Technology Khabar ७ आश्विन २०८०, आईतवार
काठमाडौं ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउनु अबको कार्यभार भएको बताइन्।
नेपाल पत्रकार महासंघ, नेपाल टेलिभिजन शाखाले राखेको पत्रकारिता पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले बदलिएको व्यवस्थाअनुकूल जनताको अवस्था परिवर्तन गर्नु अबको दायित्व भएको बताइन्।
२०६३ साल असोज ७ गते ताप्लेजुङ्को घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका नेपाल टेलिभिजनका पत्रकारद्वय हेमराज भण्डारी र सुनिलकुमार सिंहको सम्मानमा हरेक वर्षको असोज ७ गते हेम–सुनिल जोखिमपूर्ण टेलिभिजन पत्रकारिता पुरस्कार वितरण गर्ने गरिएको छ। यो वर्ष रुकुमका महेश केसी र धादिङका शिव सिलवाललाई सो पुरस्कार प्रदान गरिएको छ
कार्यक्रममा पुरस्कृत पत्रकारहरुले तयार पारेका रुकुमपूर्वको सिस्ने गाउँपालिकाको जनजीवन र धादिङ राजमार्ग क्षेत्रको रिपोर्ट हेरेपछि मन्त्री शर्माले राजनीतिक र सामाजिक क्षेत्रमा अकल्पनीय परिवर्तन भए पनि जनताको जीवनमा परिवर्तन आउन नसक्नु ठूलो चुनौतीको विषय भएको बताए।
‘राजनीतिक परिवर्तनको सैद्धान्तिक पुष्टि भइसकेको छ, यसको व्यवहारिक पुष्टिका लागि जनताको जीवनस्तरमा परिवर्तन ल्याउनुपर्ने छ,’ मन्त्री शर्माले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र अहिलेसम्मकै उत्कृष्ट व्यवस्था त हो तर लामो समयसम्म जनताको जीवनमा परिवर्तन ल्याउन सकिएन भने व्यवस्थाको गुनगान मात्र गाएर परिवर्तन बचाउन सकिदैन, यसमा सरकार गम्भीर छ र सबै पक्ष गम्भीर बन्नु आवश्यक छ।’
उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहितको संघीय लोकतान्त्रिक गणतन्त्र पनि जोखिमपूर्ण संघर्षबाटै प्राप्त भएकाले यो उपलब्धिलाई स्थापित गरेर लैजानुपर्ने बताए। राजनीतिक परिवर्तनपछि दुर्गम क्षेत्रका व्यक्ति राजनीतिक क्षेत्रको उच्च ओहदामा पुगे पनि त्यस क्षेत्रका जनताको जीवनमा परिवर्तन नआएको भन्दै अब राज्य, मिडियालगायत सबैको ध्यान जनताको जीवनस्तर परिवर्तनमै केन्द्रित गर्नुपर्ने बताए।
उनले राजनीति, मिडियालगायतका क्षेत्रमा धेरैको विश्वासभन्दा आशंका बढेको उल्लेख गर्दै भने, ‘हरेक क्षेत्रमा राम्रो काम गर्नेहरु किनारामा र नराम्रो काम गर्नेहरु सतहमा हावी हुँदा विश्वासभन्दा आशंका बढिरहेको छ। अब सकारात्मक पक्षलाई सतहमा र नकारात्मक पक्षलाई किनारामा पुर्याउनुपर्ने आवश्यकता देखिएको छ, यसमा मिडिया क्षेत्रको विशेष भूमिका आवश्यक छ।’
आम सञ्चार क्षेत्रको सुधारका लागि विभिन्न कानुनको मस्यौदा भइरहेको जानकारी दिंदै उनले आम सञ्चार तथा सूचना प्रविधि क्षेत्रका समस्या कानुनबाटै समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। सामाजिक सञ्जाल नियमन निर्देशिका मस्यौदा गरेर सहमतिका लागि अर्थमन्त्रालय पठाइएको र चाँडै मन्त्रिपरिषद्मा लैजाने जानकारी दिंदै मन्त्री शर्माले साइबर सुरक्षा नीति पारित गरेको र सूचना प्रविधिका क्षेत्रमा विभिन्न कानुन मस्यौदाको क्रममा रहेको बताइन्।
प्रकाशित: ७ आश्विन २०८०, आईतवार