एमडीएमएसमा फोन दर्ता गर्ने थप समय बारे जानकारी नहुँदा दूरसञ्चार प्राधिकरणले गुमायो एक महिना अवधि

Technology Khabar ३ भाद्र २०८०, आईतवार

एमडीएमएसमा फोन दर्ता गर्ने थप समय बारे जानकारी नहुँदा दूरसञ्चार प्राधिकरणले गुमायो एक महिना अवधि
Global IME Bank

काठमाडौं ।

सरकारले बजेटमार्फत घोषणा गरेअनुसार मोबाइल डिभाइस म्यानेजमेन्ट (एमडीएमएस) मा दर्ता हुन बाँकी रहेका फोनहरु दर्ता गर्ने कार्य शुरु भएको छ। तर यसको अवधि असार मसान्तमा नै सकिएपछि के हुने भन्ने बारेमा अझै निश्चित भएको छैन्।

नेपाल दूरसञ्चार प्राधिकरणले सो प्रणालीमा दर्ता हुन बाँकी रहेका फोनहरु दर्ता गर्नका लागि अनलाइन सेवा शुरु गरेको छ। तर असारपछि उक्त सिस्टममा कुनैपनि नयाँ मोबाइल फोनहरु दर्ता हुन सकेका छैनन्।

असार भित्र सबै अपेक्षित फोनहरु दर्ता हुन नसकेपछि सरकारले यसको लागि साउन मसान्तसम्मको अवधि थप गरिदिएपनि सो थप अवधिमा एउटा पनि फोन एमडिएमएसमा दर्ता हुन सकेनन्।

तर सरकारी निकायहरुबिच जानकारी र समन्वयको अभावका कारण सो अवधि गुमेको दूरसञ्चार प्राधिकरणका अधिकारीहरुले गुनासो गरेका छन्।

अर्थ मन्त्रालयले राजपत्रमा साउन ९ गते नै एमडीएमएसमा मोबाइल फोन दर्ता गर्ने समय थपिएको सूचना प्रकाशित गरेपनि नियामक निकाय दूरसञ्चार प्राधिकरणले भने सो बारेमा थाहै पाएन्।

अर्थ मन्त्रालयका सचिवको रामप्रसाद घिमिरेको नाममा प्रकाशित उक्त अतिरिक्तांकको बारेमा दूरसञ्चार प्राधिकरणका अधिकारीहरुले भने थाहै नपाएको बताए। उनीहरुले सो सूचना र समय थप गरिएको बारेमा अर्थ मन्त्रालयले पनि कुनै जानकारी नदिएको जिकिर गरे।

जसले गर्दा सेवाग्राहीहरुले उक्त एक महिनाको थप अवधिमा मोबाइल फोन दर्ता नै गर्न पाएनन्।

टेक्नोलोजीखबरले साउन ३२ गते बिहिबार अन्तिम दिन, उक्त थपिएको समयमा कति ओटा फोन दर्ता भए भन्ने प्रश्न गर्दा प्राधिकरणका अधिकारीहरुले नयाँ सूचनाको बारेमा नै अनभिज्ञता व्यक्त गरे।

“हामीलाई त समय थप गरिएको भन्ने बारेमा जानकारी नै छैन्,” एक अधिकारीले भने, “कुनै पत्र, सूचना वा जानकारी पनि आएको छैन्।”

उनले समय अवधि थप भएको जानकारी भएको भए उक्त अवधिमा ग्राहकहरुको फोन दर्ता गर्न सकिने अवस्था रहेको भएपनि अब त्यो अवसर गुमेको बताए।

त्यसैगरी प्राधिकरणका अर्का एक अधिकारीले एमडीएमएसको अवस्था के हुन्छ भन्ने सरकारमा भरपर्ने बताए। उनले पनि बाँकी फोन दर्ता के हुन्छ भन्ने बारेमा आफूहरुले केहि भन्न नसक्ने उल्लेख गरे।

“सरकारले निर्णय गर्ने हो। अहिले पनि तपाईँले भनेपछि मात्र राजपत्रमा समय थप गरेको जानकारी रहेको हामीले थाहा पायौं,” ती अधिकारीले टेक्नोलोजीखबरसँग भने।

उनले पनि अर्थ मन्त्रालयले सो बारेमा जानकारी नै नदिएको भन्दै फेरी समय थप गरेर प्रयोगमा रहेका तर दर्ता नभएका बाँकी फोन दर्ता गर्ने मौका दिनुपर्ने बताए।

अर्का एक अधिकारीले अर्थ मन्त्रालयको हेलचेक्र्याईँले गर्दा एमडीएमएसमा फोन दर्ता गर्ने एक महिनाको अवसर गुमेको जिकिर गरे।

“अर्थले कम्तिमा प्रणाली संचालन गर्ने प्राधिकरणसँगको समन्वय गरेर राजपत्र प्रकाशित गर्नुपर्थ्यो वा राजपत्रमा आएपछि जानकारी दिनुपर्थ्यो,” उनले गुनासो गरे।

स्मरणरहोस् यसअघि नै सरकारले चालु आवको बजेटमार्फत एमडीएमएसमा सशुल्क दर्ता गर्न सकिनेगरी असारमसान्त सम्मको समय तोकेको थियो।

यसरी फोन दर्ता गर्न एक लाख वा सोभन्दा बढी मूल्य भएको मोबाइल र एप्पलका आईफोनहरुका लागि १०,००० रुपैयाँ, एक लाख भन्दा कम मूल्यका स्मार्टफोनहरुका लागि ३,००० र अन्य मोबाइलहरुका लागि २०० रुपैयाँ दर्ता शुल्क तोकेको छ।

यो पनि हेर्नुस्-

कानूनको अभावले एमडीएमएसमा दर्ता नभए‍पनि मोबाइल फोनहरु बन्द नहुने

साउन मसान्तसम्म अवधि तोकिएको राजपत्र-

बाधा अड्काउ फुकाउ सम्बन्धी सूचना (अरि १७क) (1)
Sajilo Visa

प्रकाशित: ३ भाद्र २०८०, आईतवार

तपाइको प्रतिक्रिया