Technology Khabar २० कार्तिक २०८०, सोमबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल फोन आजदेखि बन्द गर्न सुरु गर्ने जनाएको छ।
दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताएअनुसार एमडीएमएसमा दर्ता नभएका महंगा मोबाइल क्रमिकरुपमा बन्द गर्न सुरु गरिनेछ।
प्राधिकरण अध्यक्ष खनालले यसलाई चरणबद्धरुपमा बन्द गरिने योजना भएको टेक्नोलोजीखबरसँगको कुराकानीमा बताएका छन्।
‘पहिलो चरणमा एमडीएमएसमा दर्ता नभएका आईफोनसहितका महँगा फोन बन्द गर्न सुरु गर्नेछौं। हाल करिब १० हजार जति महँगा फोन एमडीएमएसमा दर्ता नभई सञ्चालनमा छन्। दैनिरुपमा एक हजारदेखि आठ सय महँगा फोन बन्द गछौं,’ अध्यक्ष खनालले टेक्नोलोजीखबरसँग भने, ‘१० देखि १५ दिनमा प्रणालीमा दर्ता नभएका मोबाइल फोन बन्द हुन्छन्। महँगा फोन बन्द गरेपछि प्रणालीमा दर्ता नभएका अन्य फोनलाई पनि बन्द गर्दै जाने छौं।’
उनले दूरसञ्चार सेवा अवरुद्ध गर्नुअघि त्यस्ता फोनमा एसएमएस पठाएर जानकारी दिईने बताए।
हेर्नुस् सम्बन्धित समाचार-
तर यस बारेमा जानकार स्रोतहरुले भने सरकार र प्राधिकरणले सामसङ मोबाइलको बजार बढाईदिने योजनासहित मिलेमतोमा आईफोन बन्द गराउने नियत राखेको आरोप लगाएका छन्। यस्तैगरी सिस्टम पूर्ण तयार नै नभई हतारमा लागु गराउन खोजेर सस्तो लोकप्रियता देखाएको स्रोतको दाबी छ।
स्रोतले भन्यो, “एमडीएमएसमार्फत व्यवसायी दिपक मलहोत्राको कम्पनी तथा सामसङ मोबाइल फोनको आधिकारीक आयातकर्ता आईएमएस ग्रुपसँगको मिलेमतोमा एमडीएमएसमार्फत आईफोनलाई टार्गेट गर्न लागिएको हो।”
उक्त स्रोतले हाल उच्चस्तरका र महंगा १० हजार फोन बन्द गर्न लागिएको भनिएकोमा केहि संख्याबाहेक अधिकांश आईफोन मात्रै रहेको दाबी गरेको छ।
“एमडीएमएसमार्फत महंगा र आईफोनहरु बन्द गर्ने भनेर मिडियाबाजी गर्नुको कारण के हो ?,” स्रोतले दाबी गर्यो, “यसको एजेन्डा भनेको सामसङको महंगा फोनहरु बेचाउने हो।”
यसैगरी एक व्यवसायीक स्रोतले भने एमडीएमएसको योजना नै सामसङको लागि थप बजार तयार पार्ने मिलेमतो भएको आरोप लगाएको छ।
“यसअघि नै सरकारले बजेटमा पनि आईफोन भनेर किटानै गरेर उल्लेख गर्नुको कारण सामसङको स्थानीय आयातकर्ताको दबाब थियो,” व्यवसायी स्रोतले जिकिर गर्यो, “आईएमएसका मालिक (दिपक मलहोत्रा) ले पहुँचको आधारमा नेताहरु र कर्मचारीहरुलाई प्रभावित पार्दै आएका छन्।”
उनकाअनुसार नेपालमा हाई-इण्ड फोनमा आईफोनको बर्चश्व रहेको छ भने मध्यम र सस्ता फोनहरुको बजार चिनियाँ ब्राण्डले कब्जा गरेपछि सामसङको बजार खुम्चिएको छ, जसले गर्दा आयातकर्ता आईएमएसको व्यवसाय प्रभावित हुँदै आएको छ।
यसअघि पनि होलोग्रामयुक्त फोनहरु मात्र नेपालमा बिक्री गर्ने योजना पनि आईएमएसले नै ल्याएको उक्त व्यवसायीक स्रोतको जिकिर छ।
“सामसंगको बजार खस्किएसँगै होलोग्राम हेरेर फोन बेच्ने योजना ल्याउनुको उद्देश्य पनि त्यहि थियो। तर त्यसले मात्र नभएपछि एमडीएमएस लागु गराउन उनले पटक पटक दबाब दिँदै आएका छन्,” व्यवसायी स्रोतले दाबी गर्यो।
