एमडीएमएस सिस्टमले मोबाइल फोनको मूल्य नबढ्ने

Technology Khabar २८ जेष्ठ २०८०, आईतवार

एमडीएमएस सिस्टमले मोबाइल फोनको मूल्य नबढ्ने

काठमाडौं ।

मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणालीले नेपालमा मोबाइल फोनको मूल्य नबढ्ने बताइएको छ। मोबाइल फोन इम्पोर्ट एशोसिएसन तथा नेपाल मोबाइल वितरक संघले काठमाडौंमा आईतबार आयोजना गरेको अन्तक्रिया तथा पत्रकार सम्मेलन मार्फत उक्त जानकारी गराइएको हो।

‘संसारभरका मोबाइल फोन उत्पादक कम्पनीहरुले नै फोनको मूल्य र व्यापारीको मार्जिन आफै निर्धारण गर्छन्,’  मोबाइल फोन ईम्पोर्ट एशोसिएसनका अध्यक्ष दिपक मल्होत्राले भने, ‘एमडीएमएस लागू हुने वित्तिकै मोबाइल फोनको मूल्य बढ्दैन।’

त्यसैले नेपालमा पनि एमडीएमएसको प्रभाव स्वरुप नेपालमा मोबाइलको मूल्य नबढ्ने तर्फ उपभोक्तालाई निर्धक्क रहन मल्होत्राले आग्रह गरे।

नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि कार्यान्वयन हुने गरि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सञ्चालनमा ल्याएको छ। एमडीएमएस प्रणाली सञ्चालनमा आएसँगै विद्यमान दर्ता प्रक्रिया, कानुनी तथा राजश्व सुविधा अन्तर्गत विदेशबाट व्यक्तिगत प्रयोजनका लागि ल्याइएका सेटहरुमा सहजिकरण, सुरक्षा क्षेत्रमा यसको प्रभावकारीता लगायत एमडीएमएस सफ्टवेरका महत्वपूर्ण विषयमा गलत भ्रम चिर्दै सबैलाई सही सूचना दिने उद्देश्यले उक्त कार्यक्रम आयोजना भएको हो।

कार्यक्रममा बोल्दै मोबाइल फोन ईम्पोर्ट एशोसिएसनका अध्यक्ष मल्होत्राले मोबाइल फोनको अनाधिकृत कालोबजारी रोक्न  एमडीएमएस प्रणाली सञ्चालनमा ल्याइएको बताए। मानव जीवनमा गाँस, वास र कपास पछिको  महत्वपूण वस्तुको रुपमा मोबाइल फोनको व्यापक प्रयोग हुँदै आएसँगै नेपालमा मोबाइल सेटको गैरकानुनी आयात तथा विक्री वितरण बढ्दै गएको अध्यक्ष मल्होत्राको भनाई छ।

नेपालमा वार्षिक ५० अर्ब रुपैयाँ बराबरको वैधानिक रुपमा कर तिरेर मोबाइल फोन आयात हुने गरेको तर झन्डै १५ अर्ब रुपैयाँको हाराहारीमा भन्सार छलेर फोनहरु नेपालमा भित्रिने गरेका छन्। यसबाट उत्पन्न भएका तथा हुनसक्ने नोक्सानी रोक्न एमडीएमएस प्रणली सञ्चालनमा आएको उनको दाबी छ।

त्यस्तै मोबाइल फोन इम्पमेर्टस एशोसिएसनका उपाध्यक्ष सञ्जय अग्रवालले एमडीएमएस प्रणालीको उद्देश्य केवल अनाधिकृत रुपमा भित्रिएका मोबाइल फोनको कालोबजारी रोक्न तथा मोबाइल फोनको प्रयोगलाई थप सुरक्षीत ,व्यवस्थित गर्न तथा हराएका मोबाइल सेटको ट्रयाकिङ / ब्लकिङ गर्न मात्रै एमडीएमएस सञ्चालनमा आएको भन्दै यसलाई अन्यथा नलिन आग्रह गरेका छन्। एमडीएमएस प्रणालीको बारेमा सबै सकारात्मक हुनुपर्ने उनको धारणा छ।

नेपालमा हाल प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ५० हजार भन्दा बढी नेपालीले मोबाइल फोन व्यवसायबाट रोजगारी प्राप्त गर्दै आएको कार्यक्रममा जानकारी दिइएको छ।त्यस्तै  सरकारले मोबाइल फोनको कारोबारबाट मात्रै विभिन्न शीर्षकमा आठ अर्बभन्दा बढी राजश्व सङ्कलन गर्दै आएको समेत कार्यक्रममा बताइएको छ।

एमडीएमएस प्रणालीको कार्यान्वयनसँगै सरकारको वार्षिक तीनदेखि चार अर्ब रुपैयाँ बराबर थप राजश्व बढ्न सक्ने आँकलन गरिएको छ। त्यस्तै उक्त प्रणालीको कार्यान्वयनले हरेक आईएमईआई प्रयोगकर्ताको विवरण नेपाल दूरसञ्चार प्राधिकरणसँग रहने भएकाले नेपाल प्रहरीलाई अनुसन्धानमा समेत सहयोग पुग्ने दाबी गरिएको छ।

easy care

प्रकाशित: २८ जेष्ठ २०८०, आईतवार