Technology Khabar ३० बैशाख २०८०, शनिबार
काठमाडौं ।
नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने भएको छ। दूरसञ्चार क्षेत्रको नियामक निकाय दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार २०८० जेठ १ गते सोमबारदेखि एमडीएमएस लागू गर्ने जनाएको हो।
प्राधिकरणले सूचनामार्फत नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न २०८० जेष्ठ ०१ गते देखि एमडीएमएस प्रणाली लागु गरिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराएको छ।
दूरसञ्चार प्राधिकरणकाअनुसार व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाईल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको छ।
यस बाहेकका मोबाइल फोनहरुको लागि भने नेपाल सरकारको “निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७” बमोजिम व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वंयले तोकिए बमोजिमका कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको उल्लेख गरेको छ।
यसको लागि सम्बन्धित व्यक्तिले राहदानी वा नागरिकताका साथमा डिपार्चर तथा अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ्ग पास पेश गर्नुपर्ने छ।
यसका साथै नियामक निकाय प्राधिकरणले भनेको छ, “नेपाल भित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणाली (mdms.nta.gov.np) मा दर्ता भए/नभएको एकिन गरी मात्र खरिद गर्नु हुन जानकारी गराइन्छ। साथै मोबाइल आयातकर्ता र विक्रेताहरुले मोबाइल आयात गर्नु अघि अनिवार्यरुपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइल मात्र विक्री वितरण गर्नु हुन जानकारी गराइन्छ।”
यस सम्बन्धी थप जानकारीका लागि भन्सार विभागबाट बैशाख २९ गते जारी भएको “यात्रुहरुले आफ्नो साथमा महसुल सुविधामा ल्याउन पाउने मोबाइल फोन” सम्बन्धी सूचना हेर्न समेत सुझाब दिएको छ।
के हो मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस)?
करिब एक अर्ब रुपैयाँ लगानीमा तयार गर्न लागिएको एमडिएमएसले मुलुकभित्र रहेका प्रत्येक मोबाइल ह्यान्डसेटको प्रयोग, विदेशबाट आयात हुने तथा बजारमा रहेका मोबाइल ह्यान्डसेटलाई व्यवस्थित गर्नेछ।
यसले मोबाइल सेटको परिचय दिने आइएमइआई (IMEI) नम्बरको दर्ता गरेर सम्पूर्ण मोबाइल ह्यान्ड सेटको जानकारी संकलन गर्नेछ।
यो प्रणालीले कम्तीमा १० करोड आईएमईआई नम्बर दर्ता गर्न सकिनेछ। यो प्रणालीमा आईएमईआई नम्बर राखिएका हरेक डिभाइसहरुको दर्ता र रेकर्ड हुनेछ।
यो प्रणालीमा दर्ता भएका आईएमईआईको आधारमा तीनवटा सूची बनाईने छ। जसमा ह्वाईट लिस्ट, ग्रे लिस्ट र ब्ल्याक लिस्ट हुनेछ। ह्वाईट लिस्टमा हुने मोबाइल ह्यान्डसेट प्रयोग गर्न पाईने र वैधानिक हुनेछन्।
त्यस्तै ब्लाक लिस्टमा चोरी भएका, हराएका, अवैध भएका नम्बरहरु राखिने छ भने दर्ता भएका तर प्रयोग गर्न नमिल्ने, उजूरी परेर छानबिन हुँदै गरेका तथा शंकास्पद नम्बरहरु ग्रे लिस्टमा रहनेछन्।
सिस्टम संचालनमा आएपछि ह्वाइट लिस्टमा राखिएका आइएमइआई नम्बरको ह्यान्डसेट मात्र दूरसञ्चार सेवा प्रदायकका नेटवर्कमा प्रयोग गर्न सकिनेछ।
हराएका, चोरी भएका मोबाइल ह्यान्डसेट ट्र्याकिङ र ब्लक गर्न सकिने प्राधिकरणको भनाई छ।
प्रकाशित: ३० बैशाख २०८०, शनिबार