Technology Khabar १० आश्विन २०८०, बुधबार
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ। भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ भदौ मसान्ससम्मको वैदेशिक व्यापारको तथ्यांकमा इलेक्ट्रिक कारको आयात दोब्बरभन्दा बढीले बढेको देखिएको छ।
चालु आवको भदौमा २ अर्ब ४३ करोड १५ लाख ९५ हजार रुपैयाँ बराबरको ८९८ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
गत आर्थिक वर्ष २०७९/८० को भदौमा १ अर्ब १९ करोड ४३ लाख ५९ हजार रुपैयाँ बराबरको ४१४ यूनिट इलेक्ट्रिक कार आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात १ अर्ब २३ करोड ७२ लाख ३६ हजार रुपैयाँ अर्थात १०३.५८ प्रतिशतले बढेको छ। गत आवको तुलनामा चालु आवमा इलेक्ट्रिक कारको आयात ४८४ यूनिट अर्थात ११६.९० प्रतिशतले बढेको छ।
इलेक्ट्रिक कारको आयातबाट सरकारले १ अर्ब १२ करोड ६० लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ।
चालु आवमा ५० किलोवाट क्षमताको ४९ करोड ६५ लाख ८९ हजार रुपैयाँ बराबरको २५५ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
यस्तै ५१ किलोवाटदेखि १०० किलोवाट क्षमताको १ अर्ब ८७ करोड ६४ लाख २६ हजार रुपैयाँ बराबरको ६३१ यूनिट इलेक्ट्रिक कार आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
१०१ किलोवाटदेखि २०० किलोवाट क्षमताको ३ करोड ५७ लाख ६८ हजार रुपैयाँ बराबरको ९ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएको छ।
२०१ किलोवाट क्षमताभन्दा माथिको २ करोड २८ लाख १२ हजार रुपैयाँ बराबरको ३ यूनिट इलेक्ट्रिक कार आयात भएको छ।
प्रकाशित: १० आश्विन २०८०, बुधबार