Technology Khabar २३ फाल्गुन २०७९, मंगलवार
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरण (नेविप्रा) को विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक इन्टरनेट तथा केबलका तारहरु नहटाएमा काटिदिने चेतावनी दिएको छ।
यसअघि पनि विद्युत प्राधिकरण कात्तिक १५ गते समयावधी नै तोकेर तार व्यवस्थापन गर्न भनेकोमा सोहीअनुसार फेरी सूचनामार्फत तार काटदिने चेतावनी दिएको छ। तर यस पटकको सूचनामा विद्युत प्राधिकरणले कुनै समयावधि तोकेको छैन्।
विद्युत प्राधिकरणको बितरण तथा ग्राहक सेवा निर्देशनालयले जारी गरेको सूचनामा ८ बुँदे निर्देशनसहित दूरसञ्चार, केवल टि.भी. तथा इन्टरनेट सेवा प्रदायकहरूलाई आफ्नो तारहरु व्यवस्थापन गर्न भनेको छ भने सो अनुसार नभएमा तार आफैंले हटाउने चेतावनी दिएको छ।
“साथै तोकिएको समयमा सुधार कार्य नगर्ने/नगराउने सेवा प्रदायकहरूको केबल लगायतका उपकरणहरू ने.वि.प्रा. ऐन २०४९ को दफा १९ (ख) र दफा १९ (छ) बमोजिम नेविप्रा आफैँले हटाउने हुँदा यसबाट हुनसक्ने नोक्सानीका लागि इन्टरनेट/केवल टी.भी./दूरसञ्चार सेवा प्रदायक स्वयं जिम्मेवार हुने समेत जानकारी गराइन्छ,” सूचनामा उल्लेख छ।
नेपाल विद्युत प्राधिकरण (नेविप्रा)ले हालसम्म सेवा प्रदायक संस्थाहरूबाट सूचना बमोजिमको व्यवस्थापन कार्य उल्लेखनीय रूपमा नभएको र पछिल्लो समयमा आफ्नो क्षेत्रभित्र रहेका अव्यवस्थित तार हटाउन स्थानीय निकायहरू समेत अग्रसर भएको सन्दर्भमा शहरी सुन्दरता कायम राख्न तथा आगलागी लगायत विद्युतीय दुर्घटना न्यूनीकरण गरी भरपर्दो विद्युत सेवा उपलब्ध गराउन सबै दूरसञ्चार, केवल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूलाई निजहरूको संरचना नियमानुसार निर्माण व्यवस्थापन गर्नु/गराउन भनेको छ।
निर्देशनसहितको सूचनामा भनिएको छ:-
१. अप्टिकल फाइबर केबल/कोक्सियल केबल र विद्युत लाइन तथा भू-सतहको न्यूनतम भर्टिकल क्लियरेन्स निम्नानुसार कायम गर्नुपर्ने ।
(क) अप्टिकल फाइबर केबल/कोक्सियल केबल र विद्युतीय लाइन बीचको न्यूनतम दूरी: | (ख) अप्टिकल फाइबर केबल/कोक्सियल केबल र जमिन सतह बीचको न्यूनतम दूरी: |
४०० भोल्ट लाइन (नाङ्गो तार) : ८० से.मि. | पैदल मार्गः २.४ मि. |
५०० भोल्ट लाइन (इन्सुलेटेड तार) : ३० से.मि. | सडक मार्गः ४.४ मि. |
११ के.भी.-३३ के.भी. लाइन : २.० मि. | |
अन्य ४०० भोल्टका उपकरणहरू : ७५ से.मि. |
२. राउटर, रिपिटर, एक्ट्र्याक्टर, अप्टिकल फाइबर डिस्ट्रिब्यूसन बक्स ज्वाइन्ट क्लोजर उपकरणहरू पोलको एउटै मात्र साइडमा क्रमैसँग मिलाएर नझर्ने, नहल्लिने गरी जडान गर्ने र सफासँग क्लिप, ब्याण्ड प्रयोग गरी वायरिङ्ग गर्ने ।
३. प्रयोगमा नरहेको सम्पूर्ण अप्टिकल फाइबर केबल, कोक्सियल केबल तथा अन्य उपकरणहरू तत्काल हटाउने ।
४. नेविप्राको पोलहरूमा क्वाइल/लूप बनाएर राखिएको अप्टिकल फाइबर केबल कोक्सियल केबल तत्काल हटाउने तथा नयाँ केबलहरू तान्दा समेत अतिरिक्त लम्बाइको केबललाई क्वाइल/लूप बनाई पोलमा झुण्ड्याउने कार्य नगर्ने/नगराउने।
५. सेवा प्रदायकहरूले निजहरूको केबल सजिलोसँग छुट्याउन सक्ने गरी प्रत्येक पोलमा केबल ट्याग लगाउने र पोलमा जडित उपकरणहरूमा समेत उपयुक्त मार्किङ्ग गर्ने ।
६. बुँदा १ मा उल्लेखित न्यूनतम भर्टिकल क्लियरेन्सेज कायम नगरी ड्रप केबल/सर्भिस केबलमार्फत ग्राहकलाई कनेक्सन नदिने।
७. सम्भव भएसम्म धेरै कोर भएको केवल तानी बहुसंख्यक सेवा प्रदायकले सहप्रयोग गर्ने गरी सेवा विस्तार गर्ने।
८. अप्टिकल फाइबर केबल, कोक्सियल केबल सडक वारपार नतान्ने र तानिएको केवलहरू हटाउने।
प्रकाशित: २३ फाल्गुन २०७९, मंगलवार