Technology Khabar १६ भाद्र २०८०, शनिबार
काठमाडौं ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले पत्रकारितामा नयाँ प्रविधिले सजिलो बनाए पनि त्यसको सदुपयोग र दुरुपयोगको चुनौति थपिएको बताएका छन्।
शनिबार आर्थिक पत्रकार समाज (सेजन) को २५ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री डा महतले राजनीतिक क्षेत्रजस्तै पत्रकारिता जगत पनि परीक्षणको दौडबाट गुज्रिरहेको बताए।
राजनीतिक क्षेत्रबाट राज्य संरचनामा जिम्मेवारीमा पुगेका हामी किन नहौं, कर्मचारी र सुरक्षा निकाय किन नहोस् या निजी क्षेत्र वा पत्रकार जगत किन नहोस् सबै क्षेत्रमा प्रविधिले चुनौति थपेको मन्त्री डा. महतले भने। ‘हामीले पूर्ण व्यवसायका साथ जिम्मेवारीका साथ काम गर्नुको विकल्प छैन’, मन्त्री डा. महतले भने, ‘म अर्थमन्त्रालयमा पुगेकोपछि इमान्दारिताका साथ कसरी देश र जनताका लागि काम गर्ने भन्ने मानसिकताबाट मैले काम गर्ने प्रयास गरेको छु। यसलाई साथीहरुले आत्मसाथ गर्नुभएको छ, कतिपय अवस्थामा प्रश्न पनि गर्नुभएको छ।’
‘संसदभित्र र बाहिर मैले आफ्ना निर्णय आधारसहित प्रतिरक्षा गरेको छु, त्यसलाई सबैले स्वीकार गरेका छन्’ मन्त्री डा. महतले भने, ‘आर्थिक पत्रकार समाजलगायत सञ्चार जगतले अर्थ मन्त्रालय र मेरा विषयमा कुनै प्रश्न छ भने प्रत्यक्षरुपमा चासो, चिन्ता, दुविधा र प्रश्नका लागि म सधैं खुला छु।’
‘देशको अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास मैले गरिरहेको छु’ मन्त्री डा. महतले भने, ‘पत्रकार जगत, बैंकिङ र निजी क्षेत्रबाट पनि म त्यही किसिमको सहयोगको अपेक्षा गर्छु। राज्यबाट पनि तपाईंहरुले सहयोगको अपेक्षा गर्नुभएको छ, त्यो स्वभाविक हो। त्यसको सहजिकरण हुन्छ।
‘पर्यटन क्षेत्रमा सुधार भइरहेको छ, विदेशी मुद्राको सन्चित पर्याप्त छ । आर्थिक गतिविधि अगाडि बढाउनका लागि जे समस्या छ, त्यसलाई सम्बोधन गर्न सरकार लागिरहेको छ । आगामी दिनमा देशको अर्थतन्त्र सकारात्मक दिशामा जानेछ, मन्त्री डा। महतले भन्नुभयो ।
प्रकाशित: १६ भाद्र २०८०, शनिबार