीखबरले प्रकाशित गरेको थियो।

सम्बन्धित समाचार-

एमडीएमएसको प्रणालीनै संचालनमा नआएको दूरसञ्चार प्राधिकरणको स्वीकारोक्ति

सिमितरुपमा आईएमईआई दर्ता र प्रमाणीकरण गर्न सकिनेगरी मात्र संचालनमा रहेको उक्त सिस्टममा हाल मोबाइल सेवाग्राहीले आफ्नो मोबाइलको आईएमईआई नम्बर दर्ता गराएपनि उक्त मोबाइल प्रमाणीकरण हुन सकेको छैन्।

यसअघि मंसिर ८ गते जारी गरिएको एक विज्ञप्तिमा प्राधिकरणले मोबाइल उपकरणहरूको आयात, प्रयोग तथा विक्री वितरणलाई थप व्यवस्थित गर्न, हराएका तथा चोरी भएका मोबाइल सेटहरूको ट्रयाक तथा ब्लक गर्न तथा प्रमाणीक मोबाइल सेटहरू पहिचान गर्न इक्युपमेन्ट आईडेन्टिटी रजिस्ट्रेशन-ईआईआर (Equipment Identity Registration (EIR) प्रणालीको कार्यान्वयन भईरहेको बताएको थियो।

तर अहिले सोही कार्य पनि रोकिएको हो। जसले गर्दा ग्राहकहरुले आफ्नो फोन अनलाइनबाट सम्पूर्ण प्रकृया पुरा गरेर दर्ता गरेपनि प्रमाणीकरण गराउन सकेका छैनन्।

सिस्टमबाट मोबाइल नै प्रमाणीकरण हुन नसक्दा ग्राहकहरु समेत तनाबमा रहेका छन्। प्राधिकरणमा आफ्नो फोन दर्ता गराउने बारेमा जानकारी लिन आएका एक ग्राहकले सबै कागतपत्रहरु भनेअनुसार नै अनलाइनमा हालेको तर अझै एमडीएमएसमा दर्ता नभएको गुनासो गरे।

“मैले सबै कागतपत्र र आईएमईआई दर्ता भनेअनुसार गरिसकेँ तर उक्त फोन एमडीएमएसमा दर्ता अझै भएकोछैन्। त्यसैले बुझ्न आएको हुँ,” उनले भने।

उता कर्मचारीहरुले भने प्रमाणीकरणको कार्य आफूहरुले गर्न नसक्ने भन्दै प्राधिकरण व्यवस्थापनलाई जानकारी गराएका छन्। उनीहरुले कर्मचारीहरुलाई अनावश्यकरुपमा यसअघि दर्ता कार्यमा लगाईएको भन्दै सिस्टम संचालन गर्ने कम्पनीले दर्ता कार्यको जिम्मा लिनुपर्ने बताए।

“यसअघि आपतकालिन समय र बाध्यता भएको अवस्थामा कर्मचारीहरु फोन दर्तामा खटेका थिए। तर सँधै त्यसरी हुँदैन्। भेन्डरले सिस्टमको कामै नगर्ने अनि कर्मचारी खटाएर मात्र हुन्छ ?” एक कर्मचारीले भने।

एमडीएमएसमा दर्ता प्रमाणीकरणको काम ठप्प भएसँगै अर्कोतर्फ भेन्डरले ल्याउने भनेको र प्राधिकरणले विज्ञप्तीमानै उल्लेख गरेका उपकरणहरु तथा सामग्रीहरुसमेत आउन सकेको छैन्।

तर एमडीएमएस संचालन गर्ने जिम्मा पाएको भेण्डर कम्पनी न्यूमेरा(एम) एसडीएन.बिएचडी. मलेशिया, ओएसआई कन्सल्टिंग प्रालि इण्डिया र नमस्ते ग्लोबल कम प्रालि सिंगापुरको ज्वाइन्ट भेन्चरले यसअघि भुक्तानीका लागि प्रशासन महाशाखा प्रमुखमार्फत दबाब दिँदा विवाद उत्पन्न भएपछि आफैंले अर्को पत्र पठाउँदै रकम निकासा दिन भनेको स्रोतले दाबी गरेको छ।

Sajilo Visa

प्रकाशित: २७ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया