अब ओटीटी सेवा सञ्चालनको लागि पनि लाइसेन्स !

Technology Khabar ११ बैशाख २०८०, सोमबार

अब ओटीटी सेवा सञ्चालनको लागि पनि लाइसेन्स !

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले ओटीटी (ओभर द टप) सेवामा पनि लाइसेन्सको व्यवस्था गर्न खोजेको छ। ओटीटी सेवा नियमनका लागि प्राधिकरणले तयार गरेको ‘ओटीटी रेगुलेटरी फ्रेमवर्क’ मस्यौदामार्फत अनुमतिको व्यवस्था गर्न खोजिएको देखिएको छ।

मस्यौदा अनुसार नेपालमा ओटीटी सम्बन्धि सेवा उपलब्ध गराउनका लागि सेवा प्रदायकहरु नेपालमा दर्ता हुनु पर्नेछ। यसका साथै दूरसञ्चार प्राधिकरणमा आवेदन दिनका लागि विदेशी ओटीटी सेवा प्रदायकले कम्पनी ऐन २००६ अनुसार नेपालमा शाखा कार्यालय दर्ता गर्नुपर्ने हुन्छ। सबै ओटीटी सेवा प्रदायकले यो प्रक्रिया पुरा गर्नु पर्नेछ।

यस बाहेक विदेशी ओटीटी सेवा प्रदायकले वैकल्पिकरुपमा मध्यस्थकर्ता वा सरल भाषामा स्थानीय एजेन्ट नियुक्त गर्न सक्नेछन्। यस्तो मध्यस्थकर्ता नेपालको कम्पनी ऐन अनुसार दर्ता भएको हुनुपर्नेछ।

यस्तै ओटीटी सेवा प्रदान गर्न चाहने कुनै व्यक्तिले प्राधिकरणमा निवेदन दिनुपर्नुका साथै आफ्नो कानुनी स्थिति र कस्तो सेवा उपलब्ध गराउने हो भन्ने विवरण पनि उल्लेख गर्नुपर्ने व्यवस्था मस्यौदामा राखिएको छ।

प्राधिकरणले सेवाको कानुनी र प्राविधिक पक्ष अध्ययन गरेर मात्र ओटीटी सेवा नेपालमा सञ्चालन गर्ने अनुमति प्रदान गर्न सक्ने अधिकार हुनेछ।

यसैगरी ओटीटी प्रदायकहरूले उपभोक्ताहरूसँग सम्बन्धित नेटवर्क सुरक्षा र डाटा सुरक्षा मुद्दाहरू सहित सुरक्षा र गोपनीयता कायम गर्नेुपर्नेछ भने नेपालको प्रचलित कानून अनुसार, ओटीटी प्रदायकहरूले उपभोक्ता सम्बन्धी जानकारी आधिकारिक एजेन्सीलाई कायम राख्न र उपलब्ध गराउनु पर्छ।

यसका साथै ओटीटी प्रदायकहरूलाई नेपालको ग्राहकहरूलाई छिटो र सुरक्षित सेवाहरू उपलब्ध गराउने उद्देश्यले नेपाल भित्र कन्टेन्ट डेलिभरी नेटवर्क (सीडीएन) स्थापना गर्न प्रोत्साहन गरिने मस्यौदामा भनिएको छ।

ओटीटी रेगुलेटोरी फ्रेमवर्क मार्फत प्राधिकरणले नेपालमा ओटीटी सेवा दर्ता प्रक्रिया र आवश्यकता निर्धारण गर्ने, ओटीटी प्रदायक र टीएसपी (दूरसञ्चार सेवा प्रदायक)बीच आपसी सहयोगलाई प्रोत्सहन र प्रबर्द्धन गर्ने, सेवा प्रयोग डाटा सुरक्षा, उपभोक्ताको अधिकारको रक्षा, गोपनीयता तथा सेवा प्रबर्द्धन गर्दा राष्ट्रिय हितको रक्षा गर्ने लक्ष्य राखेको जनाएको छ।

OTT Regulatory Framework (Draft)
easy care

प्रकाशित: ११ बैशाख २०८०, सोमबार