गोसाईँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

Technology Khabar ३ आश्विन २०८०, बुधबार

गोसाईँकुण्डमा भिस्याट प्रविधिबाट मोबाइल सेवा

काठमाडौं ।

रसुवाको गोसाईकुण्डमा मोबाइल सेवा सञ्चालन भएको छ। गोसाईकुण्डमा पुग्ने भक्तजन र पर्यटकका लागि केन्द्रित गरी नेपाल टेलिकमले भिस्याट प्रविधिबाट गत भदौ १० देखि मोबाइल सेवा सञ्चालनमा ल्याएको हो।

पहिले यो स्थानमा दुई थान टेलिफोन सेवा उपलब्ध भए पनि पछिल्लो समयमा सञ्चालनमा थिएन्। अब यो क्षेत्रमा टुजी मोबाइल सेवा चलाउन सकिने भएको छ।

समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा उपकरण पुऱ्याउन असहज भइराखेको अवस्थामा गोसाईकुण्ड मेलालाई केन्द्रित गरी प्रतिनिधि सभा सदस्य इन्जिनियर मोहन आचार्यको सहयोगमा एक टनभन्दा बढी परिमाणका उपकरण ढुवानी गरिएको थियो। रसुवाको सदरमुकाम धुन्चेदेखि करिव दुई दिन लगाएर सामान ढुवानी गरिएको थियो ।

नेपाल टेलिकमले गोसाईकुण्ड र सूर्यकुण्डलाई लक्षित गरी एउटा र भैरवकुण्ड तथा राजमार्ग क्षेत्रलाई लक्षित गरी अर्को एन्टेना जडान गरेको छ। यसबाट अबका दिनमा तीर्थ जाँदा विरामी परे हेलिकप्टर वा अन्य स्थानबाट मानवीय सहयोग माग्न सहज भएको छ।

उपकरण सञ्चालनका लागि ६ प्यानलको सोलार प्रयोग गरिएको छ। गएको जनैपूर्णिमाको मेलालाई लक्षित गरी यो सेवा सञ्चालनमा ल्याइएको हो। आगामी दिनमा यो क्षेत्रमा माइक्रोवेभ लिंकमार्फत अझ प्रभावकारी सेवा उपलब्ध गराउने कम्पनीको योजना रहेको जनाएको छ।

easy care

प्रकाशित: ३ आश्विन २०८०, बुधबार