ती व्यवसायीकाअनुसार महंगा फोनहरुमा बाहेक एमडीएमएस लागु हुनु वा नहुनुले बजारमा खासै धेरै फरक पार्दैन्। सस्ता र मध्यमस्तरका स्मार्टफोन ग्राहकले स्थानीय बजारमा नै किनिरहेको र महंगा आईफोन फोन मात्र बाहिरबाट आउने गरेको उनको भनाई छ।
उता अर्थ मन्त्रालय र दूरसंचार प्राधिकरणले पनि महँगा फोनको वर्गमा स्पष्टरुपमा आईफोन र एक लाख रुपैयाँभन्दा माथिको फोनलाई राखेको छ।
प्राधिकरणले यहि कात्तिक ४ गते दशैं बिदाको समय पारेर सूचना प्रकाशित गर्दै एमडीएमएसमा दर्ता नभएका मोबाइलहरु १५ दिनभित्रमा दर्ता गराउन प्रयोगकर्ताहरुलाई आदेश दिएको थियो। उक्त मितिले १५ दिन भित्रमा एमडीएमएस प्रणालीमा मोबाइल ह्यान्डसेटहरु दर्ता नभए दूरसञ्चार सेवा अवरुद्ध हुने प्राधिकरणले चेतावनी दिएको थियो।
सम्बन्धित समाचार-
दशैं बिदा शुरु भएसँगै एमडीएमएसमा मोबाइल फोन दर्ता गराउन प्राधिकरणको आदेश
लामो समयको प्रतिक्षा पनि नेपाल दूरसञ्चार प्राधिकरणले २०७९ पुस १५ गतेदेखि एमडीएमएस सञ्चालनमा ल्याएको जानकारी दिएको थियो।
तत्कालिन समयमा सामाजिक सञ्जालमा एमडीएमएसको चर्को विरोध भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले पर्याप्त तयारी नभएको भन्दै रोक्न निर्देशन दिएका थिए।
त्यसपछि प्राधिकरणले २०८० जेठ १ गतेदेखि एमडीएमएस लागू गरेको घोषणा गरेको थियो। अर्थमन्त्री प्रकाश शरण महतले आर्थिक विद्येयक मार्फत नै एमडीएमएस लागू हुने र दर्ताका लागि दस्तुर तोकिने घोषणा गरेका थिए।
करिब ६ महिनादेखि एमडीएमएस कार्यान्वयनमा रहेपनि प्रणालीमा दर्ता नभएका मोबाइल फोनबाट निर्वाधरुपमा दूरसञ्चारका सेवा चल्दै आएको छ। तर अहिले भने प्राधिकरणले प्रणालीमा दर्ता नभएका फोनलाई क्रमिक रुपमा बन्द गर्ने योजना कार्यान्वयन गरिने बताएको हो।
यसअघि प्राधिकरणले गत २०७९ पुस १५ गतेपछि नेपाल भित्रिएका र एमडीएमएसमा दर्ता नभएका मोबाइल फोनलाई क्रमिकरुपमा बन्द गर्न लागेको उल्लेख थियो । तर नयाँ सूचनामा कहिलेसम्मका फोनहरु दर्ता गराउने भन्ने स्पष्ट लेखिएको छैन्।
के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस)?
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार भएको भनिएको एमडीएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्ने दाबी दूरसञ्चार प्राधिकरणको छ।
यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ।
यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ। यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ।
यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ। जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ। ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्ड सेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन्।
त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा संकास्पद नम्बरहरु ग्रे लिस्टमा रहनेछन्।
सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
हराएका, चोरी भएका मोबाइल ह्यान्ड सेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणको भनाई छ।
प्रकाशित: २० कार्तिक २०८०, सोमबार