Technology Khabar १७ जेष्ठ २०८०, बुधबार
काठमाडौं ।
स्मार्ट टेलिकम प्रालिले रिचार्ज कार्ड व्यवसायीको रकम भुक्तानीको लागि पहल गर्ने भएको छ।
स्मार्ट टेलिकमले उपलब्ध गराएको करिब ५२ करोड रुपैयाँ बराबरको रिचार्ज कार्ड सिमकार्डको रकम फसेको भन्दै आन्दोलनमा रहेका रिचार्ज कार्ड व्यवसायीहरुसँग कम्पनी संचालक र व्यवस्थापनले वार्ता तथा सहमति गरेको छ।
ललितपुरस्थित स्मार्ट टेलिकमको मुख्यालयमा रिचार्ज कार्ड व्यवसायीहरुसँगको सहमतिमा रिचार्ज कार्डको तथ्यांक संकलन गर्ने र रकम भुक्तानीको लागि पहल गर्ने निर्णय भएको हो।
उक्त छलफलमा स्मार्ट टेलिकमका अधिकारीहरुसहित रिचार्ज कार्ड व्यवसायी समूहका दुबैपक्षिय व्यक्तिहरुबीच २ बुँदे सहमति समेत भएको छ।
सहमतिअनुसार बितरकहरुले स्मार्ट टेलिकमसँग लिएको रिचार्ज कार्ड र सिम कार्डहरुको विवरण उपलब्ध गराउने तथा स्मार्ट टेलिकमले उक्त विवरणलाई अभिलेख गर्ने निर्णय गरिएको छ।
यसका साथै बितरकहरुको रिचार्ज कार्ड र सिम कार्ड बापतको रकम स्मार्ट टेलिकमले व्यवस्थापन गर्ने सम्बन्धमा मिति जेठ १९ गते नेपाल दुरसञ्चार प्राधिकरणको रोहबरमा छलफल गरी प्रक्रिया निर्धारण गर्नेसमेत निर्णय र सहमति भएको छ।
यसको लागि पछि छुट्दै बैठक र संचालक समिती बसी भुक्तानी सम्बन्धी संचालक समितिको निर्णयका आधारमा भुक्तानीको विषयमा निर्णय लिईने बताईएको छ।
उक्त बैठकमा स्मार्टको तर्फबाट अध्यक्ष सर्वेश जोशी, सीओओ सजिनराज भण्डारी, फाइनान्स हेड आत्माराम थापा, बजार व्यवस्थापक अधिकृत गोमेश पाठक, र तर्क भट्ट तथा स्मार्टका तर्फका वकील विराज ध्वज थापाले सहमतिमा हस्ताक्षर गरेका छन्।
आन्दोलनरत रिचार्ज कार्ड व्यवसायीहरुको तर्फबाट विमल के.सी., पदम बहादुर श्रेष्ठ, रविन पटेल, पवन सापकोटा, बिन्दा लम्साल, गोविन्द घिमिरेलगायत उपस्थित रहेका थिए।

आफूहरुको व्यक्तिगत रकम फसेपछि समस्यामा पर्दै आएका व्यवसायीहरुले नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरण र स्मार्ट टेलिकममा धर्ना तथा दबाब दिँदै आएका छन्।
तर दुबै तर्फबाट रिचार्ज कार्ड व्यवसायीहरुको समस्या समाधान गर्न कुनै पहल भएको नदेखिएको उनीहरुले बताउँदै आएका छन्।
यस सहमतिपछि र दूरसञ्चार प्राधिकरणसँग बैठक केहि आशा पलाएको उनीहरुले बताए।
उनीहरुले सहमति गर्न नै निकै लामो समयसम्म छलफल भएको र चर्को दबाब दिनुपरेको बताए।
यस्तो छ सहमति-

यो पनि हेर्नुस्-
स्मार्ट टेलिकमका लगानीकर्ताको घर घेराउ गर्दै रिचार्ज कार्ड बिक्रेता
प्रकाशित: १७ जेष्ठ २०८०, बुधबार