सुरक्षण मुद्रण छापाखाना जडानको खरिद प्रक्रिया शुरु नगरी २ अर्ब १५ करोड खर्च

Technology Khabar ३ बैशाख २०८०, आईतवार

सुरक्षण मुद्रण छापाखाना जडानको खरिद प्रक्रिया शुरु नगरी २ अर्ब १५ करोड खर्च
सुरक्षण मुद्रणको अवलोकन गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा। फाइल तस्विर

काठमाडौं ।

सरकारले सुरक्षण मुद्रण छापाखाना जडानको खरिद प्रक्रिया शुरु नगरी २ अर्ब १५ करोड १८ लाख ५८ हजार रुपैयाँ खर्च गरेको छ। बिहीबार सार्वजनिक महालेखापरीक्षकको ६० औं प्रतिवेदन अनुसार मुद्रण छापाखाना जडानको खरिद प्रक्रिया नै नगरी प्रत्येक वर्ष अन्य कार्यमा खर्च गरेकाले यो औचित्वपूर्ण देखिएको छैन।

छापाखानाको निर्माण कार्य आर्थिक वर्ष २०७४/७५ देखि शुरु भएकोमा आर्थिक वर्ष २०७८/७९ सम्म २ अर्ब १५ करोड १८ लाख ५८ हजार रुपैयाँ खर्च गरिएको हो।

सुरक्षण मुद्रणसम्बन्धी उपकरण, प्रेस मेसिन, औजार प्रणाली तथा अन्य आवश्यक सामग्री जी.टु.जी. विधिबाट खरिद गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०७६ कार्तिक २० मा सैद्धान्तिक स्वीकृति दिएको थियो। प्रेस मेसिनलगायतका उपकरण खरिदको लागि प्राविधिक समितिले तयार गरेको ३३ अर्ब रुपैयाँको लागत अनुमान २०७८ असार ३० मा स्वीकृत भएको देखिन्छ।

सो अगावै उपकरण खरिद सम्बन्धमा माग गरेको प्रस्तावअनुसार फ्रान्स सरकार र जर्मन सरकारतर्फबाट प्रस्ताव प्राप्त भएको थियो।

दुवै प्रस्ताव नेपालको आवश्यकतानुसार हुनसक्ने देखिएकोले कुनै एक देशको प्रस्ताव स्वीकृत गर्न नेपाल सरकार (मन्त्रिपरिषद्) मा पेस भएकोमा मन्त्रिपरिषदबाट २०७६ पुस ७ मा उक्त दुवै देशको प्रस्तावमध्ये उपयुक्तताको आधारमा मन्त्रालयले नै स्वीकृत गरी सोझै खरिद गर्नसक्ने निर्णय भएको थियो।

मन्त्रालयबाट सोअनुसार निर्णय नगरी पुनः मन्त्रिपरिषदमा पेस भएकोमा २०७७ बैशाख २ को निर्णयअनुसार जीटुजी विधिबाट सोझै खरिद गर्नेनिर्णय कायम नराख्ने र खुला प्रतिस्पर्धात्मक विधिद्वारा खरिद गर्न मन्त्रालयले प्रक्रिया अघि बढाउने निर्णय गरी निर्देशन दिएको छ।

प्रकाशित: ३ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया