Technology Khabar ७ आश्विन २०८०, आईतवार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षा विनियमावली, २०७७ संशोधन प्रक्रिया अघि बढाएको छ। प्राधिकरणले विनियमावली संशोधन गर्न सरोकारवालहरुसँग राय, सल्लाह, सुझाव माग गरेको छ।
यस अघि प्राधिकरणले साउन १७ गते पनि सरोकारवालहरुसँग राय, सल्लाह, सुझाव माग गरेको थियो।
विनियमावली संशोधनका लागि सरोकारवालहरुबाट प्रयाप्त मात्रामा राय, सल्लाह, सुझाव प्राप्त नभएकाले प्राधिकरणले असोज ५ गते पुन: सूचना प्रकाशन गर्दै सूचित गरेको हो।
हाल प्राधिकरणले विनियमावली संशोधन प्रक्रिया अघि बढाइरहेको छ। सरोकारवालाहरु लगायत विनियमावलीका व्यवस्थाहरु पालना गर्ने सम्दर्भमा दूरसञ्चार सेवा प्रदाकहरुको कुनै समस्याहरु र विनियमावलीमा संशोधन गर्नुपर्ने भए त्यसको जानकारी गराउन प्राधिकरणले अनुरोध गरेको छ।
असोज ५ गतेको मितिले १४ दिन भित्र बुँदागत रुपमा र संशोधन गर्नुपर्नाको कारण पुष्ट्याई सहित लिखित रुपमा आफ्नो राय, सल्लाह, सुझाव प्राधिकरणमा उपलब्ध गराउन अनुरोध गरिएको छ।
प्राधिकरणले यस विषयमा सेवा प्रदायकहरुबाट थप सुझाब आएमा यसलाई समयानुकुल परिमार्जन र सुधार गर्न सकिने जनाएको छ।
” यसअघि हामीले सुझाब मागेकोमा धेरै थोरै अपरेटरहरूबाट मात्र टिप्पणीहरू र प्रतिक्रियाहरू आएका थिए,” प्राधिकरणका एक अधिकारीले भने, “उनीहरूले समयमै आफ्ना सुझाव वा प्रतिक्रिया पठाउँदैनन्। तर, नीति वा उपनियम स्वीकृत भएपछि, कुनै परामर्श गरेन भनेर गुनासो गर्छन्।”
प्रकाशित: ७ आश्विन २०८०, आईतवार