सामाजिक सञ्जाललाई तीन महिनाभित्र सूचीकरण गराउन आदेश, सूचीकरण नभए रोक लगाउने चेतावनी

  • Technology Khabar | १९ मंसिर २०८०, मंगलवार
सामाजिक सञ्जाललाई तीन महिनाभित्र सूचीकरण गराउन आदेश, सूचीकरण नभए रोक लगाउने चेतावनी
सांकेतिक तस्बिर। फ्रिपिक डटकमको सहयोगमा।

काठमाडौं ।

सरकारले नेपाल भित्र संचालनमा रहेका सामाजिक सञ्जाललाई ३ महिने अवधि तोकेर सूचीकरण गर्न आदेश जारी गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८० लागू भएको भन्दै सोहीअनुसार मंसिर १५ गतेदेखि ३ महिनाभित्र सूचीकरण गराउन भनेको हो।

मन्त्रालयले सो अवधिमा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था अनुसार निर्देशिका प्रारम्भ हुँदाका बखत सञ्चालनमा रहेका सामाजिक सञ्जाल प्लेटफर्मले यो सूचना प्रकाशित भएको मितिले तीन महिनाभित्र सूचीकरण गर्नुपर्ने जनाएको छ।

यसका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले आफै वा आफ्नो प्रतिनिधि मार्फत सामाजिक सञ्जाल नियमन इकाईको तोकिएको ई-मेलमा पठाएर निवेदन दिएर सूचीकृत हुन सकिने छ।

यस्तै सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा आएका गुनासो सम्बोधन गर्ने प्रयोजनका लागि सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले नेपालभित्र सम्पर्क विन्दुको व्यवस्था गर्नुपर्नेछ। साथै, निर्देशिका प्रारम्भ हुँदाका बखत नेपालमा कार्यालय नभएका सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालकले तीन महिनाभित्र कार्यालय स्थापना गर्ने वा सम्पर्क विन्दु तोक्नुपर्ने भनिएको छ।

तोकिएको समय सीमाभित्र सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्मलाई मन्त्रालयले नेपालभित्र सञ्चालनमा रोक लगाउन सक्ने मन्त्रालयले चेतावनी दिएको छ।

नेपाल सरकार मन्त्रिपरिषद्‌को २०८० कात्तिक २३ गतेको बैठकबाट “सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने सम्बन्धी निर्देशिका, २०८०” स्वीकृति गरिएको थियो। यहि मंसिर ११ गते नेपाल राजपत्रमा प्रकाशित भएसँगै सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालक र सोको प्रयोगकर्ताको स्वनियमनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ निर्देशिका कार्यान्वयनमा आएको हो।

प्रकाशित: १९ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार