एनसेलले भन्यो:- ‘टेरामोस सिस्टममा जोडिएको छैन्, ग्राहक गोपनीयता हाम्रो उच्च प्राथमिकतामा’

  • Technology Khabar | २६ श्रावण २०८०, शुक्रबार
एनसेलले भन्यो:- ‘टेरामोस सिस्टममा जोडिएको छैन्, ग्राहक गोपनीयता हाम्रो उच्च प्राथमिकतामा’
एनसेल आजियाटा लिमिटेडको लैनचौरमा रहेको मुख्य कार्यालय । फाइल तस्बिर

काठमाडौं ।

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले टेरामोस वा (टेरामोक्स समेत भनिने) सिस्टमको बारेमा पहिलो पटक आधिकारीकरुपमा बोलेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले हाल टेलिकम अपरेटरहरुको सिस्टममा टेरामोस जडान गर्ने तयारी गरेसँगै विभिन्न समाचारहरु आईरहेको अवस्थामा कम्पनीले आफ्नो धारणा सार्वजनिक गरेको हो।

एनसेलले हालसम्म संचारमाध्यमहरुमा जानकारी आएको जस्तो आफ्नो कम्पनीको सिस्टममा टेरामोस नै नजोडिएको स्पष्ट पारेको छ। कम्पनीले विशेषगरी टेरामक्सको बारेमा आफूहरु स्पष्ट नभएसम्म यो सिस्टममा जडान नगरिने र ग्राहकको डाटामा अनधिकृत पहुँच गर्ने कार्य भएमासमेत रोक्ने जानकारी दिएको छ।

कम्पनीले टेक्नोलोजीखबरलाई दिएको जानकारीअनुसार टेरामोसको बारेमा अध्ययनको निष्कर्षका आधारमा निर्णय गर्ने उल्लेख गरेको छ।

“जबसम्म हामी यो प्रविधिबारे स्पष्ट हुँदैनौं, तबसम्म हाम्रो सिस्टम इन्टिग्रेट हुनेछैन र ग्राहक गोपनीयतासँग सम्बन्धित कुनै पनि डाटा कुनै पनि पक्षलाई दिनेछैनौं,” एनसेलले भनेको छ।

यसका साथै ग्राहकको गोपनीयतामा कम्पनीले नेपालको कानुन पूर्ण पालना गर्दै आएको भन्दै कम्पनीले भनेको छ, “ग्राहक गोपनीयताको सम्मान र संरक्षण हाम्रो व्यवसायको जग हो। हामी यसलाई दायित्वको रूपमा मात्रै नभई हामीमाथि विश्वास र भरोसा कायम राख्ने एक प्रमुख कडीको रूपमा हेर्छौं।”

एनसेलले ग्राहकहरूका डाटा, गोपनीयता र सुरक्षालाई सदैव उच्च प्राथमिकता दिने गरेको भन्दै समाचारहरुमा उल्लेख भएझैं हाम्रा ग्राहकहरूको कुनै पनि डाटामा प्रत्यक्ष वा अप्रत्यक्ष पहुँचका लागि कहिल्यै कसैलाई कानुनविपरीत अनुमति नदिइएको जनाएको छ यसका साथै कुनै पनि निकायलाई त्यस्ता वैयक्तिक डाटामा पहुँच प्रदान गर्न सहमत नभएको स्पष्ट पारेको छ।

“एनसेलले आफ्नो सिस्टमलाई टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स)सँग इन्टिग्रेट/कनेक्ट अर्थात जोडेको छैन । कुनै पनि परिस्थितिमा हामी हाम्रा ग्राहकहरूसँग सम्बन्धित डाटामा सम्झौता गर्दैनौं र कुनै पनि अनधिकृत वा गैरकानुनी उद्देश्यका लागि त्यस्तो जानकारी प्रयोग गर्नबाट रोक्छौं,” एनसेलले स्पष्ट भनेको छ, “हामी टेरामक्सको कार्यान्वयन, इन्टिग्रेसनसँगै यसले कम्पनी र ग्राहकहरूको गोपनीयतामा पार्न सक्ने सम्भावित प्रभावबारे प्राविधिक अध्ययन गरिरहेका छौं । ग्राहक गोपनीयताको रक्षा गर्नु हाम्रो प्रमुख जिम्मेवारी हो।”

यसैबीच एनसेलले एक राष्ट्रिय दैनिक पत्रिका र सोही पत्रिकाको अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारको खण्डन गर्दै टेरामोसका बारेमा आफ्नो धारणा सार्वजनिक गरेको हो। उक्त समाचारले नेपाली जनतालाई भ्रममा पार्न तथ्यलाई गलत ढंगले व्याख्या गरिएको एनसेलको भनाई छ।

प्रकाशित: २६ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार