Technology Khabar ६ बैशाख २०८०, बुधबार
काठमाडौं ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोले फिसिङबाट बच्न आमसर्वसाधारणसँग अनुरोध गरेको छ। साइबर ब्यूरोले बुधबार एक सूचना प्रकाशित गर्दै फिसिङबाट बच्न अनुरोध गरेको छ।
फिसिङ भनेको साइबर आक्रमणको एक प्रकार हो। जसमा अपराधीहरूले व्यक्ति तथा संस्था लगायतका निकायहरूको लग–इन विवरण, क्रेडिट कार्ड नम्बरहरू, वा व्यक्तिगत पहिचानमूलक जानकारी जस्ता संवेदनशील विवरणहरू छलकपट पूर्ण तवरले विभिन्न सामाजिक संजाल, अनलाईन, लगायतका प्रविधिको दुरुपयोग गरी इमेल, टेक्स्ट सन्देश, फोन कल आदि मार्फत खुलासा गर्न प्रोत्साहित गर्ने उद्देश्यले बैंक वा ई–कमर्स साइट जस्ता वैध संस्थाको जस्तै रूपमा आफुलाई प्रस्तुत गर्ने गर्छन्।
फिसिङ आक्रमणहरूमा लिङ्क वा अन्य अट्याचमेन्ट पनि समावेश हुन सक्छ। त्यसमा क्लिक गर्दा, कम्प्युटर वा मोवाइल जस्ता डिभाइसमा आफै मालवेयर डाउनलोड हुन पुग्छ र अपराधीलाई पीडितको संवेदनशील जानकारीमा पहुँच प्रदान गर्न मद्दत गर्दछ।
पछिल्लो समयमा यस प्रकारका फिसिङ आक्रमणका घट्नाहरूको उजुरी बढ्दै गएको पाइएकोले शंकास्पद तथा अवांछित लिङ्क वा अट्याचमेन्टहरू क्लिक गर्नु अगाडि सजग हुनुका साथै दोहोरो सम्वाद वा फरवार्ड गर्ने जस्ता क्रियाकलाप समेत नगर्न हुन नेपाल प्रहरी साइबर ब्यूरोले अनुरोध गरेको छ।
प्रकाशित: ६ बैशाख २०८०, बुधबार