फेरारीको इलेक्ट्रिक सुपरकारहरूको लागि नयाँ प्लान्ट अर्को वर्ष तयार हुने

Technology Khabar २६ जेष्ठ २०८०, शुक्रबार

फेरारीको इलेक्ट्रिक सुपरकारहरूको लागि नयाँ प्लान्ट अर्को वर्ष तयार हुने

काठमाडौं ।

लक्जरी अटोमेकर फेरारीले ७० वर्षभन्दा बढी समयदेखि हाई–पर्फरमेन्स स्पोर्टस कारहरू उत्पादन गर्दै आएको छ। साथै कम्पनी आफ्नो आईकनिक डिजाइन, पावरफूल इन्जिन र रेसिङ्ग हेरिटेजको लागि परिचित रहेको छ।

हालैका वर्षहरूमा फेरारीले २०२५ मा आफ्नो पहिलो पूर्ण रूपमा विद्युतीय सवारीसाधन लन्च गर्ने योजनासहित आफूलाई थप विद्युतीय भविष्यतर्फ ट्रान्जिसन गर्न थालेको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

इलेक्ट्रिक सुपरकारहरूको लागि नयाँ प्लान्ट अर्को वर्ष तयार हुने

फेरारीले इटालीको मारानेलोमा इलेक्ट्रिक सुपरकार्स र अर्को पुस्ताको पावरट्रेन्स उत्पादन गर्नको लागि नयाँ कारखाना निर्माण गरिरहेको बताइएको छ। आगामी वर्ष २०२४ को जुन महिनामा खोलिने योजनामा रहेको उक्त प्लान्टमा इलेक्ट्रिक (विद्युतीय) र नन्–इलेक्ट्रिक भेहिकल (गैर विद्युतीय सवारी साधन) बनाउनका लागि लचिलोपनसहितको एसेम्बली लाइन हुनेछ।

साथै उक्त नयाँ कारखाना फेरारीको विद्युतीकरणको ट्रान्जिसनमा एउटा महत्वपूर्ण कोसेढुङ्गा भएको उल्लेख छ। कम्पनीले लामो समयदेखि विद्युतीय सवारीसाधनलाई अँगाल्न नचाहेको भए तापनि ग्राहक र लगानीकर्ताबाट त्यसो गर्न दबाब बढेको छ।

हालैका वर्षहरूमा फेरारीले इलेक्ट्रिक भेहिकल टेक्नोलोजी (प्रविधि) मा ठूलो लगानी गर्न थालेको र नयाँ कारखानाले कम्पनी इलेक्ट्रिक कारहरूको भविष्यप्रति गम्भीर भएको भन्ने सङ्केत गरेको उल्लेख छ। साथै उक्त नयाँ कारखानाले वार्षिक १५ हजारसम्म विद्युतीय कार उत्पादन गर्ने क्षमता राखको उल्लेख गरिएको छ।

कारखानाको उक्त उत्पादन संख्या निकै नै महत्त्वपूर्ण भएको हुनाले फेरारीले इलेक्ट्रिक कार बजारमा प्रमुख भूमिका खेल्ने योजना बनाएको भनी सुझाव दिएको बताइएको छ।

त्यसैगरी प्लान्टलाई हाइब्रिड र प्लग–इन हाइब्रिड सिस्टम्सका साथै नेक्स्ट जेनेरेसन पावरट्रेन्स उत्पादन गर्न पनि प्रयोग गरिनेछ। साथै यसले फेरारीलाई आफ्ना ग्राहकहरूबाट हाइब्रिड र प्लग–इन हाइब्रिड कारहरूको बढ्दो माग पूरा गर्न मद्दत गर्ने उल्लेख छ।

नयाँ कारखानाको निर्माण भनेको विद्युतीय कारको भविष्यप्रति फेरारीको प्रतिबद्धताको संकेत हो। अटोमोटिभ उद्योगको भविष्य विद्युतीय कारमा निहित छ भन्ने कुरामा कम्पनी स्पष्टरूपमा सचेत रहेको र बजारमा आफू बलियो खेलाडीको रुपमा स्थापित हुने सुनिश्चित गर्नको लागि भनेर कम्पनीले आवश्यक लगानी गरिरहेको बताईएको छ। नयाँ कारखाना फेरारीको लागि एक महत्त्वपूर्ण कदम भएको र कम्पनीले इलेक्ट्रिक कार बजारमा कस्तो प्रदर्शन गर्छ भनेर हेर्न रोचक हुने उल्लेख गरिएको छ।

त्यसैगरी नयाँ कारखानाको अतिरिक्त फेरारीले इलेक्ट्रिक कार टेक्नोलोजीका अन्य क्षेत्रमा पनि ठूलो लगानी गरिरहेको छ। कम्पनीले आफ्नै ब्याट्री टेक्नोलोजीको विकास गरिरहेको र आफ्नो इलेक्ट्रिक कारहरूको प्रदर्शन र दक्षता सुधार गर्न नयाँ सफ्टवेयरमा काम गरिरहेको उल्लेख छ।

फेरारीले चार्जिङ इन्फ्रास्ट्रक्चरमा पनि लगानी गरिरहेको र कम्पनीले युरोपभर चार्जिङ स्टेशनहरूको नेटवर्क निर्माण गर्नको लागि साझेदारहरूसँग मिलेर काम गरिरहेको बताइएको छ।

easy care

प्रकाशित: २६ जेष्ठ २०८०, शुक्रबार