एनसेलको सेयर किनबेच बारेमा लेखा समितिले सरोकारवाला निकायहरुसँग माग्यो नौ प्रश्नको जवाफ

Technology Khabar १७ मंसिर २०८०, आईतवार

एनसेलको सेयर किनबेच बारेमा लेखा समितिले सरोकारवाला निकायहरुसँग माग्यो नौ प्रश्नको जवाफ
फाइल फोटो।

काठमाडौं ।

संघिय संसदअन्तर्गतको सार्वजनिक लेखा समितिले एनसेल आजियाटा लिमिटेडको ८० प्रतिशत सेयर खरिद बिक्री तथा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा सरोकार निकायहरुसँग जवाफ माग गरेको छ।

दूरसञ्चार सेवा प्रदायक एनसेलमा रहेको आजियाटा ग्रुपको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई ९ प्रश्न गर्दै जवाफ माग गरेको हो।

एनसेलमा रहेको ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्दै विदेशी लगानीकर्ता आजियाटा बाहिरिएकोमा चासो राख्दै समितिको मंसिर १७ गतेको आन्तरिक बैठकले एनसेलको सेयर खरिद बिक्रीका सम्बन्धमा समितिमा उत्पन्न भएको जिज्ञासाको जवाफ खोज्ने निर्णय गरेको हो।

समितिका सचिव एकराम गिरीले सरोकारवाला निकायलाई भोली (सोमबार) इमेल मार्फत पत्र पठाइने र जवाफ मागिने टेक्नोलोजीखबरलाई जानकारी दिए।

यस्तो छ लेखा समितिले सरोकारवाला निकायसँग राखेको जिज्ञासा

१. मलेसियन टेलिकम कम्पनी आजियटा ग्रुपले आफ्नो स्वामित्वको ८० प्रतिशत (सम्पूर्ण सेयर) बेलायतमा दर्ता भएको स्पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार बिक्री गरेको भनी खरिद विक्रि सम्झौता तथा प्रेस विज्ञप्ति जारी भएको देखिन्छ। प्रस्तुत विषयको आधिकारिकता के हो?

२. एनसेलको विदेशी होल्डिङ्ग कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानूनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो?

३. दुरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) वमोजिम चुक्ता पूँजीको ५ प्रतिशत सेयर खरिद बिक्री गर्नु अघि नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति र नेपाल दूरसञ्चार प्राधिकरण विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नु पूर्व नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति वा स्वीकृति प्राप्त गर्नुपर्ने कानूनी प्रावधान यस सन्दर्भमा पूरा भएको छ वा छैन? उल्लिखित परिपालना नभएको अवस्थामा कानून बमोजिम के कारबाही हुन्छ?

४. यस अघि भएको कारोबार भन्दा निकै कम मूल्यमा होल्डिङ्ग कम्पनीबीच सेयर कारोबार वा स्वामित्व हस्तान्तरण सम्झौता हुनुको कारणलाई नियमनकारी निकायले कुन रुपमा लिएको छ?

५. बिक्रीकर्ता कम्पनीले दोहोरो कर नियमनकारीको अनिश्चितता, लाइसेन्सको म्याद सकिदा उत्पन्न हुने अतिरिक्त जोखिम, लाइसेन्सको म्याद सकिएपश्चात उक्त हिस्सा नेपाल सरकारले लिन सक्ने सम्भावना, नेपालमा वैदेशिक लगानीलाई संरक्षण गर्ने वातावरण नभएको कारण कम्पनीको अस्तित्व नै खतरामा आउने कारण उल्लेख गरेको सन्दर्भमा यसबाट नेपाललाई पर्न सक्ने प्रतिकुल प्रभाव के के हुन? र यस सम्बन्धमा तहाँ निकायको धारणा के हो?

६. पछिल्लो सेयर कारोबार गर्दा पूर्व कारोबारको शेयर पूंजी भन्दा निकै घटेर स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा र नेपाल बाहिर यसरी स्वामित्व हक हस्तान्तरण भएको सन्दर्भमा कम्पनीले सरकारलाई तिर्नुपर्ने कर के हुन्छ? करदाता (ठूला करदाता भएकोले) ले सेयर बिक्रीसहित यति रकम तिर्छु भनी स्वः घोषणा गरेको छ वा छैन? यस्तोमा आन्तरिक राजश्व विभागले जियोपार्डी एसेसमेन्ट गर्ने गरेको छ वा छैन? आयकर ऐन, २०५८ अनुसार पूँजीगत लाभकर प्राप्त हुने वा नहुने र दफा ५७ अनुसारको स्वामित्व हस्तान्तरण कर प्राप्त हुन्छ वा हुँदैन?

७. ५ करोड भन्दा बढी चुक्ता पूँजी भएको दूरसञ्चार सेवा प्रदायक कम्पनी दुईवर्ष भित्र पब्लिक लिमिटेड कम्पनीमा परिणत भई यस्तो कम्पनीले सेयर कारोबार गर्न नेपाल धितोपत्र बोर्डमा सूचीकृत हुनुपर्नेमा सो सम्बन्धमा एनसेल नेपाल धितोपत्र बोर्डमा सूचीकृत भएको देखिदैन। एनसेलको सेयर कारोबारको प्रकृति हेर्दा प्राइभेट कम्पनीको जस्तो कारोबार भएको देखिन्छ, यस सम्बन्धमा सम्बन्धित निकायको भनाई के छ?

८. नेपालको कर प्रणाली छलेर भएको सेयर खरिद बिक्री वा हक हस्तान्तरण नेपालका नियमनकारी संस्थाहरुलाई जानकारी नै नदिई भएको भन्ने सुनिन आएकोले यो खरिद विक्रिको प्रक्रिया र पारदर्शितामाथि सम्बन्धित नियमनकारी निकायको के भनाई रहेको छ?

९. लगभग ६ वर्ष पछि कानून बमोजिम नै नेपाल सरकारको स्वामित्वमा आउने सुनिश्चित हुँदाहुँदै सोलाई समेत असर पर्न सक्ने गरी भएको अहिलेको कारोबारलाई अनुमति वा स्वीकृति प्रदान गर्ने, नगर्ने सम्बन्धमा नियमनकारी निकायको भनाई के रहेको छ? यदि नेपालको नियमनकारी निकायले अनुमति नदिएको अवस्थामा सो कारोबारको वैधानिकता के हुन्छ?

यो पनि हेर्नुस्-

नेपाली बजार चुनौतीपूर्ण भएको बताउने आजियाटाले पछिल्लो दुई वर्षमा एनसेलबाट लग्यो करिब साढे ८ अर्ब लाभांश

Global Bank
easy care

प्रकाशित: १७ मंसिर २०८०, आईतवार