भारतीय एजुटेक स्टार्टअप बाइजुका १ हजार कर्मचारीको नोभेम्बरको तलब रोकियो

Technology Khabar १८ मंसिर २०८०, सोमबार

भारतीय एजुटेक स्टार्टअप बाइजुका १ हजार कर्मचारीको नोभेम्बरको तलब रोकियो

काठमाडौं ।

महिनौंदेखि विवादमा परेको  शिक्षा क्षेत्रको चर्चित भारतीय स्टार्टअप कम्पनी बाइजुले आफ्ना धेरै कर्मचारीको तलब दिनमा ढिलाइ गरेको कारण चर्चामा छ। बाइजुका करिब एक हजार कर्मचारीको नोभेम्बर महिनाको तलब ढिला भएको र अहिलेसम्म नपाएको खबर छ।

भारतीय मिडिया मिन्टको समाचार रिपोर्टअनुसार बाइजुले आफ्ना करिब १ हजार कर्मचारीलाई नोभेम्बर महिनाको तलबसमेत तिर्न सकेको छैन । तर, बाइजुले तलब ढिलो हुनुको कारण आकस्मिक प्राविधिक गडबडी रहेको बताएको छ।

समस्या समाधानका लागि काम भइरहेको कम्पनीले जनाएको छ। पीडित कर्मचारीको नोभेम्बर महिनाको तलब आज सोमबार( डिसेम्बर ४) सम्ममा खातामा जम्मा हुने बाइजुको अपेक्षा छ।

रिपोर्टका अनुसार तलबमा असर परेका कर्मचारीहरु थिंक एण्ड लर्नका मूल कम्पनीका हुन्। यसपटक प्राय सबै इकाईका कर्मचारीको तलब रोकिएको छ। सहायक कम्पनी आकाश संस्थानका कर्मचारीको अवस्था सामान्य रहेको र तलबमा ढिलाइ भएको छैन।

बाइजुको यो समस्या यस्तो बेला आएको छ जब कम्पनी पहिले नै धेरै विवादमा परेको छ। केही दिनअघि मात्रै कम्पनीले फेमा प्रावधानको उल्लङ्घन गरेको खबर आएको थियो। जसमा भारतिय नियामक ईडीले कम्पनीले करिब ८ हजार करोड भारुको विदेशी लगानीको कागजात दिन ढिलाइ गरेको बताएको थियो। त्यसको बदलामा कम्पनीले सेयर बाँडफाँट समेत गर्न सकेको छैन। ईडीले यस सम्बन्धमा कम्पनीलाई नोटिस पठाएको छ।

यसका साथै कम्पनीको भारतीय क्रिकेट कन्ट्रोल बोर्डसँग पनि विवाद छ। ब्लुमबर्गले एक रिपोर्टमा बाइजुले प्रायोजनसँग सम्बन्धित करिब २० मिलियन डलरको रोयल्टी तिर्न छुटेको बताएको थियो।

Global Bank
easy care

प्रकाशित: १८ मंसिर २०८०, सोमबार