बागलुङको रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

Technology Khabar २१ जेष्ठ २०८०, आईतवार

बागलुङको रायडाँडामा टेलिकमको सेवा पुगेपछि स्थानीय हर्षित

काठमाडौं ।

बागलुङको रायडाँडामा नागरिक केहि समय पहिले नेपाल टेलिकमको नेटवर्कमार्फत कुराकानी गर्न डाँडाकाँडा धाउनु पर्ने बाध्यता थियो।

नेटवर्क सिग्नलको सहज पहुँच नहुँदा कुरा गर्दा काटिने, मोवाईलमा सिग्नल कमजोर भएर आउने जाने गर्ने गर्थ्यो, डाटा चल्दैनथ्यो जसका कारण नागरिकले सहज मोवाईल सेवा पाएका थिएनन। यहाँका मानिसहरूलाई सूचना आदान प्रदान गर्न निकै कठिनाई झेल्नु परेको थियो।

बागलुङ नगरपालिका वडा नं ११ रायडाँडामा नेपाल टेलिकमले मोवाईल सेवा विस्तार गरेसँगै यो समस्याको समाधान भएको छ। टेलिकमले बिटिएस टावर निर्माण गरि सेवा सञ्चालनमा ल्याईएको जनाएको छ।

सेवा सुचारु भएपछि स्थानीय बासिन्दाले गुणस्तरीय भ्वाइस र डाटा सेवा पाएको नेपाल टेलिकम बागलुङका प्रमुख तथा वरिष्ठ इञ्जिनीयर केशव शर्माले बताए। शर्माकाअनुसार यसअघि त्यहाँ प्रभावकारी मोवाईल सेवा नहुँदा नागरिकलाई असहज भएको थियो।

भौगोलिक विकटताका कारण छिमेकी वडाका टावरको सिग्नल पहुँच घर तथा कार्यालयमा निकै कमजोर थियो। टावर सञ्चालनमा आएपछि त्यहाँका झण्डै ३ सय घरधुरीमा मोवाइलको भ्वाइस र डाटा दुवै सेवा सहज भएको छ। रायडाँडा, भेडिखोर, बालौटे, राम्तोला लगायतका बस्ती टेलिकमको मोबाईल सेवाबाट प्रत्यक्ष लाभान्वित भएका छन्।

“पहिले देखि नै मोवाईल सेवाका लागि टेलिकमसँग माग गरिरहेका थियौँ, अहिले टावर बनेर सेवा सुरु भइसक्यो, हामी स्थानिय खुशी छौँ,” स्थानिय फर्स बहादुर थापा मगरले भने।

मोवाईलमा इन्टरनेटको लागि तत्काललाई थ्रिजी सेवा सञ्चालनमा रहेको छ । उक्त टावरमा छिट्टै निकट भविष्यमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने टेलिकमको योजना छ।

बागलुङ नगरपालिका वडा नं ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले मोवाइल सेवाले स्थानीयवासीको दैनिकी सहज बनेको बताए। ग्रामीण क्षेत्रमा टेलिकमको मोवाईल सेवाले सञ्चारको क्षेत्रमा फडको मारेको वडा अध्यक्ष गौतमको भनाई छ।

easy care

प्रकाशित: २१ जेष्ठ २०८०, आईतवार