Technology Khabar ७ आश्विन २०८०, आईतवार
काठमाडौं ।
नेपाल टेलिकम धनकुटा शाखाले पूर्वी पहाडका चार जिल्लामा अप्टिकल फाइबरमार्फत द्रुत गतिको इन्टरनेट सेवा विस्तारमा तीव्रता दिएको छ।
टेलिकमले धनकुटा तेहथुम, संखुवासभा र भोजपुरमा बायरलेस प्रबिधिबाट फोरजी सेवा तथा एफटिटिएम अर्थात् अप्टिकल फाइबर प्रबिधिबाट द्रुत गतिको इन्टरनेट सेवा प्रबाह गरेको हो।
यसअघि टेलिकमले एडिएसएस माध्यमबाट प्रबाह भएको २० जिबिपिएसबाट एफटिटिएच इन्टरनेट सेवा अन्तर्गत कपर बायरबाट ४ एमबिपिएससम्मको इन्टरनेट सेवा तथा जिएसएम (टूजी, ३जी र फोरजी) सेवा विस्तार गर्दै आएको थियो।
हाल उक्त प्रविधिको स्तरोन्नति र युजी फाइबर अन्तर्गत जमिनमुनिबाट बिछ्याइएको फाइबरमार्फत एक सय जिबिपिएसको मुख्य प्रसारण लाइन पुगेपछि टेलिकमले ग्राहकलाई अप्टिकल फाइबरमार्फत ग्राहकलाई आबश्यकता अनुसारको द्रुत गतिको इन्टरनेट सेवा उपलब्ध गराउने कामलाई तीव्रता दिएको नेपाल टेलिकमको धनकुटा शाखा कार्यालयले जनाएको छ।
सेवाको स्तरोन्नति र विस्तारसँगै अब बार जिल्लाका बासिन्दाले सीमित इन्टरनेट चलाउनुपर्ने बाध्यताको अन्त्य भई आफूले चाहेको इन्टरनेट सेवा लिन पाउने भएका छन्।
गत असारसम्ममा धनकुटाको चार स्थान, भोजपुर बजार, सङ्खुवासभाको तीन स्थान र तेहथुमको म्याङलुङ बजारमा सेवा विस्तार भएको कार्यालयका प्रमुख तथा बरिष्ठ इन्जिनियर सुमन आचार्यले जानकारी दिए।
सेवा विस्तारसँगै हाल धनकुटामा दुई हजार ६२१ वटा राउटरमार्फत आठ हजार घरधुरीले अप्टिकल फाइबरमार्फतको इन्टरनेट सेवा लिइरहेका छन्। त्यस्तै भोजपुरमा ७०३ राउटरमार्फत एक हजार पाँच सय, संखुवासभामा ९८० राउटरमार्फत दुई हजार र तेहथुममा ६७० राउटरमार्फत एक हजार पाँच सय घर धुरीले इन्टरनेट सेवा लिइरहेको उनले जानकारी दिए।
धनकुटा जिल्लाको धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजार, मुलघाट, छथरजोरपाटी गाउँपालिकाको सिन्धुबा बजार पर्यटकीय नगरी तथा साँगुरीगढी गाउँपालिकाको भेडेटार बजारमा फाइबरमार्फत इन्टरनेट सेवा विस्तारको काम सकिएको छ।
पाख्रीबास नगरपालिका र नौबिसे गाउँपालिकाका विभिन्न स्थानमा यो बर्ष सेवा सञ्चालनमा आउने जनाइएको छ। त्यस्तै संखुवासभा जिल्लास्थित खाँदबारी नगरपालिकाको खाँदबारी र तुम्लिङटार, धर्मदेवी नगरपालिकाको मुढेशनिस्चरेमा इन्टरनेट प्रबाहको काम सकिएको र चैनपुर नगरपालिकाको नैनपुर बजारमा यो वर्षबाट काम सुरु गरिने छ।
अहिले सुनसरीको इटहरीबाट धनकुटाको हिले हुँदै तेह्रथुमको म्याङदेखि पाँचथरको फिदिम हुँदै झापाको बिर्तामोडबाट पुनः इटहरी सम्मको एक सय जिबिपिएस इन्टरनेट लाइन जडान भइसकेकाले कुनै एक स्थानमा फाइबर क्षति भएता पनि अर्को रुटबाट सेवा सञ्चालन हुने भएकाले चार जिल्लामा इन्टरनेट सेवा दिगो हुने कार्यालयका प्रमुख आचार्यले जानकारी दिए। गोरखापत्रबाट
प्रकाशित: ७ आश्विन २०८०, आईतवार