निर्वाण चौधरीको आरोप- ‘सीजी टेलिकमलाई लाइसेन्स नदिने पात्रहरु नै एनसेल काण्डमा संलग्न’

Technology Khabar २१ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले निःशुल्क भ्वाईस र एसएमएस तथा सस्तोमा डाटा दिने भनेको सीजी टेलिकमलाई सरकारले लाइसेन्स नदिएको आरोप लगाएका छन्।

बिहीबार सामाजिक संजाल एक्समा पोस्ट गर्दै चौधरीले सस्तोमा सेवा दिने कम्पनीलाई लाइसेन्स किन नदिएको भन्ने कारण हाल देखिएको लेखेका छन्।

उनले सीजी टेलिकमलाई लाइसेन्स नदिने पात्रहरु नै एनसेल काण्डमा संलग्न रहेको आरोप लगाएका छन् । तर ती पात्र को हुन भन्ने उनले उल्लेख गरेनन्।

उनले एक्समा यस्तो लेखेका छन्, “नेपाली जनताले टेलिकम क्षेत्रका माफिया र संगठनलाई चिन्न पाएका छन्। सीजी टेलिकमले उपभोक्तालाई भ्वाईस र एसएमएस निःशुल्क उपलब्ध गराउने र ५० प्रतिशत सस्तोमा डाटा उपलब्ध गराउने वाचा गर्दा पनि किन नेपाली कम्पनीलाई स्विकृती दिइएन भन्ने कुराको अब पटाक्षेप हुँदैछ। हेर्दै जाऔँ, अरु के के देख्न पाईने हो ? एनसेल काण्डमा तिनै पात्रहरू संलग्न छन् जसले १० बर्षदेखि नेपाली टेलिकमलाई नेपालमा स्थापित हुन दिएनन्। आज जे भएको छ यहि गर्नका लागि सीजी टेलिकमलाई यिनीहरू सबै मिलेर रोकेका हुन्। देशमा अहिले ’त कुटेजस्तो गर म रोएजस्तो गर्छु’ नामक सिनेमा चलिरहेको छ।”

स्मरण रहोस् सीजीले पटक पटक मोबाइल सेवाको अनुमतिपत्रका लागि निवेदन पेश गरेको थियो।

तर कम्पनीले राजपत्रमा भएको प्रावधान पूरा गर्न नसक्दा दूरसञ्चारको लाइसेन्स पाउन सकेको छैन। जसमा यसअघि एसटीएम टेलिकम सञ्चार प्रालिको नाममा रहेको कम्पनीले ग्रामीण दूरसञ्चार सेवाअन्तरगत तत्कालिन समयमा पूर्वान्चल क्षेत्रमा पूर्वाधार विस्तार नगरेको र शर्तहरु पालना नगरेको भन्दै सरकारले लाइसेन्स दिएको छैन। कम्पनीले भने सोही अनुमति पत्रअनुसार नै मोबाइलको लाइसेन्स पाउनुपर्ने जिकिर गर्दै आएको छ।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया