नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या, समाधान गर्न काम गरिरहेको कम्पनीको दाबी

  • Technology Khabar | ४ फाल्गुन २०७९, बिहीबार
नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या, समाधान गर्न काम गरिरहेको कम्पनीको दाबी

काठमाडौं ।

नेपाल टेलिकमको पोस्टपेड बिलिङ्गमा समस्या आएसँगै ग्राहकहरुले समाजिक संजालमार्फत समस्याको बारेमा चर्को गुनासो गरेका छन्।

उनीहरुले आफ्नो रकम काटिएको र रिचार्ज गर्दा पनि नदेखिएको भन्दै सरकारी दूरसञ्चार कम्पनीको सेवाको गुणस्तरमा प्रश्न उठाएका छन्।

उता कम्पनीले भने पोस्टपेड बिलिङ्गमा आएको समस्या आज दिनभरीमा समाधान गरिने बताएको छ।

टेलिकमको हिजो भएको नेटवर्क समस्यापछि आज देखिएको पोस्टपेड बिलिङ्गको समस्या समाधान गर्न प्राविधिकहरुले काम गरिरहेको नेपाल टेलिकमका प्रवक्त शोभन अधिकारीले जानकारी दिए।

आज बिहानैदेखि सामाजिक संजालहरुमा पोस्टपेड बिलिङ्गले ग्राहकहरुको रकम हराएको र पुन रिचार्ज गर्न भनेको जस्ता गुनासोहरु आईरहेका छन्। कतिपय पोस्टपेड सेवाग्राहीले आफ्नो खातामा रकम हुँदापनि फेरी रिचार्ज गर्न भनेको भन्दै स्क्रीनसटहरु शेयर गरिरहेका छन्।

आर्थिक पत्रकार गजेन्द्र बुढाथोकीले ट्विटरमार्फत आफ्नो मोबाइलमा हिजो साँझसम्म ब्यालेन्समा ५३० रुपैयाँ रहेको तर राति सकिएर थप ७६३ रुपैयाँ तिर्नुपर्ने बनाइ वानवे गरिदिएको गुनासो गरेका छन्।

यसैगरी एक ग्राहकले आफ्नो बैंक खाताबाट रिचार्जमा रकम ट्रान्सफर गरिएको तर मोबाइल ब्यालेन्समा नदेखाएको बताएका छन्।

टेलिकमले भने आज देखिएको पोस्टपेड बिलिङ्गको समस्या भरेसम्म समाधान हुने र ग्राहकहरुको रकम दूरुस्त देखिने बताएको छ।

टेलिकमका प्रवक्ता अधिकारीले आजको समस्यामा कम्पनी जानकार रहेको टेक्नोलोजीखबरलाई बताए।

“हाम्रोमा यसअघि पोस्टपेड बिलिङ्गमा राती नै सबै समस्याहरु समाधान हुने गरेको भएपनि यसपटक लामो समय लागेको हो,” उनले भने, “अहिले पनि प्राविधिक साथीहरु काम गरिरहनुभएको छ। आज सबै ग्राहकहरुको समस्या समाधान हुनेछ।”

उनले बैंकबाट गरिएको रिचार्जमा भने केहि ढिलाई हुने गरेको भन्दै त्यो कम्पनीको भन्दापनि बैंकको सिस्टमले रकम पठाउन ढिलाई गर्दा समस्या हुने जानकारी दिए।

“रिचार्ज कार्ड, एमपीओएस, पोस वा हाम्रो सिस्टमको रिचार्ज गर्दा तत्काल हुन्छ तर बैंकबाट सिस्टमले टेलिकमको सिस्टममा रकम पठाउन ढिलाई गर्दा मोबाइल ब्यालेन्स देखिँदैन्,” उनले टेक्नोलोजीखबरसँग भने।

टेलिकमले हरेक अंग्रेजी महिनाको १५ तारिखमा बिलिङ्ग गर्ने र कम्पनीहरुलाई जानकारी दिने गरेको बताईएको छ। यस्तो कार्य कम्पनीले मध्यरात नै गर्ने र देखिएका समस्याहरु समाधान गर्ने गरेपनि यस पटक लामो अवधिसम्म समस्या भएको बताईएको छ।

यसैबीच पछिल्लो समयमा विवादमा रहेको बिलिङ्ग सिस्टममा पटक पटक समस्या देखिरहेको भएपनि नयाँ सिस्टम नल्याउँदा यसले असर पारेको दाबी गरिएको छ।

कम्पनीभित्र आफ्नो बिलिङ्ग प्रणाली परिवर्तन गरी नेक्स्ट जेनेरेशन बिलिङ्ग सिस्टम राख्नुपर्ने बताईरहँदा पुरानो सिस्टमका कारण झनै समस्या हुँदा त्यसले पुष्टि गर्ने एक कर्मचारीले बताए। कमिशनको चक्करमा टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलको नेतृत्वमा हालको जिर्ण र आउटडेटेड भैसकेको बिलिङ्ग प्रणालीलाई नै अर्बौं रुपैयाँ खर्च गरिँदै आएको कर्मचारीहरुले आरोप लगाएका छन भने नयाँ नेक्स्ट जेनेरेशन बिलिङ्ग सिस्टम राख्नुपर्ने माग गरेका छन्।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको बिलिङ्ग सिस्टममा करोडौं चलखेलको आशंका, सेटिङ्गमा पुरानो बिलिङ्ग सिस्टम प्रयोग

यसअघि बुधबार देशभर टेलिकमको नेटवर्कमा समस्या देखिएको थिय। जसले गर्दा सेवाग्राहीहरुले फोन सम्पर्क नै गर्न सकेका थिएनन् । छोटो समयसम्मा मात्र भएको समस्या र उक्त विषयलाई गंभिर रुपमा लिँदै नियामक निकायले छानबिन गरिरहेको छ।

सम्बन्धित समाचार-

नेपाल टेलिकमको फोन बारम्बर किन लाग्दैन भनेर दूरसञ्चार प्राधिकरणद्वारा स्पष्टिकरण माग

*हेडलाइन तथा समाचार सम्पादन गरिएको

प्रकाशित: ४ फाल्गुन २०७९, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार